एप्पलको आइफोन ६ को मूल्य नेपालमा ८२ हजार रुपैयाँबाट सुरु हुने भएको छ ।
यसै सातादेखि नेपालमा आधिकारिकरुपमा बिक्रि खुल्ला गर्न लागेको एप्पलले ‘आइफोन ६’ र ‘आइफोन ६ प्लस’ का बिभिन्न क्षमताका सेटको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार १६ जीबी क्षमताको आइफोन ६ को मूल्य ८१ हजार ९ सय पर्ने छ भने ६४ जीबीका लागि ९२ हजार ४ सय पर्ने छ । यस्तै १२८ जीबी क्षमताका लागि १ लाख ४ हजार ९ रुपैयाँ तोकिएको नेपालका लागि एप्पलको आधिकारिक बितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनका प्रबन्ध निर्देशक पवनकुमार भिमसरियाले जानकारी दिए ।
१६ जीबीको आइफोन ६ प्लसको मूल्य ९२ हजार ४ सय, ६४ जीबीलाई १ लाख ४ हजार ९ सय र १२८ जीबी क्षमताका लागि १ लाख १७ हजार ९ सय रुपैयाँ मूल्य तोकिएको छ ।
यो मूल्यमा नेपाल सरकारले तोकेको १३ प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट)समेत समावेश गरिएको भिमसरियाले जानकारी दिए । बिलसँगै ग्राहकले १ बर्षे वारेन्टी कार्डसमेत पाउनेछन् ।
एप्पलले नेपालमा बण्डलिङ र ननबण्डलिङ गरी दुई बिधिमा आइफोन बेच्ने छ । बण्डलिङ अन्र्तगत एनसेलले आइफोन ५ एस, आइफोन ६ र आइफोन ६ प्लस बिक्रि गर्ने छ । जसमा ६ महिनाका लागि निश्चित डाटा फि्रसहित मासिक किस्ताबन्दीको ब्यबस्था गरिएको छ ।
ननबण्डलिङ सेटका लागि एप्पलका काठमाण्डौमा रहेका ६ वटा आधिकारिक खुद्रा बिक्रि स्टोरमा बुकिङ खुला गरिएको छ । इभो स्टोर र फ्युचर वर्ल्डका दरबारमार्ग, सिटी सेन्टर, सििभल मल र जावलाखेलमा रहेका स्टोरमा ग्राहकले आइफोन बुकिङ गर्न सक्नेछन् ।
ग्राहकलाई आगामी शुक्रबारबाटै आइफोन बितरण गर्न सुरु गरिने भिमसरियाले जानकारी दिए । ‘शुक्रबार काठमाण्डौमा आइफोनको औपचारिक लन्च हुँदैछ’ भीमसरियाले भने-त्यही दिनबाटै ग्राहकलाई आइफोन दिन सुरु गर्दैछौं ।’
वारेन्टी, बिल र बिक्रिपछिको भरपर्दो सेवाका कारण ग्राहकले आधिकारिकरुपमा भित्राइएका आइफोन नै खरिद गर्ने बिश्वास उनले ब्यक्त गरे ।
‘१३ प्रतिशत भ्याटलाई घटाउनुभयो भने आधिकारिकरुपमा बेचिने सेट अबैधानिकरुपमा भित्राइएका सेटभन्दा धेरै महंगो छैनन्’ उनले भने-‘हिजो बिकल्प नभएको अबस्थामा ग्राहक त्यस्ता सेट किन्न बाध्य थिए तर यति ठूलो रकम खर्च गरेपछि अब ग्राहकले अबैधानिक आइफोन किन्दैनन् ।’
एनसेलले बण्डलिङ सेटमा किस्ताबन्दी अफर ल्याएजस्तै एप्पलका खुद्रा बिक्रेता इभो स्टोर र फ्युचर वर्ल्डले पनि बिभिन्न बैंकसँगको सहकार्यमा मासिक किस्ताबन्दीको सुबिधा दिएका छन् ।
मूल्यमा एनसेलको बण्डलिङ र खुला बजारमा पाइने ननबण्डलिङ आइफोनमा खासै ठूलो भिन्नता छैन् । एनसेल बण्डलिङमा आइफोन ५ एससमेत किन्न पाइन्छ भने खुला बजारमा तत्कालै ५एस उपलब्ध छैन् । यस्तै एनसेलले आफ्नो किस्ताबन्दी फोन किन्दा ६ महिनासम्म निश्चित मात्रामा डाटा निःशुल्कसमेत दिन्छ ।
एनसेलको आइफोन किस्ताबन्दी अफरबारे थप जानकारी लिन यो समाचार पढ्नुहोस् । एनसेलबाट मासिक किस्तामा आइफोन किन्न पाइने
प्रतिक्रिया 4