२५ कात्तिक, नुवाकोट । तिहार मैझारोसँगै आएको झरी रोकिएपछि उत्तरी हिमशृङ्खला खुलेका छन् । भाइटीका सकिँदै गर्दा बुधबार दिउँसो परेको झरीले मौसम नुहाएपछि नुवाकोटबाट माछापुच्छ्रेदेखि जुगल हिमाल खुलस्त देखिए ।
एकैछिनको झरी रोकिएपछि घाम लाग्दा घमाइलो तिहार अनुभूति समेत दियो ।
मौसम खुलेसँगै नुवाकोटका ककनी, शिवपुरी र बेलकोटगढीको बाघखोरबाट सेताम्मे हिमालका सुन्दर दृश्य हेर्नलायक थिए । नेपालका हिमालहरूसँगै चीनको केरुङसम्मका हिमदृश्य यहाँबाट अवलोकन गर्न सकिन्छ ।

नुवाकोटबाट नेपालका जुगल हिमाल, गणेश हिमाल, हिमालचुली, लाङटाङका साथै ८ हजार १ सय ५६ मिटर अग्लो मनास्लु र माछापुच्छ्रेसम्म हेर्न सकिन्छ ।
यस अतिरिक्त काठमाडौं उपत्यकाबाट पनि हेर्न सकिने दोर्जे लाक्पा, फुर्बी ग्याल्त्सो र गौरीशंकरजस्ता हिमाल पनि नुवाकोटबाट प्रस्टै देखिन्छन् ।

यस्तै तिब्बततर्फ पर्ने विश्वको १४औं अग्लो (८ हजार २७ मिटर) आशापुरी हिमाल पनि यहाँबाट हेर्न सकिन्छ ।
दसैँपछि तुँवालोले मौसम धुमिल बनाएपछि केही दिन हिमाल देख्न पाइएको थिएन । तर, भाइटीकाको दिन परेको झरीले तिहारको बिदाइलाई रोमाञ्चक बनाएको छ ।



















तस्वीरहरू : रामहरि गजुरेल/अनलाइनखबर
प्रतिक्रिया 4