१३ मंसिर, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ वीरेन्द्र चोकबाट ५ जना नक्कली इन्स्पेक्टरहरू पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको मोलुङ गाउँपालिका-२ घर भई काठमाडौंको चाबहिल बस्ने ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापको लिखु गाउँपालिका-१ घर भई काठमाडौंको कपन बसन् २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाको तानसेन नगरपालिका-६ घर भई काठमाडौंको हात्तीडाँडा बस्ने ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकको जगल गाउँपालिका-५ घर भई भक्तपुरको दुवाकोट बस्ने २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीको मरिण गाउँपालिका-२ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय हर्कसिंह भोलन रहेका छन् ।
प्रहरी चौकीमा सोधपुछका लागि बोलाइएका व्यक्तिलाई छुटाइदिने प्रलोभन देखाएर २ लाख रुपैयाँ मागेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।
उनीहरूले गत १० कात्तिकमा प्रहरी प्रभाग काँडाघारीमा सोधपुछका लागि बोलाएका एक व्यक्तिलाई छुटाइ दिने भन्दै उनका भाइलाई २ लाख रुपैयाँ व्यवस्था गर्न भनेका थिए । साथै उनीहरूले होटलमा गरेको खर्च समेत तिर्न भनेका थिए ।
तर सोधपुछका लागि बोलाइएका ती व्यक्तिका भाइले भनेको नमानेपछि उनीहरूले धाक धम्की दिँदै मानसिक एवं आर्थिक तनाव दिएको भन्ने उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया 4