+
+

ओलीको बालकोट दरबार र राष्ट्रवादको पाइजामा

पछिल्ला दिनमा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले अलि चर्को गरी भन्न थालेका छन्- देशलाई रुवाण्डा बनाउन दिइन्न, बलभद्र कुँवर, अमरसिंह थापाहरु नभए पनि उनका सन्तान जिउँदो छँदै देश ट्क्र्याउन दिइन्न, राष्ट्रघातीहरुको इच्छा पूरा हुन दिइन्न ।’

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २९ गते १३:०५

यादव देवकोटा

पछिल्ला दिनमा एमाले अध्यक्ष खड्गप्रसाद ओलीले अलि चर्को गरी भन्न थालेका छन्- देशलाई रुवाण्डा बनाउन दिइन्न, बलभद्र कुँवर, अमरसिंह थापाहरु नभए पनि उनका सन्तान जिउँदो छँदै देश ट्क्र्याउन दिइन्न, राष्ट्रघातीहरुको इच्छा पूरा हुन दिइन्न ।’

यादव देवकोटा
यादव देवकोटा

माननीय ओलीको भनाइ बडो आदर्शवादी राष्ट्रभक्तको मन्त्र जस्तो सुनिन्छ । इतिहासको सबैभन्दा चर्को ट्राजेडीको टोपी लगाएर ओलीमा राष्ट्रवादी बन्ने भूत चढ्न थालेजस्तो देखिन्छ । बलभद्र कुँवर र अमरसिंह थापा यो देशका शासकहरुले अफ्नो स्वार्थका लागि लडाएर स्वार्थ सकिएपछि चरम वेवास्ता गरिएका विम्वहरु थिए ।

ओली कमरेडहरु अहिले सत्ता र भत्ता पाएपछि झापा विद्रोहका योद्धाहरुलाई आफैंले देखाएको, वितरण गरेको मालेकालीन सपनाहरुलाई चरम बेवास्ता गर्नुहुन्छ । हो, उसैगरी तत्कालीन सत्ताले बलभद्र कुँवर, अमरसिंह थापाहरुलाई चरम वेवास्ता गरेर काम सकिएको कुँडाकर्कटझैं मिल्कायो ।

शायद कमरेड ओलीहरु सुविस्तासँग काजु चपाएर सत्तामा तर मार्नका लागि मानिसहरुलाई नयाँ बलभद्र, अमरसिंह बनाउन चाहनुहुन्छ । स्वार्थ पूरा भएपछि मानिसलाई कसरी नयाँ बलभद्र बनाउन सकिन्छ भन्ने त उहाँहरुले उहाँहरुका चरम राष्ट्रवादी शासकहरुबाटै उत्तराधिकारीको रुपमा परम्परागत ज्ञान पाउनुभएकै छ । र, झापाकालीन मानिसहरुलाई कसरी स्वार्थको भर्‍याङ बनाएर मिल्काउनुभयो भन्ने पनि देखिसकिएकै छ ।

बलभद्र/अमरसिंह प्रकरणको सत्यता

चिनियाँ/तिब्बती र दक्षिणतर्फका थुप्रै फौजसँगको लडाइँको कमाण्ड गरेका पृथ्वीनारायण शाहकालीन फौजी कमाण्डर काजी दामोदर पाँडे, काजी भीम खवास, सरदार इन्द्रमान खत्रीसहित नावालकहरुसमेतलाई लुमडी -भद्रकाली)मा काटेर, बैसठ्ठी सालको पर्वमा दर्जनौं भारदारहरुको कत्लेआम गरेर शत्ता शक्तिलाई बढाएका थिए बौलाहा राजा रणबहादुर शाहको बिश्वासपात्र भएर मुख्तियारी पाएका भीमसेन थापाले ।

दामोदर पाँडेको टाउको गिँड्नुअघि नै कालु पाँडेका छोरा बंशराज पाँडेलाई प्रतापसिंह शाहकी पत्नी राजेन्द्रलक्ष्मीको नायबी कालमा गिँडीसकिएको थियो ।

Kp-oli
केपी अोली

मध्यकालमा जनपक्षीय काम गर्ने काजी भीम मल्ललाई गिँडेर शुरु भएको सत्तासीनहरुको राष्ट्रद्रोहीका नाममा जनतालाई अधिकार दिने पक्षमा उभिनेहरुको कत्लेआम गर्ने अभियान आजपर्यन्त जारी छ ।

भीमसेन थापाले प्रथम भण्डारखाल पर्वमा अहिलेको आरबी कम्प्लेक्स छेउको रणमुक्तेश्वर मन्दिरसँगै जोडिएको निर्मल विद्यापीठ रहेको (तत्कालीन समयमा त्रिभुवन खवासको) घरमा रगतको खोलो बगाए । बिरोधी भारदारहरुको कत्लेआम गरे । नागरिकको ध्यान आफ्नो अत्याचारी हत्या प्रकरणमा केन्दि्रत भएर आफुविरुद्ध असन्तोष नउठोस् भनेर अंग्रेजसँगको लडाइँको मोर्चा खोले ।

बूढा सेनापति अमरसिंह थापाले भीमसेन थापालाई पत्र लेखेरै लडाइँका लागि बल नगर्न अनुरोध गरेका थिए । मलाउको किल्लामा बृद्ध उमेरमा फौजी कमाण्ड गर्दै लडेका जनरल अमरसिंहको फौज अंग्रेजका कमाण्डर जनरल डेभिड अक्टरलोनीको फौजबाट घेराउमा पर्‍यो । राष्ट्रवादको नशाले लट्ठ परेका भीमसेन थापाले केन्द्रबाट अमर सिंहलाई सहायता गर्न शक्ति पठाएनन् । पहल गरेनन् । अन्ततः जनरल अमरसिंह विवश भएर जनरल अक्टरलोनीसँग सम्झौता गर्न बाध्य भए-‘समपर्ण गरेका इच्छुक नेपाली फौजका जवानले बि्रटिश फौजमा काम गर्ने ।’

