+

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

२०८३ मंसिर  १० गते १६:३० २०८३ मंसिर १० गते १६:३०
रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

हाम्रो वातावरणमा हामीलाई बिरामी बनाउने खालका लाखौंको संख्यामा अतिसूक्ष्म जीवहरू छन् । हाम्रो शरीरमा रहेको रोगप्रतिरोधि क्षमताले यस्ता हानिकारक भाइरस, व्याक्टेरियाबाट हामीलाई बचाइराखेका हुन्छन् ।

आजकाल गलत खानपान र निस्क्रिय जीवनशैलीका कारण हामीलाई धेरै स्वास्थ्य समस्याले सताउने गरेको छ । यस्तो अवस्थामा शरीरलाई स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु बनाउनु आवश्यक छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदा शरीर विभिन्न रोगको जोखिममा पर्न सक्छ । रोगप्रतिरोधि क्षमता बलियो हुँदा सामान्य रुघाखोकी तथा फ्लुदेखि क्यान्सर जस्ता जटिल रोगबाट बच्न समेत मद्दत पुर्‍याउँछ।

रोग प्रतिरोधात्मक प्रणालीले विभिन्न संक्रमण तथा रोगसँग लड्न शरीरलाई मद्दत गर्छ । यद्यपि, रोग प्रतिरोधात्मक क्षमता खानपानमा मात्र निर्भर हुँदैन । हाम्रो दैनिक जीवनशैली र बानीव्यवहारले पनि यसलाई प्रभावित पारिरहेको हुन्छ ।

अनियमित दिनचर्या, अस्वस्थ खानपान, शारीरिक सक्रियताको कमी र पर्याप्त निद्रा नपुग्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । खुसीको कुरा के छ भने जीवनशैलीमा केही सामान्य परिवर्तन गरेर रोग प्रतिरोधात्मक प्रणालीको स्वास्थ्य राम्रो राख्न सकिन्छ । सीडीसीका अनुसार दैनिक जीवनमा समावेश गर्नुपर्ने ६ स्वस्थ बानी यस्ता छन् ।

१. सन्तुलित र पोषिलो खाना खाने

रोग प्रतिरोधात्मक क्षमता राम्रो राख्न सबैभन्दा पहिले आफ्नो खानपानमा ध्यान दिनुपर्छ । शरीरलाई सही तरिकाले काम गर्न विभिन्न पोषक तत्त्व आवश्यक हुन्छन्।
त्यसैले दैनिक खानामा हरियो सागसब्जी, ताजा फलफूल, प्रोटिनयुक्त खानेकुरा, दूध तथा दुग्धजन्य पदार्थ, स्वस्थ चिल्लो र साबुत अन्न समावेश गर्नुपर्छ । यी खानेकुराले शरीरलाई आवश्यक पोषण उपलब्ध गराउनुका साथै रोग प्रतिरोधात्मक प्रणालीलाई सामान्य रूपमा काम गर्न मद्दत गर्छन् ।

अर्कोतर्फ, प्रशोधित खानेकुरा, धेरै मात्रामा स्याचुरेटेड फ्याट, नुन र अतिरिक्त चिनी भएका खानेकुराको सेवन सीमित गर्नुपर्छ । कतिपय मानिस रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले विभिन्न भिटामिन तथा खनिज पदार्थका सप्लिमेन्ट खान थाल्छन् । तर आवश्यकताभन्दा बढी यस्ता सप्लिमेन्ट सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । त्यसैले चिकित्सकको सल्लाहबिना कुनै पनि सप्लिमेन्ट सेवन गर्नु हुँदैन।

२. नियमित शारीरिक व्यायाम गर्ने

शारीरिक रूपमा सक्रिय रहनु तौल नियन्त्रण गर्नका लागि मात्र होइन, समग्र स्वास्थ्यका लागि पनि आवश्यक छ । नियमित व्यायाम गर्दा शरीर स्वस्थ र फुर्तिलो रहन्छ । यसले निद्राको गुणस्तर सुधार गर्न तथा चिन्ता र तनाव कम गर्न पनि मद्दत गर्छ ।

सन्तुलित खानपानसँगै नियमित शारीरिक गतिविधिमा संलग्न हुँदा स्वस्थ तौल कायम राख्न सजिलो हुन्छ । यसले रोग प्रतिरोधात्मक प्रणालीको स्वास्थ्य राम्रो राख्नसमेत सहयोग पुर्‍याउँछ।

आफ्नो उमेर र शारीरिक क्षमताअनुसार हिँडडुल गर्ने, योग गर्ने, साइकल चलाउने वा अन्य व्यायाम गर्न सकिन्छ। सुरुमै कठिन र धेरै समय लाग्ने व्यायाम गर्नुपर्छ भन्ने छैन। आफ्नो क्षमताअनुसार बिस्तारै व्यायाम सुरु गर्नु राम्रो हुन्छ। आवश्यक परे विशेषज्ञको सल्लाह लिन सकिन्छ।

