+

घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

२०८३ मंसिर  ११ गते १७:१३ २०८३ मंसिर ११ गते १७:१३
घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

नेपालमा मिर्गौला रोगको समस्या बढ्दै गएको छ । मिर्गौलाले काम गर्न छोडेको अवस्थामा मिर्गौला प्रत्यारोपण र डायलाइसिस मुख्य उपचार विकल्प हुन् । प्रत्यारोपण नहुँदासम्मका लागि बिरामीहरू डायलाइसिसमा निर्भर हुन्छन् ।

नेपाल सरकारले निःशुल्क डायलाइसिस सेवा प्रदान गर्दै आएको छ । यसले हजारौँ बिरामीलाई जीवनरक्षक उपचारको पहुँच दिएको छ । तर उपचार निःशुल्क हुँदैमा सेवा प्रभावकारी हुन्छ भन्ने छैन । त्यसका लागि आवश्यक औषधि, उपकरण, जनशक्ति र नियमित आपूर्ति पनि सुनिश्चित हुनुपर्छ ।

हालै पेरिटोनियल डायलाइसिस (पीडी) का लागि आवश्यक फ्लुइडको अभाव हुँदा करिब ४०० जना बिरामी प्रभावित भएको र कतिपयले दैनिक गर्नुपर्ने एक्सचेन्ज घटाउन वा उपचार रोक्नुपर्ने अवस्था आएको खबरहरू बाहिरिए ।

यो पहिलोपटक देखिएको समस्या होइन । विगतमा पनि पीडी फ्लुइडको अभाव भएको थियो । वैकल्पिक आपूर्तिकर्ता बजारमा आएपछि केही हदसम्म समस्या समाधान भएको थियो । तर पुनः एक वितरकले आफ्नो सेवा बन्द गरेपछि आपूर्ति संकट दोहोरिएको छ ।

यसले एउटा महत्त्वपूर्ण प्रश्न उठाएको छ- के हाम्रो पीडी कार्यक्रम सीमित आयातकर्ता र कमजोर आपूर्ति व्यवस्थापनको भरमा मात्र सञ्चालन भइरहेको छ ?

अब यो विषयलाई तत्कालीन अभाव समाधान गर्ने प्रयासमा मात्र सीमित नराखी नेपालको डायलाइसिस नीति, आर्थिक व्यवस्थापन र दीर्घकालीन स्वास्थ्य सुरक्षासँग जोडेर हेर्न आवश्यक छ ।

एचडी र पीडी : दुवै उपचारको आफ्नै महत्त्व

हेमोडायलाइसिस (एचडी) र पेरिटोनियल डायलाइसिस (पीडी) दुवै मिर्गौला फेल भएका बिरामीका लागि प्रभावकारी उपचार पद्धति हुन् । एचडीमा मेसिन र प्रशोधित पानीको सहायताले रगत सफा गरिन्छ । यसका लागि बिरामी नियमित रूपमा अस्पताल जानुपर्छ ।

पीडीमा भने पेटभित्रको पेरिटोनियम झिल्लीलाई प्राकृतिक फिल्टरका रूपमा प्रयोग गरी विशेष फ्लुइडको माध्यमबाट शरीरबाट अनावश्यक पदार्थ र अतिरिक्त पानी निकालिन्छ । तालिम लिएपछि बिरामीले यो प्रक्रिया घरमै गर्न सक्छन् ।

पेरिटोनियल डायलाइसिसका फाइदाहरू

–अस्पताल धाउनुपर्ने बाध्यता कम हुन्छ ।

–दुर्गम र ग्रामीण क्षेत्रका बिरामीका लागि उपयोगी हुन्छ ।

–परिवारसँगै बसेर उपचार गर्न सकिन्छ ।

–काम, अध्ययन र दैनिक जीवनलाई निरन्तरता दिन सहज हुन्छ ।

–बाँकी रहेको मिर्गौलाको कार्यक्षमता जोगाउन सहयोग पुग्न सक्छ ।

–एचडीको तुलनामा ठूलो अस्पताल पूर्वाधार र मेसिनमा निर्भरता कम हुन्छ ।

तर पीडी पूर्ण जोखिमरहित छैन । यसको प्रमुख जटिलता पेरिटोनाइटिस अर्थात् पेटभित्र हुने सङ्क्रमण हो । फ्लुइड फेर्ने क्रममा सरसफाइ र जीवाणुरहित प्रक्रिया पालना नगर्दा सङ्क्रमण हुन सक्छ । गम्भीर अवस्थामा क्याथेटर निकाल्नुपर्ने र बिरामीलाई एचडीमा सार्नुपर्ने अवस्था आउन सक्छ ।

