१४ मंसिर, कपिलवस्तु । दुई वर्षअघिसम्म नेपाली भाषा पढ्न र लेख्न कठिनाइ भोग्दै आएका कपिलवस्तुका मदरसामा अध्ययनरत विद्यार्थी अहिले नेपाली विषयमा सहजै पढ्न र लेख्न सक्ने भएका छन् ।
मायादेवी गाउँपालिका–२ मनखोरियास्थित मिसवाहुल उलुम आधारभूत विद्यालयका विद्यार्थीमा कक्षाकोठामा आधारित साक्षरता कार्यक्रम सञ्चालन भएपछि यस्तो सुधार आएको हो ।
बाल शिक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई नेपाली भाषा पढ्न र लेख्न कठिन हुने गरेकामा अहिले उनीहरूको पठन तथा लेखन सीपमा उल्लेख्य सुधार आएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक मोहम्मद तारिखले दुई वर्षअघि नेपाली विषय पढ्नसमेत कठिन हुने विद्यार्थी अहिले धाराप्रवाह पढ्न र लेख्न सक्ने भएको बताए ।
अरबी र अङ्ग्रेजीलगायत विषयमा राम्रो ज्ञान भएका विद्यार्थीले नेपाली भाषामा समेत प्रगति गरेपछि विद्यार्थी र अभिभावक उत्साहित भएको उनले बताए ।
पिस नेपाल र रुम टु रिड परियोजनाअन्तर्गत विद्यालयमा दुई वर्षदेखि कक्षाकोठामा आधारित साक्षरता कार्यक्रम सञ्चालन भएपछि सिकाइ उपलब्धिमा सुधार आएको प्रधानाध्यापक तारिखको भनाइ छ ।
कार्यक्रमले शिक्षकको अध्यापन शैलीमा परिवर्तन ल्याउनुका साथै विद्यार्थीको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाएको उनले बताए ।
विद्यालयकी शिक्षिका अनिता चौधरीले तालिम प्राप्त गरेपछि नयाँ विधि र अभ्यासमार्फत पठनपाठन गराउन थालेको बताइन् ।
शिक्षकले विद्यार्थीको सिकाइस्तरअनुसार शिक्षण गतिविधि सञ्चालन गर्न थालेपछि नेपाली भाषा पढ्न र लेख्न सक्ने विद्यार्थीको सङ्ख्या बढेको उनले जानकारी दिइन् ।
मायादेवी गाउँपालिकाका शिक्षा शाखा प्रमुख हरिहर बेल्बासेले मदरसामा अध्ययनरत विद्यार्थीको नेपाली भाषा सिकाइमा आएको सुधार सकारात्मक रहेको बताए ।
दक्षिणी क्षेत्रका मदरसामा समेत पठनपाठनको स्तरवृद्धि हुनु महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रम अन्य विद्यालयमा पनि विस्तार गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिका अध्यक्ष वलीउद्दीन मुसलमानले दुई वर्षअघि नेपाली पढ्नसमेत कठिनाइ हुने विद्यार्थी अहिले राम्रोसँग पढ्न र लेख्न सक्ने भएको देख्दा खुसी लागेको बताए ।
पिस नेपाल र रुम टु रिड परियोजना सञ्चालन भएका विद्यालयमा शैक्षिक सुधार देखिएको उल्लेख गर्दै उनले गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।
मनखोरियाको मिसवाहुल उलुम आधारभूत विद्यालयसहित कपिलवस्तु नगरपालिका–११ रेहरास्थित मदरसा मिसहाउल उलुम अल सफिया र मायादेवी गाउँपालिका–३ स्थित मदरसा रियाजुल उलुम अल सफिया आधारभूत विद्यालयमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
परियोजनाका कार्यक्रम संयोजक नारायणप्रसाद पौडेलले कपिलवस्तुका दुई स्थानीय तहका तीन मदरसामा सञ्चालित कार्यक्रमबाट ७७७ विद्यार्थी लाभान्वित भएको बताए । ती मदरसाका १५ शिक्षकलाई साक्षरतासम्बन्धी तालिम प्रदान गरिएको उनले जानकारी दिए ।
संयोजक पौडेलका अनुसार कपिलवस्तु, बुद्धभूमि र शिवराज नगरपालिका तथा मायादेवी गाउँपालिकाका ९३ विद्यालयमा परियोजना सञ्चालन भइरहेको छ ।
कार्यक्रमबाट १३ हजार ९५० विद्यार्थी लाभान्वित भएका छन् । कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पठन सीप तथा आधारभूत साक्षरता विकास गर्न कार्यक्रम सञ्चालन गरिएको हो ।
त्यसैगरी, ती स्थानीय तहका १५ विद्यालयमा कक्षा ६ र ७ का विद्यार्थीका लागि जीवनोपयोगी सीपसम्बन्धी कक्षासमेत सञ्चालन गरिएको संयोजक पौडेलले बताए ।
प्रतिक्रिया 4