+
+
Shares

कोशी प्रदेशमा के गर्दैछ रास्वपा ?

संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपा कोशी प्रदेशमा स्थानीय तह निर्वाचन केन्द्रित अभियान चलाइरहेको छ ।

हरि अधिकारी हरि अधिकारी
२०८३ मंसिर २ गते ९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा कोशी प्रदेश सभापति चन्द्र राईले १४ जिल्ला र १३७ पालिकामा अधिवेशन सम्पन्न भएको र स्थानीय निर्वाचनका लागि क्यान्डिडेट क्लब खुला गरिएको बताए ।
  • राईले कोशीका पहाडी क्षेत्रमासमेत पार्टीको जनमत र संगठन बढेको दाबी गर्दै १३७ पालिकामध्ये बहुमतमा रास्वपाले जित्ने दाबी गरे ।
  • रास्वपाले कोशीमा पहिचान पक्षधर मोर्चासँग पार्टी एकताका लागि वार्ता गरिरहेको र यो सकारात्मक दिशातर्फ अघि बढेको राईले बताए ।

१ मंसिर, विराटनगर । प्रतिनिधिसभा निर्वाचनपछि केन्द्रीय राजनीतिमा उदाएको श्रम संस्कृति पार्टीले कोशी प्रदेशमा संगठन विस्तार अभियान तीब्र बनाइरहँदा संघीय सरकारको नेतृत्व गरिरहेको रास्वपाले भने स्थानीय तह निर्वाचन केन्द्रित अभियान चलाइरहेको छ ।

रास्वपा कोशी प्रदेश सभापति चन्द्र राई प्रदेशमा संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँछन् । उनी जेठ २७ गते प्रथम प्रदेश अधिवेशनबाट प्रदेश सभापति चुनिएका हुन् । उनका अनुसार १४ वटै जिल्ला र १३७ वटै पालिकामा पार्टीको अधिवेशन सम्पन्न भइसकेको छ । केही वडाहरूमा भने अधिवेशन हुन बाँकी छ ।

रास्वपाले कोशीका पहाडी जिल्लामा अभियान चलाइरहेको छ । फागुन २१ को निर्वाचनमा तराईमा राम्रो परिणाम आए पनि पहाडमा जनमत कम आएको स्वीकार गर्दै उनी अहिले पहाडी क्षेत्रको परिस्थिति फेरिएको दाबी गर्छन् ।

‘पहिला अन्योलमा रहेका पहाडका जनता प्रष्ट भइसक्नुभएको छ । अहिले पहाडमा पनि हाम्रो जनमत र संगठन बढेको छ,’ उनले भने ।

सरकारको कार्यशैलीका कारण शहरी मतदाता असन्तुष्ट देखिएका छन् । तर राई असन्तुष्टिभन्दा पनि फरक धारका व्यक्तिहरूको आवाज मात्र भएको दाबी गर्छन् । सरकारले शहरी नागरिक वा व्यवसायीलाई विचलित बनाउने कुनै निर्णय नगरेको बताउँदै उनले व्यवसायी र शहरी क्षेत्रलाई सकारात्मक रूपमा सम्बोधन गरेर काम गरिरहेको दाबी गरे ।

स्थानीय तह निर्वाचनका लागि रास्वपाले ‘क्यान्डिडेट क्लब’ खुला गरेको बताउँदै उनले पुराना राजनीतिक दलहरूको गलत टिकट वितरण संस्कृतिभन्दा फरक ढंगले विधि र प्रक्रियाअनुसार उम्मेदवार छनोट गर्न नयाँ अभ्यास थालिएको बताए । यही प्रक्रियाका कारण रास्वपालाई छिटो चुनाव लागे जस्तो देखिएको उनको तर्क छ ।

२१ फागुनको जित र वर्तमान सरकारको कामका कारण क्यान्डिडेट क्लबमा आवेदन दिनेहरूको ठूलो लहर चलेको राईले बताए । उनका अनुसार कोशीका १३७ वटै पालिकाको नेतृत्व तहमा उम्मेदवारीका लागि आवेदन आइसकेको छ । केही स्थानमा प्रचारप्रसारको कमीले संख्यात्मक उपस्थिति कम देखिएको उनले बताए ।

उनका अनुसार वडाध्यक्षमा आवेदन तुलनात्मक रूपमा कम छ । अवसरका लागि ठूलै पदमा आकर्षण बढी देखिनु स्वाभाविक भएको उनको बुझाइ छ ।

क्यान्डिडेट क्लबमा पहाडका केही पालिकाहरूको वडामा भने उम्मेदवारी नै परेको छैन । सभापति राई आगामी स्थानीय निर्वाचनमा कोशीका १३७ मध्ये बहुमत पालिकामा रास्वपाले जित्ने दाबी गर्छन् ।

पहिचान पक्षधरसँग सहकार्यको गृहकार्य

रास्वपाले कोशी प्रदेशमा पहिचान पक्षधरसँग संवाद अघि बढाएको छ । उनका अनुसार रास्वपाले पार्टी एकताका लागि कोशी प्रदेशका पहिचानबादी मोर्चासँग वार्ता गरिरहेको हो । यो वार्ता सकारात्मक दिशातर्फ अघि बढेको उनले बताए ।

श्रम संस्कृति पार्टीसँग रास्वपा तुलना गर्न नमिल्ने उनको तर्क छ । श्रम श्रस्कृतिको विधान र नेतृत्वको गतिविधि हेर्न आग्रह गर्दै उनी रास्वपा विधानमै स्पष्ट भएको पहिचानवादी पार्टी रहेको बताउँछन् । उनको नजरमा श्रम संस्कृति पार्टी विधि र विधानभन्दा पनि अध्यक्षको आदेशको भरमा चलिरहेको छ ।

पार्टीको प्रदेशको अधिवेशनपछि कोशीका विभिन्न पहिचानवादी घटकसँग निरन्तर छलफल भइरहेको बताउँदै उनले पहिचान पक्षधर रास्वपामा ध्रुवीकृत भइरहेको जानकारी दिए । कोशी प्रदेशको नामका विषयमा भने जनताको जनमतलाई कदर गर्ने राईले बताए ।

‘नामको विषयमा अर्को जनमतमा जानुपर्ने अवस्था आउन सक्छ, त्यतिबेला जनताले जे म्यान्डेट दिन्छन्, हामी त्यहीअनुसार अगाडि बढ्छौँ,’ उनले भने ।

स्थानीय तह निर्वाचनमा रास्वपाले अन्य कुनै पनि राजनीतिक दललाई आफ्नो प्रतिस्पर्धी मानेको छैन । राईका अनुसार गरिबी, बेथिति र भ्रष्टाचार नै रास्वपाको मुख्य प्रतिस्पर्धी हुन् । यो पटकको निर्वाचनमा अन्य दलका नेता–कार्यकर्ताले समेत रास्वपाका उम्मेदवारलाई मत दिने उनको विश्वास छ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?