त्यसैगरी, एचडी अस्पतालमा प्रशिक्षित स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने भएकाले घरमा पीडी सञ्चालन गर्न कठिन हुने वा सहयोग गर्ने व्यक्ति नभएका बिरामीका लागि उपयुक्त विकल्प हुन सक्छ ।

त्यसैले एचडी र पीडीलाई प्रतिस्पर्धी उपचारका रूपमा होइन, बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताअनुसार छनोट गरिने पूरक उपचारका रूपमा बुझ्नुपर्छ ।

पीडी–फर्स्ट नीति : सम्भावना र वास्तविक चुनौती

पीडी–फर्स्ट नीतिको अर्थ चिकित्सकीय रूपमा उपयुक्त बिरामीलाई पहिलो विकल्पका रूपमा पीडी प्रस्ताव गर्नु हो । यसको अर्थ एचडी बन्द गर्नु वा सबै बिरामीलाई पीडी अनिवार्य गर्नु होइन ।

नेपालको भौगोलिक अवस्था र सीमित स्वास्थ्य पूर्वाधारलाई हेर्दा पीडी विस्तार गर्नु उपयोगी हुन सक्छ । विशेषगरी दुर्गम क्षेत्रका बिरामीलाई घरमै उपचार गर्ने अवसर दिन सकिन्छ ।

तर यसका लागि तीनवटा पक्ष महत्त्वपूर्ण छन् :

आर्थिक पक्ष

पीडीमा अस्पतालको ठूलो पूर्वाधार र मेसिनमा लाग्ने लगानी कम हुन सक्छ । तर फ्लुइडको मूल्य, ढुवानी, क्याथेटर, सङ्क्रमण उपचार र अन्य व्यवस्थापन खर्च जोडेर मात्र यसको वास्तविक लागत मूल्याङ्कन गर्नुपर्छ । फ्लुइड महँगो भयो वा आपूर्तिकर्ताको सङ्ख्या सीमित भयो भने राज्यको आर्थिक भार पनि बढ्न सक्छ ।

सामाजिक पक्ष

पीडीले बिरामीलाई परिवारसँगै बसेर उपचार गर्ने सुविधा दिन्छ । तर सबै घरमा सफा वातावरण, पर्याप्त ठाउँ र सहयोग गर्ने व्यक्ति उपलब्ध हुँदैनन् । त्यसैले पीडी सुरु गर्नुअघि बिरामीको घरायसी अवस्था र उपचार गर्न सक्ने क्षमताको मूल्याङ्कन आवश्यक छ ।

नीतिगत पक्ष

सरकारले पीडी विस्तार गर्दा सार्वजनिक र निजी दुवै क्षेत्रलाई समेट्नुपर्छ । बिरामीको चिकित्सकीय आवश्यकता, उपचार छनोट र सेवाको निरन्तरतामा कुनै सम्झौता हुनु हुँदैन ।

आयात मात्र होइन, भुक्तानी व्यवस्थापन पनि समस्या

पीडी कार्यक्रमको सबैभन्दा संवेदनशील पक्ष फ्लुइडको नियमित उपलब्धता हो । एचडीमा मेसिन र पूर्वाधार स्थापना भएपछि उचित मर्मतसम्भारसहित लामो समय प्रयोग गर्न सकिन्छ । तर पीडी फ्लुइड दैनिक आवश्यक पर्ने सामग्री हो । यसको आपूर्ति अवरुद्ध हुँदा बिरामीको उपचार नै प्रभावित हुन्छ ।

नेपालमा लामो समयदेखि विदेशी उत्पादन र आयातमा निर्भर रहेर पीडी कार्यक्रम सञ्चालन हुँदै आएको छ । सीमित आपूर्तिकर्तामाथिको निर्भरता, अन्तर्राष्ट्रिय ढुवानी, भुक्तानी र वितरणमा हुने ढिलाइले समस्या निम्त्याउन सक्छ ।

तर यहाँ अर्को महत्त्वपूर्ण विषय पनि छ, जसबारे पर्याप्त चर्चा भएको छैन- सरकारबाट अस्पताललाई हुने भुक्तानी र अस्पतालबाट आपूर्तिकर्तालाई हुने भुक्तानीमा ढिलाइ ।

