१३ मंसिर, सिरहा । उमेर जम्मा २५ वर्ष । काँधमा दुई सन्तानको जिम्मेवारी र आँखामा उनीहरूको सुन्दर भविष्यको सपना छ ।
त्यही सपनालाई साकार पार्न सिरहाको नरहा गाउँपालिका–३ खोरिया नटवा टोलकी रहिसा खातुन भारतको लुधियानासम्म पुगेर पसिना बगाउँदै थिइन् ।
तर, यतिबेला उनलाई आफ्नै जीवन बचाउनुपर्ने अर्को संघर्ष आइलागेको छ । दुवै मिर्गौला फेल भएपछि रहिसाका लागि आफ्नै जीवनसमेत संकटमा परेको छ ।
रहिसाको जीवन बचाउन अहिले उनकी दिदी रहाना खातुन (शिला) दिनरात संघर्ष गरिरहेकी छन् । बहिनी बिरामी भएदेखि उनका दुई सन्तानसहितको हेरचाहको जिम्मेवारी पनि रहानाकै काँधमा आइलागेको छ । तर, आफ्नै आर्थिक अवस्था कमजोर भएकाले उनी सहयोगका लागि हारगुहार गरिरहेकी छन् ।
रहिसाको विवाह मोहम्मद हुसेनसँग भएको थियो । उनीबाटै जन्मिएका दुई सन्तान अहिले रहिसासँग छन् ।
दुवैको पहिलो सन्तानका रूपमा छोरा जन्मिएका थिए । छोरा इम्तिहान अहिले १० वर्षका भए । छोरी जस्मिन ७ वर्षकी भइन् ।

छोरी जन्मिएको ६ महिना नपुग्दै रहिसालाई श्रीमान् मोहम्मदले छाडेर हिँडेको उनकी दिदी रहाना बताउँछिन् । पहिलो सन्तानका रूपमा छोरा जन्मिँदा पनि मोहम्मदले बहिनीको राम्रोसँग हेरचाह नगरेको रहानाको भनाई छ ।
रहिसालाई छाडेपछि मोहम्मदले अर्को बिहे गरेको उनी बताउँछिन् । हाल उनी वैदेशिक रोजगारीका लागि कतारमा छन् ।
श्रीमान्ले साथ छाडेपछि रहिसाले दुई सन्तानको पालनपोषणका लागि भारतको लुधियानामा मजदुरी गर्दैआएको उनकी दिदी रहाना बताउँछिन् । रहिसाका छोरा इम्तिहान खान कक्षा ५ र छोरी जस्मिन कक्षा १ मा अध्ययनरत छन् ।
दुई वर्षदेखि लुधियानामा मजदुरी गर्दै कमाएको पैसाले रहिसाले दुई छोराछोरीको पालनपोषण गर्दैआएकी थिइन् । त्यो कमाइले जीवन सामान्य रूपमा चलिरहेको थियो । तर, अचानक आएको स्वास्थ्य समस्याले उनको जीवनको बाटो नै बदलिदिएको छ । सामान्य ज्वरो आएपछि रहिसा लुधियानाकै एक स्थानीय क्लिनिकमा उपचार गर्न गएकी थिइन् । त्यो बेला सामान्य जाँचपछि चिकित्सकले औषधि दिए । तर, औषधि सेवन गरेपछि उनलाई लगातार वान्ता हुनथाल्यो । स्वास्थ्य अवस्था झन्–झन् बिग्रिँदै गयो ।
अनि उनी नेपाल फर्किइन् । नेपाल आएपछि परिवारलाई आफ्नो अवस्थाबारे जानकारी गराउँदै उपचारका लागि विराटनगरस्थित पारस अस्पताल पुगिन् ।
त्यहाँ पाँचदिन बसेर परीक्षण गर्दा थाहा भयो– दुवै मिर्गौला फेल भइसकेका रहेछन् ।
त्यसपछि थप उपचारका लागि रहिसालाई काठमाडौंस्थित वीर अस्पताल लगियो । वीर अस्पतालमा पनि दुवै मिर्गौलाले काम गर्न छाडेको पुष्टि भयो ।
चिकित्सकले नियमित डायलाइसिस गर्नुपर्ने र जीवन बचाउने आशा कायम राख्न कम्तीमा एउटा मिर्गौला प्रत्यारोपण आवश्यक हुनसक्ने सुझाव दिएको उनकी दिदी रहाना बताउँछिन् ।
अहिले उनी २० दिनदेखि उपचारको प्रक्रियामा छिन् ।
तर, रहिसाको जीवन बचाउने संघर्षमा अहिले सबैभन्दा ठूलो बाधा आर्थिक अभाव बनेको छ ।

उपचारमा ठूलो रकम खर्च हुने भएपछि गाउँघर र आफन्तसँग चन्दा संकलन गरेर केही रकम जुटाएको दिदी रहाना बताउँछिन् । ‘त्यो रकम विराटनगर र काठमाडौंमा उपचार गराउँदा, आउजाउ गर्दा सकियो । अब थप उपचार कसरी गराउने भन्ने चिन्ता बढेको छ,’ उनी भन्छिन् ।
रहिसाको उपचारका लागि अहिले दिदी रहाना नै मुख्य सहारा बनेकी छन् । बहिनीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनी उपचारका लागि अस्पताल धाउनेदेखि आर्थिक सहयोग जुटाउनेसम्मको जिम्मेवारी आफैँले सम्हालिरहेकी छन् ।
नरहा गाउँपालिका–३ का वडाध्यक्ष रुस्तम अन्सारीले रहिसाको जीवन रक्षाका लागि वडा कार्यालयदेखि गाउँपालिकासम्म आवश्यक पहल भइरहेको बताए ।
उपचारमा ठूलो रकम आवश्यक पर्ने र उनको आर्थिक अवस्था कमजोर रहेको उनले बताए ।
‘विराटनगर र काठमाडौंमा उपचार गराउन लैजाँदा गाउँघरदेखि देश–विदेशमा रहेका नागरिकले सक्दो सहयोग गरेर पठाउनुभएको थियो,’ उनले भने, ‘तर, उपचारमा ठूलो खर्च लाग्ने देखिएकाले अब सबै नागरिकलाई पुन: सहयोगका लागि अपिल गर्दछु ।’
प्रतिक्रिया 4