८ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले अनुसन्धान केन्द्रलाई गतिशिल बनाउने बताएका छन् ।
चारवटा अनुसन्धान केन्द्रका निर्देशकसँगको छलफलमा उपकुलपति थापाले अनुसन्धान केन्द्रलाई थप गतिशिल, समयसापेक्ष र अद्यावधिक बनाउने बताएका हुन् ।
विगतमा त्रिभुवन विश्वविद्यालयको प्रतिष्ठा र गरिमाका रूपमा परिचित अनुसन्धान केन्द्रहरूलाई सोही हैसियतमा फर्काउन स्रोत र साधनयुक्त बनाउने, दक्ष मानवसंशाधन उपलब्ध गराउने र नीतिगत जटिलतालाई सम्बोधन गर्न त्रिवि नेतृत्व सकारात्मक भएको छ ।
बल्खुस्थित शिक्षा विकास तथा अनुसन्धान केन्द्र ( सेरिड) मा आयोजित छलफलमा उपकुलपति थापाले अनुसन्धान केन्द्रका निर्देशकहरूलाई अनुसन्धान केन्द्रका बारेमा विस्तृत जानकारी लिएका थिए ।
साथै अनुसन्धान केन्द्रले भोगिरहेका आर्थिक, भौतिक, प्रशासनिक, मानवसंशाधन लगायतका जटिलताहरूका बारेमा समीक्षा भएको थियो ।
कार्यक्रममा शिक्षाध्यक्ष प्रा.डा अञ्जना सिंह, रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी, नेपाल र दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा.मृगेन्द्रबहादुर कार्की, आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक प्रा.डा अर्जुनकुमार बराल, व्यावहारीक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) का कार्यकारी निर्देशक प्रा.डा मीना राजभण्डारी एवं शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरीड)का कार्यकारी निर्देशक प्रा.डा राजेन्द्र कुँवर, उपकुलपतिका सल्लाहकार डा.ज्योती तण्डुकार एवं उपकुलपति कार्यालयका प्रमुख डा. रेणुका बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4