+
+
Shares

नेपाली सिनेमाले किन खोज्यो मेचीपारिका कन्टेन्ट क्रिएटर ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ९ गते १३:३७

‘अब त तँलाई रिग्रेट भयो होला हैन ? मैले काम गर्दिनँ भनेर छाडेको थिइस् नि । हेर, अब म काम गर्न थालिसकें । तेरो बाबुले बोलाए पनि आउँदिनँ । मेरी आमाले मेरो लागि केटी हेरिसक्यो ।’

हातमा बेल्चा बोकेका, धुस्रोफुस्रो युवा बदलाको भावमा भन्छन्, ‘उता नेपालमा, मनिषा कोइरालासँग ।’

फेसबुक रिल्समा फैलिएको यही भिडियो हो, जसले पदम तामाङलाई कहाँदेखि कहाँ पुर्‍यायो । उनी सामान्य ज्याला मजदुरी गर्थे । सोही क्रममा मामुली मोबाइलबाट भिडियो बनाए । भिडियो भाइरल भयो । त्यसपछि त उनलाई यसको मोहले यसरी तान्यो कि, चुम्बकले फलामलाई जसरी तान्छ ।

एकातिर गुजारा गर्न मजदुरी गर्थे, अर्कोतिर रहर पूरा गर्न भ्लग बनाउँथे । तर, जिन्दगीको यात्रामा उनलाई दोस्रो कामले फलिफाप भयो । अप्रत्याशित भिडियोबाट डलर झर्न थालेपछि उनी किन पो पछि हट्थे र ?

उनी धमाधम भिडियो बनाउन थाले, त्यो पनि हास्यरसले भरिपूर्ण । अन्ततः पदम तामाङ चल्तापुर्जा कन्टेन्ट क्रिएटर बने ।

कन्टेन्ट क्रिएटर बनेर आफ्नै थातथलोमा रमाइरहेका उनमा नेपाली फिल्मले के देख्यो ? उनलाई काठमाडौं झिकाए । अनि फिल्ममा खेलाइदिए । फिल्म थियो, ‘होस्टेल–३’ ।

फिल्मले हल्लीखल्ली गरे पनि बक्स अफिसमा खासै आफ्नो ताकत देखाउन सकेन । फिल्म त चलेन, तर पदम तामाङ चले । त्यसपछि उनी निरन्तरजसो नेपाली फिल्ममा छाइरहेका छन् । दुःखलाग्दो चाहिँ के भने उनी सम्मिलित फिल्मले खास जादू देखाउन सकेको छैन, जति उनको छोटो भिडियोले देखाइरहेको थियो ।

उनीजस्तै सामान्य जीवनबाट उठेका अर्का कन्टेन्ट क्रिएटर हुन्, भक्ते भाइ । उनको खास नाम अमित सुब्बा हो ।

उनीहरू स–साना थिए । गाउँमा थिए । गाउँमा हुने हाँसीमजाकलाई उनीहरूले भिडियोमा कैद गर्न थाले । अनि सो भिडियो ‘राइजिङ ब्वाइज’ नामक युट्युब च्यानलमा अपलोड गर्न थाले । हेर्दाहेर्दै गाउँका यी केटाहरू स्थानीय कार्यक्रमको शोभा बढाउने अतिथि बन्न थाले ।

मेला, महोत्सवमा यिनीहरूलाई भ्याइनभ्याइ हुन थाल्यो । आखिर उनीहरू दार्जिलिङको सेरोफेरोमा मात्र सीमित रहेनन् । काठमाडौंले सुटुक्कै निम्तो दिइहाल्यो, त्यो पनि फिल्म खेल्नलाई । यतिबेला उमेरले २५ कै हाराहारीमा देखिने भक्ते भाइ ‘पच्चिस पच्चिस’को छायाङ्कनमा व्यस्त छन् । सुब्रत आचार्यले निर्देशन गरेको फिल्मले भक्ते भाइलाई काठमाडौंमै टिकाउँछ वा घर फर्काउँछ ? त्यो चाहिँ हेर्न बाँकी छ ।

मेचीपारिका अर्का कन्टेन्ट क्रिएटर छन्, सपन सुब्बा । उनलाई तपाईं स्टार सपन भनेर चिन्नुहुन्छ । सोझो पाराले मरीमरी हँसाउने उनको शैलीलाई तक्मे बुढा अर्थात् विल्सन विक्रम राईदेखि विपिन कार्कीसम्मले मन पराएका रहेछन् । हालैको एक भेटमा विपिन भन्दै थिए, ‘मैले तिम्रो भिडियो नबिराई हेर्छु । लाइक पनि गरिरहेको हुन्छु । सायद तिमीले त्यो ख्याल गर्न पाइरहेका हुँदैनौ ।’

नजानिँदो पाराले स्टार सपन पनि नेपाली फिल्मसँग टाँसिँदै छन् । विल्सनले त उनलाई आफ्नो हास्य शृङ्खला ‘फुर्के नम्बर १’ मा खेलाइसकेका छन् । केहीअघि उनी केकी अधिकारीसँग एक म्युजिक भिडियोमा पनि कुम जोडिरहेका थिए । थाहा छैन, उनलाई पनि कुन दिन नेपाली फिल्मले आमन्त्रण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?