+
+
Shares

पाकिस्तानी टीभी प्रस्तोता राबिया अहसानको गोली लागेर मृत्यु

राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। पेस्तोलमा गोली भरिएको छ भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २३ गते १८:१०

२३ कात्तिक, काठमाडौं । पाकिस्तानको रावलपिण्डीमा आइतबार टिभी प्रस्तोता राबिया अहसानको आफ्नै घरमा गोली लागेर मृत्यु भएको छ। उनलाई घाँटीमुनिको भागमा गोली लागेको थियो।

राबियाका पतिले पेस्तोल मिलाउने क्रममा अचानक गोली चलेको दाबी गरेका छन्। पेस्तोलमा गोली भरिएको छ भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ।

यद्यपि, राबियाका दाजुभाइको उजुरीका आधारमा प्रहरीले उनका पतिलाई हिरासतमा लिएको छ। प्रहरीले घटनामा प्रयोग भएको बन्दुक पनि बरामद गरेको छ।

टिभी प्रस्तोता राबिया अहसानका १३ र ११ वर्षका दुई छोरी छन्। रावलपिण्डीका सिटी प्रहरी अधिकारी हसन सुखेराका अनुसार गोली चल्दा राबियाका दुवै छोरी घरको प्राङ्गणमा आफ्नी मावली हजुरआमासँग बसिरहेका थिए। प्रहरीले घरमा काम गर्ने एक कर्मचारीसँग पनि सोधपुछ गरेको छ।

प्रहरीले सदर बेरुनी प्रहरी चौकीमा हत्याको मुद्दा दर्ता गरेको छ भने पञ्जाब फरेन्सिक साइन्स एजेन्सीको टोलीले घरबाट प्रमाणहरू जुटाइरहेको छ। राबियाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको थियो। यस घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

४१ वर्षीया राबिया गुलशनाबाद क्षेत्रमा बस्थिन्। उनी एक निजी टिभी च्यानलमा प्रस्तोता र कार्यक्रम सञ्चालिका थिइन्। यसअघि उनले वरिष्ठ पत्रकार आमिर मतिन र रउफ क्लासरासँग करेन्ट अफेयर्सको कार्यक्रम पनि सञ्चालन गरेकी थिइन्।

राबियाको मृत्युप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीकी छोरी आसिफा भुट्टो जरदारीले दुःख व्यक्त गर्दै हत्याको निन्दा गरेकी छन्। उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कारबाही सुनिश्चित गर्न निष्पक्ष तथा पारदर्शी छानबिनको माग गरेकी छन्।

आसिफाले रावलपिण्डीमा महिलाको हत्या हुने क्रमप्रति पनि चिन्ता व्यक्त गरिन्। उनले गत अगस्टमा यसै सहरमा मारिएकी ४५ वर्षीया डिजिटल मिडिया अधिकारी हिना जावेदको प्रसंग उल्लेख गरिन्। हिना आफ्नै घरमा मृत फेला परेकी थिइन् र उनको शरीरमा चोटका निसानहरू थिए।

पाकिस्तानमा पछिल्ला केही वर्षहरूमा महिलाविरुद्ध हिंसा र हत्याका कैयौँ घटनाहरू बाहिर आएका छन्। पाकिस्तानको मानवअधिकार मन्त्रालयका अनुसार सन् २०२१ देखि २०२४ को बीचमा महिलाविरुद्ध हिंसाका १ लाख ७३ हजारभन्दा बढी उजुरी दर्ता भएका छन्।

(पाकिस्तानी मिडियाहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?