काठमाडौं । इजरायलका कामचलाउ प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सत्ता साझेदारीको प्रस्ताव गरेपछि गादी आइजेनकोटले भेटवार्ता गरेका छन् ।
नेतन्याहूले प्रधानमन्त्री पदका आकांक्षी आइजेनकोटसँग आलोपालो प्रधानमन्त्री बन्ने प्रस्ताव राखेपछि दुवै जनाबीच छलफल सुरु भएको हो ।
अल जजिराको समाचारअनुसार दुवै नेताबीच आइतबार बिहान तेल अभिभस्थित इजरायली सैन्य मुख्यालयमा भेटवार्ता भएको छ ।
इजरायलको सेनाबाट सुरक्षा अवस्थाबारे जानकारी लिएपछि उनीहरूले सम्भावित राष्ट्रिय एकता सरकार गठनका विषयमा छलफल सुरु गरेका थिए । आइजेनकोटको मध्यमार्गी दल याशारले जारी गरेको विज्ञप्तिलाई उद्धृत गर्दै टाइम्स अफ इजरायलले यस्तो जनाएको छ ।
गत महिना भएको निर्वाचनमा नेतन्याहूविरोधी गठबन्धनमा रहेका आइजेनकोटलाई इजरायलका राष्ट्रपतिले नयाँ सरकार गठनको जिम्मेवारी दिएका थिए । तर, उनले अहिलेसम्म सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सकेका छैनन् ।
शनिबार आइजेनकोटले नेतन्याहूको लिकुड पार्टी एकताका लागि कति गम्भीर छ भन्ने हेर्न आफू तयार रहेको बताएका थिए ।
उनले भनेका थिए, ‘यदि लिकुड वास्तविक एकताका लागि तयार छ भने आगामी २४ घण्टासम्म उसको गम्भीरता जाँच्न म तयार छु ।’
यसअघि नेतन्याहूले एक्समार्फत राष्ट्रिय एकता सरकार बनेमा आलोपालो प्रधानमन्त्री हुने प्रस्ताव गरेका थिए । उनको प्रस्तावअनुसार सुरुमा आइजेनकोट प्रधानमन्त्री बन्ने र नेतन्याहू वैकल्पिक प्रधानमन्त्रीका रूपमा रहनेछन् ।
संसद्मा याशारभन्दा लिकुड पार्टीको सिट संख्या बढी भएकाले स्वाभाविक रूपमा आफूले सरकारको नेतृत्व गर्नुपर्ने भएपनि यसपटक त्यस सिद्धान्तलाई छाड्न तयार रहेको नेतन्याहूले बताएका थिए ।
उनले अस्तित्वमाथिको गम्भीर खतरा र त्यसको सामना गर्न नसक्ने सरकार बन्नसक्ने सम्भावनालाई ध्यानमा राख्दै आफूले नेतृत्वको सिद्धान्तसमेत त्याग्न तयार भएको बताएका छन् ।
आइजेनकोटले आगामी डिसेम्बर ६ सम्ममा नयाँ सरकार गठन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले थप १४ दिनको समयसीमा प्रयोग नगर्ने पनि बताएका छन् ।
यसअघि उनले नेतन्याहूको पार्टीले गठबन्धन निर्माणका लागि भइरहेको छलफललाई जानाजान लम्ब्याएर पुन: निर्वाचन गराउन खोजेको आरोप लगाएका थिए ।
विपक्षीको असन्तुष्टि
अक्टोबर २७ मा भएको निर्वाचनले कुनै पनि पक्षलाई स्पष्ट बहुमत दिएको थिएन ।
निर्वाचनमा नेतन्याहू नेतृत्वको दक्षिणपन्थी र अति अर्थोडक्स यहुदी दलहरूको गठबन्धनले ५३ सिट जितेको थियो । १२० सदस्यीय संसद्मा बहुमतका लागि ६१ सिट आवश्यक पर्छ ।
त्यस्तै, आइजेनकोट र उनका सम्भावित साझेदार दलहरूले ४८ सिट जितेका थिए ।
नेतन्याहूको प्रस्तावप्रति डेमोक्रेटिक समूहका नेता यायर गोलानले असन्तुष्टि जनाएका छन् । उनले नेतन्याहूसँग कुनै पनि प्रकारको एकता सरकार स्वीकार्य नहुने बताउँदै प्रस्तावलाई अस्वीकार गरेका छन् ।
एक्समा उनले लेखेका छन्, ‘अब छलकपट र धोकेबाजीका रणनीति बन्द गर । नेतन्याहू पराजित भइसकेका छन् । मतदाताको इच्छाको सम्मान गर्दै परिवर्तन र उद्धारको सरकार गठन गर्नु हाम्रो दायित्व हो ।’
अरब नेतृत्वका दलहरूको गठबन्धन जोइन्ट लिस्टका नेता युसेफ जबारिनले पनि नेतन्याहूले सरकार परिवर्तनको प्रयास रोक्न खोजेको आरोप लगाएका छन् ।
उनले यहुदी र अरब दुवै समुदायका जनताको साझा चाहनाअनुसार नेतन्याहू नेतृत्वको सरकारलाई तत्काल हटाउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया 4