+
+
Shares

ओसामा बिन लादेनलाई सुडानबाट अफगानिस्तान पुर्‍याउने पाइलटको कथा

सन् १९९६ मा सुडानबाट अफगानिस्तान ल्याइएको विमानमा अलकायदाका प्रमुख ओसामा बिन लादेन पनि सवार रहेको पाइलटको दाबी छ । तर विमान उडाउँदा उनलाई यसको कुनै जानकारी थिएन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १९:१६

सन् १९९६ को मे महिनामा अफगानिस्तानबाट एउटा विमान सुडानको राजधानी खार्तुमका लागि उडेको थियो । उक्त विमानमा पछि अलकायदाका प्रमुख ओसामा बिन लादेन पनि सवार रहेको दाबी गरिएको छ ।

११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको आतंकवादी हमलाको २५औँ वार्षिकोत्सवको सन्दर्भमा एरियाना अफगान एयरलाइन्सका पूर्वपाइलट मोहम्मद उमर अफजलले बीबीसी पश्तोसँगको अन्तर्वार्तामा यस्तो खुलासा गरेका हुन् ।

उनका अनुसार आफूले विमान उडाउँदा त्यसमा ओसामा बिन लादेन रहेको थाहा थिएन । पछि मात्रै उक्त उडानमा लादेन पनि सवार रहेको जानकारी पाएका थिए ।

ओसामा बिन लादेन अलकायदा नामक चरमपन्थी संगठनका प्रमुख थिए । सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएका आक्रमणको योजना बनाएको आरोप उनीमाथि थियो । सन् २०११ मे महिनामा पाकिस्तानको एबटाबादमा अमेरिकी सेनाले गरेको सैन्य कारबाहीमा उनी मारिएका थिए ।

मोहम्मद उमर अफजलका अनुसार उक्त उडानका कप्तान सैयद नबी आगा थिए । अहिले उनको निधन भइसकेको छ । विमान सुडान सरकारले चार्टर गरेको थियो ।

अफजलका अनुसार विमान दिउँसो ३ वा ४ बजेतिर बगरामबाट उडेर जलालाबाद पुगेको थियो । पाकिस्तानको पेशावरबाट आएका सुडानी यात्रुहरूलाई उनीहरूको देश पुर्‍याउने योजना थियो ।

तर, विमान साउदी अरबको हवाई क्षेत्रमा प्रवेश गरेपछि केही असामान्य अवस्था देखियो ।

उक्त उडानको कल साइन एफजी ६०२ थियो । सामान्यतया यो कल साइन जेद्दाह जाने उडानमा प्रयोग हुन्थ्यो । कल साइन भनेको विमान र हवाई ट्राफिक नियन्त्रणबीच सम्पर्क गर्न प्रयोग गरिने विशेष पहिचान कोड हो ।

खार्तुममा चार दिन बसाइ

अफजलका अनुसार साउदी हवाई क्षेत्रमा प्रवेश गरेपछि चालक दलले हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क गरेको थियो । साउदी अधिकारीहरूले विमानलाई अवतरण गर्न निर्देशन दिए ।

तर चालक दलले आफूहरू खार्तुम जान लागेको जवाफ दियो ।

त्यसपछि साउदी अधिकारीहरूले विमानलाई तत्काल अगाडि बढ्न अनुमति दिएनन् । बरु आकाशमै निश्चित घेरामा घुमिरहन निर्देशन दिए । उड्डयन भाषामा यसलाई ‘होल्डिङ प्याटर्न’ भनिन्छ ।

साउदी अधिकारीहरूले उक्त उडान नम्बर जेद्दाहका लागि आरक्षित रहेको तर विमान सुडान जान लागेको भन्दै प्रश्न गरेका थिए ।

अफजलका अनुसार विमान करिब सात मिनेट वा त्यसभन्दा केही बढी समय आकाशमै घुम्यो । त्यसपछि साउदी अधिकारीहरूले पुन: सम्पर्क गरी खार्तुमतर्फ उड्न अनुमति दिए ।

सुडान पुगेपछि पनि विमानलाई सामान्य पार्किङ क्षेत्रमा नराखी सैन्य क्षेत्रतर्फ लगिएको थियो । त्यहाँ सैनिक र सादा पोसाकमा रहेका केही व्यक्ति उपस्थित थिए ।

अफजलका अनुसार खार्तुम पुग्दा चालक दलका सदस्यहरूको राहदानी जाँचसमेत गरिएको थिएन । कुनै सोधपुछ नगरी उनीहरूलाई सीधै होटल लगिएको थियो ।

भोलिपल्ट बिहान १० बजे उनीहरूलाई अफगान राजदूतसँग भेट गराइने जानकारी दिइयो ।

राजदूतले चालक दललाई चार जनाका लागि भिसा जारी गरिएको र करिब ११ टन सामान अफगानिस्तान लैजानुपर्ने बताए । सामान तयार भएपछि उडान भर्ने जानकारी पनि दिए ।

अफजलका अनुसार चालक दल खार्तुममा करिब चार दिन बसेको थियो ।

चालक दल नै चकित

चार जनाका लागि मात्रै भिसा जारी गरिएको जानकारी पाएका चालक दलका सदस्य विमानमा चढ्दा भने आश्चर्यमा परे ।

अफजलका अनुसार विमान यात्रुले भरिएको थियो ।

उनले बीबीसीसँग भनेका छन्, ‘हामीले विमानमा चढ्दा चार जना मात्रै यात्रु हुने र बाँकी भाग खाली रहने अपेक्षा गरेका थियौँ । कार्गो राख्ने तल्लो भागमा ११ टन सामान हुने भनिएको थियो । तर विमान यात्रुले भरिएको थियो ।’

