+
+
Shares

विद्यार्थीका आविष्कारदेखि हाइब्रिड कारसम्म, अटोनेपालिका सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १३:०४

१३ मंसिर, काठमाडौं । नेपाली अटोमोबाइल, यातायात तथा मोटरस्पोर्ट्स क्षेत्रमा नवीन प्रविधि, आविष्कार र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको ‘अटोनेपालिका २०८३’ को पहिलो संस्करण सम्पन्न भएको छ ।

मंसिर ११ गते काठमाडौं विश्वविद्यालयको धुलिखेलस्थित परिसरमा आयोजित कार्यक्रममा विभिन्न विश्वविद्यालय तथा इन्जिनियरिङ कलेजका विद्यार्थीले विकास गरेका आविष्कार, प्राविधिक परियोजना र सवारीसाधन प्रदर्शन गरिएको थियो । आयोजकका अनुसार कार्यक्रममा २०० भन्दा बढीको सहभागिता थियो ।

मोटरिङ नेपाल, काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विद्यार्थी संघ (एम्स) र अभियन्ताको संयुक्त आयोजनामा भएको कार्यक्रममा काठमाडौं विश्वविद्यालयले विकास गरेको हाइड्रोजन कार विशेष आकर्षण बनेको थियो । विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीले निर्माण गरेका ६ वटा कार्ट, ड्रोन, रोबोट तथा मेकानिकल आविष्कार पनि प्रदर्शन गरिएका थिए । नेपाली युवा आविष्कारक शहजाद आलमले निर्माण गरेको हाइब्रिड कारसमेत प्रदर्शनीमा राखिएको थियो ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले मोटरस्पोर्ट्समा प्रयोग हुने रोल केज जडित कार तथा कार्ट प्रदर्शन गरेको थियो । त्यसैगरी रेसिङ सुट, पञ्जा, बुट र हेल्मेटलगायत सुरक्षा उपकरण पनि प्रदर्शनीमा राखिएका थिए । नेपाली अटोमोबाइल, मोटरस्पोर्ट्स तथा यातायात क्षेत्रको इतिहास झल्काउने पोस्टरमार्फत सवारीसाधनको विकासक्रम र मोबिलिटीमा आएको परिवर्तनबारे जानकारी दिइएको थियो ।

कार्यक्रममा युवा आविष्कारक आलमले ‘नेपालमा नवप्रवर्तन’ विषयमा आफ्नो अनुभव सुनाउँदै हाइब्रिड कारको अवधारणा, निर्माण प्रक्रिया र अनुभव प्रस्तुत गरेका थिए ।

त्यस्तै, ‘शैक्षिक क्षेत्र र नेपाली अटोमोबाइल’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो । छलफलमा काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर विशाल सिलवाल, नेपाल अटो मेकानिक्स संघका पूर्वअध्यक्ष ठाकुरप्रसाद न्यौपाने, नासा नेपालका मोबिलिटी म्यानेजर इन्जिनियर किरण धिताल र नेपाल साइकल सोसाइटीका महासचिव राकेश महर्जन सहभागी थिए ।

छलफलमा शैक्षिक संस्था र उद्योगबीचको सहकार्य, नेपालको यातायात तथा मोबिलिटीको अवस्था, सडक सुरक्षा, साइकल तथा पैदलयात्रीको सुरक्षा र अटोमोबाइल क्षेत्रमा नवप्रवर्तन तथा अनुसन्धानका सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो । विद्यार्थीका सिर्जना र शैक्षिक अनुसन्धानलाई व्यावहारिक प्रयोग तथा औद्योगिक विकाससँग जोड्नुपर्ने विषयमा पनि जोड दिइएको थियो ।

कार्यक्रममा ‘काठमाडौं उपत्यकाको मोबिलिटी : हिजो, आज र भोलि’ शीर्षकको अध्ययन तथा नीतिगत सुझाव दस्तावेजको शुभारम्भसमेत गरिएको थियो । उक्त अध्ययनले उपत्यकाको सहरी यातायात प्रणाली र गतिशीलताको अवस्था विश्लेषण गरी दिगो यातायात नीति निर्माणका लागि प्रमाणमा आधारित सुझाव प्रस्तुत गर्ने उद्देश्य राखेको छ ।

‘इनोभेसन, एक्सप्लोरेसन, ट्रान्सफर्मेसन’ मूल नारासहित आयोजित कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर विशाल सिलवालले गरेका थिए । वरिष्ठ प्राध्यापक शिरापा श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् भने एम्सका सचिव प्रसिद्ध खनालले अटोनेपालिकाको अवधारणा र उद्देश्यबारे जानकारी दिएका थिए । नासा फाउन्डेसन नेपालकी संयोजक डा. टीका ढकालले कार्यक्रमको पृष्ठभूमि प्रस्तुत गरेकी थिइन् ।

नासा नेपालका सचिव निरज खड्का क्षेत्रीले धन्यवाद मन्तव्य व्यक्त गर्दै कार्यक्रमले विद्यार्थी, शैक्षिक संस्था, स्थानीय आविष्कारक, प्राविधिक तथा अटोमोबाइल क्षेत्रका सरोकारवालालाई एउटै मञ्चमा जोडेको बताए । यसले नेपाली मौलिक आविष्कार र प्राविधिक क्षमतालाई सार्वजनिक गर्ने अवसर प्रदान गरेको र अनुसन्धान, नवप्रवर्तन तथा दिगो यातायात विकासमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?