+
+
Shares

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते १६:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’का निर्मातामाथि धार्मिक ग्रन्थसँग खेलवाड गरेको आरोप लगाउँदै कडा आलोचना गरेका छन्।
  • उनले साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाको विरोध गर्दै वाल्मीकि रामायणमा माता सीतालाई योद्धाका रूपमा नदेखाइएको बताएका छन्।
  • मुकेशले अनुपम खेरले फिल्मको प्रशंसा गर्नुको कारण जटायुको भूमिकामा आवाज दिएको भएपछि मात्र बुझिएको बताएका छन्।

अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाबारे आपत्ति जनाएका छन् । यसका साथै अभिनेता अनुपम खेरको प्रतिक्रियामाथि पनि प्रश्न उठाएका छन् ।

अभिनेता मुकेश खन्ना सामाजिक सञ्जालमार्फत आफ्ना स्पष्ट विचार राख्ने गर्छन् । यसपटक उनले हालै प्रदर्शनमा आएको फिल्म ‘रामायण’बारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । विशेषगरी फिल्ममा साई पल्लवीले निर्वाह गरेको माता सीताको भूमिकालाई लिएर उनले असन्तुष्टि जनाएका छन् ।

फिल्मबारे के भने मुकेशले ?

मुकेश खन्नाले आफ्नो पछिल्लो भिडियोमा फिल्म ‘रामायण’का निर्माताको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘वाल्मीकि रामायणमा माता सीतालाई योद्धाका रूपमा देखाइएको छैन । निर्माताले आफ्नो कल्पनाअनुसार फिल्म बनाएका छन् । दुःख लाग्छ, निर्माताहरू पैसा कमाउनकै लागि धार्मिक ग्रन्थसँग खेलवाड गरिरहेका छन् ।

मैले यो फिल्म हेरेको छैन । तर समीक्षा, दर्शकको प्रतिक्रिया, प्रचार सामग्री र केही दृश्यका आधारमा फिल्मबारे आफ्नो धारणा राखिरहेको छु । म १२०० रुपैयाँको टिकट काटेर यो फिल्म हेर्न चाहन्नँ । निर्मातालाई फिल्मको कमाइ दिन पनि चाहन्नँ । किनकि निर्माता नमित मल्होत्राले मानिसहरूको आस्थामाथि खेलवाड गरेका छन् ।’

सीता माता योद्धा थिइनन्

आफ्नो युट्युब च्यानलमा मुकेशले भनेका छन्, ‘रामायणमा कतै पनि सीता माता लडाइँ गरिरहेको देखाइएको छैन । उहाँलाई आदर्श, समर्पण र सेवाभाव भएकी महिलाका रूपमा प्रस्तुत गरिएको छ । उहाँले पतिसँग वनवास जान स्वीकार गर्नुभयो। सीताले कहिल्यै राजदरबार माग्नुभएन । उहाँ कहिल्यै योद्धा हुनुहुन्नथ्यो । यदि उहाँ योद्धा हुनुहुन्थ्यो भने अपहरण गर्ने रावणसँगै लड्नुहुन्थ्यो ।

निर्माताले यो दृश्य ‘अद्भुत रामायण’बाट लिइएको बताएका छन् । तर यो अद्भुत रामायण भनेको के हो ? मूल रामायण त वाल्मीकिले लेख्नुभएको हो। यस्तो हिम्मत अन्य धर्मका विषयमा गरेर देखाऊन् ।’

मुकेशले आफ्नो भिडियोमा अनुपम खेरले फिल्म ‘रामायण’बारे दिएको प्रतिक्रियाको पनि आलोचना गरेका छन् । उनले भनेका छन्, ‘अनुपम खेरले फिल्मको निकै प्रशंसा गरेका थिए । उनको समीक्षा देखेर मलाई अचम्म लाग्यो ।  तर पछि थाहा पाएँ, अनुपमले फिल्ममा जटायुको भूमिकामा आवाज दिएका रहेछन् । त्यसपछि उनले फिल्मको प्रशंसा गर्नुको कारण बुझेँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?