चालक दल बोइङ ७२७ विमानको पछाडिको ढोकाबाट भित्र प्रवेश गरेको थियो । विमानभित्र पुगेपछि उनीहरूले पछाडिका सिटनजिक पुस्तक र कम्प्युटर राखिएको देखे ।

विमानमा चारदेखि छ जनासम्म महिला पनि थिए । यात्रुको कुल संख्या करिब ९५ रहेको अफजलले बताएका छन् ।

पहिले जानकारी गराइएको संख्याभन्दा धेरै यात्रु देखेपछि चालक दलले आपत्ति जनाएको थियो ।

तर विमान चार्टर गर्ने कम्पनीका एक संयोजकले विमान भाडामा लिएको र त्यसको भुक्तानी गरिसकेको भन्दै यात्रु तथा सामानबारे निर्णय गर्ने अधिकार आफूहरूको भएको जवाफ दिएका थिए ।

उनले चालक दललाई विमान उडाउनु मात्रै आफ्नो जिम्मेवारी भएको बताएका थिए ।

अफजलका अनुसार चालक दलले यस विषयमा चिन्ता व्यक्त गर्दै अफगान राजदूतसँग सम्पर्क गराउन माग गरेको थियो । तर उनीहरूलाई विमान भाडामा लिइसकिएकाले उडान भर्नुपर्ने बताइएको थियो ।

उनले चालक दलका सदस्यले यात्रुको नामभन्दा पनि उनीहरूको संख्या मात्रै पुष्टि गर्ने भएकाले विमानमा को–को सवार थिए भन्ने थाहा पाउन नसकेको बताएका छन् ।

दुबई हुँदै अफगानिस्तान यात्रा

सुडानबाट फर्किने क्रममा विमान केही समय दुबईमा रोकिएको थियो । त्यसपछि अफगानिस्तानका लागि उडान भरेको थियो ।

विमान बगराममा अवतरण गर्ने योजना थियो । तर काबुलस्थित हवाई नियन्त्रण केन्द्रमा सम्पर्क गर्दा गन्तव्य परिवर्तन भएको जानकारी दिइयो ।

चालक दललाई काबुलमा अवतरणको अनुमति नभएको र त्यसको सट्टा जलालाबादमा अवतरण गर्न निर्देशन दिइयो ।

अफजलका अनुसार जलालाबाद विमानस्थलमा विमान अवतरण गर्दा यात्रुहरूको स्वागतका लागि ठूलो संख्यामा मानिसहरू उपस्थित थिए ।

त्यहाँ अफगान नागरिकसँगै अरब देशका मानिसहरू पनि थिए । उनले जमियत–ए–इस्लामी, हिज्ब–ए–इस्लामी लगायतका संगठनका व्यक्तिहरूलाई समेत देखेका थिए ।

विमानबाट यात्रुहरू ओर्लिएपछि त्यहाँ खुसीयाली छाएको थियो । मानिसहरू एकअर्कालाई अँगालो हालिरहेका थिए । बधाई आदानप्रदान गरिरहेका थिए भने केही व्यक्ति खुसीले रोइरहेका थिए ।

तर त्यतिबेलासम्म चालक दललाई विमानमा को सवार थिए भन्ने जानकारी थिएन ।

अफजलको दाबीअनुसार उक्त विमानमा ओसामा बिन लादेन पनि सवार थिए भन्ने कुरा उनले धेरै वर्षपछि मात्रै थाहा पाए ।

वर्षौंपछि सुनाएको रहस्य

अफजलका अनुसार तालिबानले काबुल कब्जा गरेपछि एरियाना अफगान एयरलाइन्सले काबुल, कान्दाहार, दुबई, शारजाह र जलालाबादबीच नियमित व्यावसायिक उडान पुन: सुरु गरेको थियो ।

त्यतिबेला कम्पनीका तीनदेखि चारवटा बोइङ ७२७ विमानले दैनिक यी मार्गमा उडान भर्ने गरेका थिए ।

एक दिन उनी आफ्ना सहकर्मी कप्तान सैयद नबीसँग उडानमा थिए । त्यही क्रममा सैयद नबीले उनलाई एउटा महत्त्वपूर्ण कुरा बताउन चाहेको भन्दै प्रश्न गरे ।

उनले सोधे, ‘तिमीलाई थाहा छ, हामीले सुडानबाट ल्याएको विमानमा को–को सवार थिए ?’

अफजलले आफूलाई थाहा नभएको जवाफ दिए ।

त्यसपछि कप्तान नबीले भने, ‘त्यही व्यक्ति, त्यही मान्छे पनि त्यही उडानमा थियो ।’

अफजलले आश्चर्य मान्दै उनलाई कसरी थाहा भयो भनेर सोधे ।

जवाफमा कप्तान नबीले तत्कालीन तालिबान शासनका नागरिक उड्डयनमन्त्री मौलवी मन्सुरले आफैँ जानकारी दिएको बताए ।

अफजलका अनुसार मौलवी मन्सुर र कप्तान सैयद नबीबीच निकट सम्बन्ध थियो । मन्सुरले नबीलाई भनेका थिए, ‘तिमीहरू आफैँले उसलाई (ओसामा बिन लादेनलाई) अफगानिस्तान ल्याएका थियौ ।’

यसरी आफूले अनजानमै ओसामा बिन लादेनलाई सुडानबाट अफगानिस्तान पुर्‍याएको कुरा पूर्वपाइलट अफजलले वर्षौंपछि मात्रै थाहा पाएको दाबी गरेका छन् ।

–बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?