News Summary
Generated by OK AI. Editorially reviewed.- अनन्या पाण्डे अभिनीत वेब सिरिज ‘कल मी बे’को दोस्रो सिजन आगामी डिसेम्बर १७ देखि प्राइम भिडियोमा विश्वभर स्ट्रिमिङ हुने भएको छ ।
- दोस्रो सिजनमा अभिनेत्री श्रुति हासन पनि कलाकार सूचीमा थपिएकी छन्, र अनन्या पाण्डे बेला ‘बे’ चौधरीको भूमिकामा देखिनेछिन् ।
- आठ एपिसोडको सिरिजमा बेको करिअर, प्रेम जीवन, मित्रता र बहिनी कोडबीचको उल्झनलाई कथाको मुख्य विषय बनाइएको छ ।
अनन्या पाण्डे अभिनीत चर्चित वेब सिरिज ‘कल मी बे’ दोस्रो सिजनसहित फर्किने भएको छ । प्राइम भिडियोले मंगलबार सिरिजको रिलिज मिति सार्वजनिक गर्दै यसपटक अभिनेत्री श्रुति हासनलाई पनि कलाकारको सूचीमा समेटेको छ ।
प्राइम भिडियोका अनुसार सिरिजको दोस्रो सिजन आगामी डिसेम्बर १७ अर्थात् पुस २ गतेदेखि विश्वभर स्ट्रिमिङ हुनेछ ।
आठ एपिसोडमा तयार पारिएको यो सिरिजमा पहिलो सिजनकै ह्युमर, ग्ल्यामर र मित्रताको रमाइलो मिश्रणलाई निरन्तरता दिइएको छ ।
कोलिन डी’कुन्हाको निर्देशनमा बनेको सिरिजमा अनन्या पाण्डे बेला ‘बे’ चौधरीको भूमिकामा देखिनेछिन् । उनीसँगै श्रुति हासन, वीर दास, गुरफतेह पीरजादा, वरुण सूद, विहान समत, मुस्कान जाफरी, निहारिका लायरा दत्त, लिसा मिश्रा र मिनी माथुर पनि देखिनेछन् ।
दोस्रो सिजनको कथामा के छ ?
पहिलो सिजनमा आफ्नो विलासी जीवनशैलीबाट बाहिरिएर नयाँ पहिचान बनाउन संघर्ष गरेकी बे दोस्रो सिजनमा अझ आत्मविश्वासका साथ फर्किएकी छन् । उनको करिअरले नयाँ उचाइ लिइरहँदा व्यक्तिगत जीवन भने झन् जटिल बन्दै गएको छ ।
यसपटक बे दुई प्रेमीबीचको भावनात्मक उल्झनमा पर्नेछिन् । प्रेम, हृदयविदारक क्षण र आफ्नै गलत निर्णयसँग जुध्दै उनले जीवनका नयाँ चुनौती सामना गर्नुपर्नेछ ।
करिअर र प्रेम जीवनबीच सन्तुलन मिलाउने क्रममा बेले आफ्नो मित्रता र बहिनी कोडको पनि परीक्षा दिनुपर्नेछ ।
आफ्नै शैली, हास्य र बेबाक स्वभावका कारण चर्चामा रहने बेले यसपटक कस्ता उतारचढाव सामना गर्छिन् भन्ने कुरा सिरिजको मुख्य आकर्षण हुनेछ ।
निर्माता करण जौहर के भन्छन् ?
सिरिजका निर्माता करण जौहरले पहिलो सिजनलाई दर्शकले दिएको मायाले दोस्रो सिजन निर्माणका लागि उत्साहित बनाएको बताएका छन् ।
उनका अनुसार दोस्रो सिजनमा बेको जीवनका नयाँ पक्षलाई उजागर गर्दै उनको रमाइलो स्वभाव, भावना र बेबाकीलाई पनि निरन्तरता दिइएको छ ।
प्राइम भिडियोसँग पुनः सहकार्य गर्दै बेको जीवनको नयाँ अध्याय दर्शकमाझ ल्याउन आफूहरू उत्साहित रहेको उनले बताएका छन् ।
करण जौहर, अदार पूनावाला र अपूर्व मेहताले धर्माटिक इन्टरटेनमेन्टको ब्यानरमा सिरिज निर्माण गरेका हुन् ।
प्रतिक्रिया 4