+
+
Shares

ग्वाटेमालामा गृहयुद्धकालीन नरसंहारको आरोपमा पूर्वकर्णेल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १७:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ग्वाटेमालामा सन् १९८२ को आदिवासी हत्याकाण्डसँग जोडिएका अवकाशप्राप्त कर्णेल ओट्टो नोआक अन्तर्राष्ट्रिय पक्राउ पुर्जीका आधारमा पक्राउ परेका छन्।
  • नोआकमाथि सान हुआन कोत्जालमा माया इक्सिल समुदायका मानिसको हत्या, बेपत्ता पार्ने, यातना दिने र सामूहिक चिहानमा गाड्ने कार्यमा संलग्न भएको आरोप छ।
  • सन् १९६० देखि १९९६ सम्मको ग्वाटेमालाको गृहयुद्धमा करिब दुई लाख मानिस मारिएका वा बेपत्ता भएका थिए।
१३ मङ्सिर, ग्वाटेमाला सिटी (रासस/एएफपी)। सन् १९८२ मा ग्वाटेमालाको लामो गृहयुद्धका क्रममा करिब ४०० आदिवासीको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा सेनाका एक अवकाशप्राप्त कर्णेल पक्राउ परेका छन् ।
न्याय तथा मेलमिलाप सङ्घ र ग्वाटेमालाको आर्कडायोसेसस्थित मानवअधिकार कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै अवकाशप्राप्त कर्णेल ओट्टो नोआक शुक्रबार अन्तर्राष्ट्रिय पक्राउ पुर्जीका आधारमा पक्राउ परेको जानकारी दिएका हुन् ।
हाल ७३ वर्षका नोआकले गृहयुद्ध समाप्त भएपछि पनि सरकारी कर्मचारीका रूपमा काम जारी राखेका थिए। उनी सन् २०२४ सम्म सरकारी सेवामा कार्यरत रहेको विज्ञप्तिमा उल्लेख छ ।
उहाँमाथि सन् १९८२ मा युद्ध चर्किरहेका बेला सान हुआन कोत्जाल सहरका माया इक्सिल आदिवासी समुदायका मानिसको हत्या तथा बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप छ ।
विज्ञप्तिअनुसार नोआकले नेतृत्व गरेका सैनिक टोलीले पुरुष तथा महिलालाई पक्राउ गरी सैनिक ब्यारेकमा लग्ने, यातना दिएर सोधपुछ गर्ने र हत्या गरेपछि सामूहिक चिहानमा गाड्ने गरेका थिए ।
सन् १९६० देखि १९९६ सम्म चलेको ग्वाटेमालाको गृहयुद्धमा अमेरिकाको समर्थन प्राप्त दक्षिणपन्थी सरकार र वामपन्थी विद्रोहीबीच लडाइँ भएको थियो । संयुक्त राष्ट्रसङ्घका अनुसार उक्त द्वन्द्वमा करिब दुई लाख मानिस मारिएका वा बेपत्ता भएका थिए ।
गृहयुद्धका क्रममा सेनाले आदिवासी ग्वाटेमालावासीलाई विद्रोही लडाकूलाई समर्थन गरेको आरोप लगाउने गरेको थियो ।
सन् २०१३ मा ग्वाटेमालाका पूर्वतानाशाह एफ्राइन रिओस मोन्टलाई सन् १९८२ र १९८३ मा माया इक्सिल समुदायका मानिसको हत्यासम्बन्धी नरसंहारको आरोपमा अदालतले दोषी ठहर गरेको थियो । तर, उक्त फैसला पछि उल्टाइएको थियो । दोस्रो सुनुवाइको प्रतीक्षामा रहेका बेला सन् २०१८ मा ९१ वर्षको उमेरमा उनको मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?