विपन्न नागरिक उपचार कार्यक्रमअन्तर्गत सेवाप्रदायक अस्पतालले बिरामीलाई उपचार उपलब्ध गराएपछि सरकारले निर्धारित प्रक्रियाअनुसार भुक्तानी गर्नुपर्छ । तर व्यवहारमा अस्पतालले आफ्नो सेवा प्रदान गरिसकेपछि पनि सरकारी भुक्तानी प्राप्त गर्न चारदेखि दस महिनासम्म कुर्नुपर्ने अवस्था देखिन्छ ।

त्यसपछि अस्पतालले पनि औषधि तथा मेडिकल सामग्री आपूर्तिकर्तालाई समयमै भुक्तानी गर्न नसक्ने अवस्था आउन सक्छ । यसले आपूर्तिकर्ताको नगद प्रवाह प्रभावित गर्छ र नयाँ सामग्री आयात गर्न आवश्यक पर्ने रकमको व्यवस्थापनमा समस्या उत्पन्न हुन्छ ।

यसरी सरकारबाट अस्पताल र अस्पतालबाट आपूर्तिकर्तासम्म पुग्ने भुक्तानी चक्रमा ढिलाइ हुँदा अन्ततः यसको असर बिरामीको उपचारमा पर्न सक्छ ।

कस्ता सुधार आवश्यक छ ?

–सरकारले सेवाप्रदायक अस्पताललाई उपचारबापतको भुक्तानी निर्धारित समयभित्र गर्नुपर्छ ।

–अस्पतालले प्राप्त गरेको रकम सम्बन्धित औषधि तथा मेडिकल सामग्री आपूर्तिकर्तालाई समयमै भुक्तानी गर्नुपर्छ ।

–अस्पताल र आपूर्तिकर्ताबीचको भुक्तानी प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउनुपर्छ ।

–रणनीतिक स्वास्थ्य सामग्री आपूर्ति गर्ने संस्थाका लागि छुट्टै भुक्तानी अनुगमन प्रणाली बनाउनुपर्छ ।

–आपूर्ति अवरुद्ध हुन नदिन पर्याप्त बफर स्टक र वैकल्पिक आपूर्तिकर्ताको व्यवस्था गर्नुपर्छ ।

स्वास्थ्य सेवा सञ्चालन गर्ने अस्पतालले पनि आपूर्तिकर्ताप्रतिको आर्थिक दायित्व इमानदारीपूर्वक पूरा गर्नुपर्छ । समयमै भुक्तानी हुनु आपूर्तिकर्ताको व्यावसायिक
अधिकार मात्र होइन, बिरामीको उपचार निरन्तर राख्ने आधार पनि हो ।

नेपालले अब के गर्नुपर्छ ?

नेपालमा पीडी कार्यक्रमलाई दिगो बनाउन चारवटा पक्षमा एकसाथ काम गर्नुपर्छ :

पहिलो : स्वदेशी उत्पादनलाई प्रोत्साहन

नेपालमा रहेको लार्ज भोल्युम पारेन्टेरल्स (एलभीपी) उत्पादक उद्योगबाट नेपालमै पीडी फ्लुइड उत्पादन गर्ने सम्भावना अघि बढाउनुपर्छ ।यसका लागि कच्चा पदार्थ तथा प्याकेजिङ सामग्रीको आयातमा आवश्यक सहुलियत, प्राविधिक सहयोग र औषधि व्यवस्था विभागबाट समयमै नियामकीय प्रक्रिया सम्पन्न गर्ने व्यवस्था आवश्यक छ ।तर उत्पादनको गुणस्तर, स्टेरिलिटी, प्याकेजिङ र बिरामीको सुरक्षामा कुनै सम्झौता हुनु हुँदैन ।

स्वदेशी उत्पादनले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड पूरा गरेपछि सरकारले दीर्घकालीन खरिदको व्यवस्था गर्न सक्छ ।

दोस्रो : दीर्घकालीन खरिद र बहुवैकल्पिक आपूर्ति

सरकारले एउटै कम्पनी वा वितरकमा निर्भर हुने प्रणालीबाट बाहिर निस्कनुपर्छ । योग्य स्वदेशी तथा विदेशी उत्पादकसँग तीनदेखि पाँच वर्षको फ्रेमवर्क एग्रिमेन्ट गर्न सकिन्छ । भारत वा थाइल्यान्डका सरकारी उत्पादकसँग गभर्मेन्ट–टु–गभर्मेन्ट (जीटुजी) खरिदको सम्भाव्यता पनि अध्ययन गर्नुपर्छ ।