३. शरीरको तौल सन्तुलनमा राख्ने

स्वास्थ रहनका लागि शरीरको तौल सन्तुलित राख्नु पनि रोग प्रतिरोधात्मक स्वास्थ्यका लागि महत्त्वपूर्ण हुन्छ । अधिक तौल वा मोटोपनले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ। यसले रोग प्रतिरोधात्मक प्रणालीको काम गर्ने क्षमतामा समेत असर पार्न सक्छ । मोटोपन भएको अवस्थामा शरीरको रोग प्रतिरोधात्मक प्रणालीको कार्यक्षमता प्रभावित हुन सक्छ।

त्यसैले आफ्नो तौल स्वस्थ सीमाभित्र राख्ने प्रयास गर्नुपर्छ । यसका लागि पोषिलो खाना खाने, शरीरलाई दैनिक आवश्यक पर्ने क्यालोरीको मात्रा ध्यान दिने र नियमित व्यायाम गर्ने गर्नुपर्छ ।

४. निद्रा पुग्ने गरी सुत्ने

राम्रो स्वास्थ्यका लागि पोषिलो खाना र नियमित व्यायाम जति आवश्यक छन्, पर्याप्त निद्रा पनि उत्तिकै महत्त्वपूर्ण छ । निद्रा र रोग प्रतिरोधात्मक प्रणालीबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । विभिन्न वैज्ञानिक अध्ययनले पर्याप्त निद्रा नपुग्दा रोग प्रतिरोधात्मक प्रणालीका विभिन्न पक्षमा नकारात्मक असर पर्न सक्ने देखाएका छन् ।

लगातार निद्रा अपुग हुँदा विभिन्न स्वास्थ्य समस्याको जोखिमसमेत बढ्न सक्छ । त्यसैले निद्रालाई बेवास्ता गर्नु हुँदैन । हरेक दिन सुत्ने र उठ्ने समय निश्चित गर्नुपर्छ । राति अबेरसम्म जागा बस्ने र निद्रामा सम्झौता गर्ने बानीबाट बच्नुपर्छ ।

५. धूमपान गर्ने बानी छ भने तत्कालै त्याग्ने

रोग प्रतिरोधात्मक क्षमता राम्रो राख्न चाहनुहुन्छ भने धूमपानबाट टाढा रहनु आवश्यक छ । धूमपानले शरीरको रोगसँग लड्ने क्षमतामा असर पार्न सक्छ । लामो समयसम्म धूमपान गर्दा रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित विभिन्न समस्या उत्पन्न हुने जोखिम पनि बढ्न सक्छ ।

त्यसैले चुरोट वा अन्य सुर्तीजन्य पदार्थ सेवन गर्ने बानी छ भने त्यसलाई त्याग्ने प्रयास गर्नुपर्छ । सुरुमा यो कठिन लाग्न सक्छ, तर आफ्नो स्वास्थ्यलाई ध्यानमा राख्दै धूमपान छोड्न आवश्यक कदम चाल्नुपर्छ ।

६. मदिराको अत्यधिक सेवन नगर्ने

मदिराको सेवनले पनि शरीरको रोग प्रतिरोधात्मक क्षमतामा नकारात्मक असर पार्न सक्छ । लामो समयसम्म धेरै मात्रामा मदिरा सेवन गर्दा रोग प्रतिरोधात्मक प्रणाली कमजोर हुन सक्छ । यस्तो अवस्थामा शरीरलाई विभिन्न रोग तथा संक्रमणसँग लड्न कठिन हुन्छ र व्यक्ति सजिलै बिरामी पर्न सक्छ ।

कतिपय मानिस तनाव वा थकान कम गर्न मदिराको सहारा लिने गर्छन् । तर नियमित रूपमा धेरै मदिरा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ । मदिरा सेवनले क्यान्सरजस्ता गम्भीर रोगको जोखिमसमेत बढाउन सक्छ ।

रोग प्रतिरोधात्मक क्षमता राम्रो राख्न महँगो औषधि वा सप्लिमेन्टमा मात्र निर्भर रहनुपर्दैन । सन्तुलित खानपान, नियमित व्यायाम, स्वस्थ तौल, पर्याप्त निद्रा तथा धूमपान र मदिराबाट दूरीजस्ता स्वस्थ बानी अपनाउनु आवश्यक छ । दैनिक जीवनशैलीमा गरिने यस्ता सामान्य परिवर्तनले दीर्घकालीन रूपमा स्वास्थ्य राम्रो राख्न मद्दत गर्न सक्छन् ।

खानपान रोग रोग प्रतिरोधि क्षमता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको

संक्रमण परीक्षणको दायरा विस्तार नगरी प्रतिजैविक प्रतिरोध नियन्त्रण असम्भव

संक्रमण परीक्षणको दायरा विस्तार नगरी प्रतिजैविक प्रतिरोध नियन्त्रण असम्भव

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति

बच्चाका लागि डाइपर प्रयोग गर्दा नगर्नुहोस् यी ५ गल्ती

बच्चाका लागि डाइपर प्रयोग गर्दा नगर्नुहोस् यी ५ गल्ती