यसले मूल्य स्थिरता, प्रतिस्पर्धा र नियमित आपूर्ति सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ ।

तेस्रो : प्रभावकारी वितरण प्रणाली

एकजना पीडी बिरामीलाई दैनिक तीनपटक दुई लिटर फ्लुइड आवश्यक पर्दा महिनामा करिब १८० लिटर सामग्री चाहिन्छ । यस्तो ठूलो परिमाणको फ्लुइड दुर्गम क्षेत्रमा पुर्‍याउनु चुनौतीपूर्ण छ । सरकारी गोदाम, प्रादेशिक वितरण केन्द्र, स्थानीय स्वास्थ्य संस्था र आवश्यकताअनुसार नेपाल हुलाक सेवाको सञ्जाल प्रयोग गरी घरदैलो वितरण प्रणाली विकास गर्न सकिन्छ ।

यसका लागि भण्डारण, तापक्रम, ढुवानी र प्याकेजिङको गुणस्तरसमेत सुनिश्चित गर्नुपर्छ ।

चौथो : चिकित्सकीय गुणस्तर र सङ्क्रमण नियन्त्रण

पीडीको सफलता फ्लुइड उपलब्धताले मात्र निर्धारण गर्दैन । बिरामीले सुरक्षित रूपमा उपचार गर्न सक्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ।बिरामी र कुरुवालाई नियमित तालिम, होम भिजिट, पेरिटोनाइटिसको शीघ्र पहिचान, राष्ट्रिय उपचार प्रोटोकल र प्रशिक्षित पीडी नर्सको उपलब्धता सुनिश्चित गर्नुपर्छ ।

बिरामीको सङ्ख्या बढाउने लक्ष्यसँगै सङ्क्रमण घटाउने र उपचार निरन्तरता कायम राख्ने लक्ष्य पनि राख्नुपर्छ ।

अबको नीति : पीडी–फर्स्ट मात्र होइन, प्यासेन्ट–फर्स्ट

नेपालमा पीडी विस्तार गर्ने पर्याप्त सम्भावना छ । तर यसलाई सबै बिरामीका लागि अनिवार्य विकल्प बनाउनु उचित हुँदैन । कसैका लागि पीडी उपयुक्त हुन्छ भने कसैका लागि एचडी नै सुरक्षित र प्रभावकारी हुन सक्छ ।

त्यसैले हाम्रो प्राथमिकता पीडी–फर्स्ट वा एचडी–फर्स्टभन्दा पनि प्यासेन्ट–फर्स्ट हुनुपर्छ ।

हालैको आपूर्ति संकटले हामीलाई एउटा स्पष्ट पाठ दिएको छ । जीवनरक्षक उपचारलाई आयातकर्ता, वितरक, अस्पताल वा सरकारी भुक्तानी प्रक्रियाको कमजोरीका कारण अवरुद्ध हुन दिनु हुँदैन ।

यसका लागि सरकारले आपूर्ति शृङ्खला मात्र होइन, सम्पूर्ण आर्थिक चक्रलाई व्यवस्थित गर्नुपर्छ- सरकारबाट अस्पताललाई समयमै भुक्तानी, अस्पतालबाट आपूर्तिकर्तालाई समयमै भुक्तानी र आपूर्तिकर्ताबाट बिरामीसम्म नियमित सामग्री उपलब्धता ।

स्वदेशी उत्पादन, प्रतिस्पर्धी खरिद, वैकल्पिक आपूर्तिकर्ता, रणनीतिक बफर स्टक, प्रभावकारी वितरण र चिकित्सकीय गुणस्तरलाई एउटै नीतिगत ढाँचामा समेट्न आवश्यक छ ।

पेरिटोनियल डायलाइसिस
लेखक
सञ्जय अधिकारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

घरमै मिर्गौला सफा गर्ने प्रविधि : के नेपालमा पेरिटोनियल डायलाइसिस सुरक्षित छ ?

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

रोग प्रतिरोधि क्षमता बलियो बनाउन दैनिक अपनाउनुहोस् यी ६ बानी

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

महिनावारी : शरीरको मौन कथा, रगतको सहज भाषा

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको

संक्रमण परीक्षणको दायरा विस्तार नगरी प्रतिजैविक प्रतिरोध नियन्त्रण असम्भव

संक्रमण परीक्षणको दायरा विस्तार नगरी प्रतिजैविक प्रतिरोध नियन्त्रण असम्भव

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति

एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न गर्न तथ्यांकमा आधारित नीति