सिरमुर बटालियनबाट शुरु भएको नेपाली नागरिकको लाहुरे यात्रा आज ७० लाखभन्दा बढीको संख्यामा जारी छ । नागरिकलाई बिदेशका रछ्यानदेखि अरबका बालुवा चाल्नेसम्मको काममा बेचेर आएको पैसामा मोज गरेर, राष्ट्रको धनले विदेशमा उपचार गरेर सत्ताधारीहरु राष्ट्रवादको जडौरी गफ बेच्न ब्यस्त छन् । राष्ट्रवादको गफ बेचेर लाखौंलाख मानिसहरुलाई नयाँ ‘सिरमुर’ बटालियनमा पठाउन उद्यत छन् ।
भीमसेन थापाको सत्ता जोगाउन राष्ट्रवादको सिंहनाद गरेर लडाइँमा होमिएको नेपाल अन्ततः त्यहीँबाट देशका छोराहरुलाई ‘भाडा’मा बेच्ने काममा सर्मपित भयो । भीमसेन थापाले मानिसहरुलाई लडाइँमा होमेर आफ्नो सत्ताबाट ध्यान अन्यन्त्रै मोड्न सफल भएका थिए ।

देशका लागि लड्न पठाइएका अमरसिंहको उप्रान्त कुनै आवश्यकता थिएन । एउटा परित्यक्त दुखियाजस्तो भएर उनी भौतारिँदै गोसाइकुन्ड गए । उतै गुमनाम मृत्युवरण गरे ।

काठमाडौंले भोकै दाम्रिएर मरेको हाम्रो पेट देख्न भ्याएन, अलि देख्नसक्ने गरी राज्यसम्म पहुँच पुग्ने गरी राज्यलाई हाम्रो दैलोबाट देखिने ठाउँसम्म विस्तार गर्न संघीयता देऊ भन्नेलाई ओलीहरु सुनाइरहेछन् नयाँ भीमसेन थापारुपी प्रेत बनेर राष्ट्रवादको पाल्सी कर्खा

नालापानीको किल्लामा महिला/केटाकेटी समेतको सानो संख्याको फौज लिएर अत्याधुनिक हतियारले सुसज्जित आधुनिक अंग्रेज फौजसँग लड्ने बलभद्र कुँवरलाई यो देशमा टिक्न नदिएर रणजीत सिंहको फौजमा भर्ती जान बाध्य पार्ने ओली कमरेडहरुका राष्ट्रवादी शासक नै थिए ।
नजाने राष्ट्रवादको नक्कली गीत गाएर आफ्नो स्वार्थ पूरा भएपछि कति नेपालीलाई ओलीहरु नयाँ वलभद्र बनाएर यो देशबाट लखेट्न चाहन्छन्, के थाहा ?

राष्ट्रवादको नक्कली पाइजामा

ओलीले मात्रै हैन, पछिल्ला दिनहरुमा अलि चर्कै स्वरमा ‘राष्ट्रवादी’ र ‘राष्ट्रघाती’को पहेंलो सूची तयार गर्नेहरुको भीड बढ्न थालेको छ । पञ्चायतकालमा राजनीति, कर्मचारीतन्त्रमा प्रवेश गरेर राज्यको ढुकुटीबाट सात पुस्तालाई पुग्ने गरी कुम्ल्याएका मानिसहरुमा अलि बढी नै राष्ट्रवादी हुने जोश चढेजस्तो देखिन्छ ।

ओली महोदयलाई नै हेरौं, झापाको गरिब परिवारबाट उठी आउनुभएको उहाँले शायद राष्ट्रलाई माया गरेर, यो देशका जनतालाई माया गरेर, देशको आय, ढुकुटीलाई माया गरेर नै जोड्नुभएको होला कि के होला उहाँको बालकोट दरबारको स्रोत ?

आज राज्यमा पुगेर मन्त्री, प्रधानमन्त्री, उच्चपदस्थ कर्मचारी भएर पुस्ता दरपुस्तालाई पुग्ने कुत, अकूत धन जोड्नेहरु निकै चर्को डाँको छोडेर कुर्लिरहेछन्-राष्ट्रवादको पाल्सी गीत । बाँकी जो छन्, जसले साँच्चै देशलाई माया गरेर राष्ट्रवादी बने पनि तिनको समेत बुझाइमा देश भनेको ढुंगा,माटो, पानी, जंगे पिलर समाबेश भएको नक्साको एउटा टुक्रो हो, जहाँ नागरिकको कुनै मूल्य छैन ।

देश भनेको काठमाडौं, त्यसमा पनि सिंहदरवार हो र देशवासी भनेका सत्ताधारीहरु हुन्, केही लाख फौजी र गैरफौजी कर्मचारीतन्त्र हो ।
खुलेर प्रष्ट नभने पनि यताका दिनमा राष्ट्रवादी हुनका लागि केही पूर्वयोग्यताको भूमिगत सूची तयार गरिएको छ । हिन्दु हुनु, पहाडिया हुनु, गैह्र जनजाति हुनु, सत्ताधारी वर्गसँग स्वर मिलाउनु आजको दिनमा राष्ट्रवादी हुने न्यूनतम शर्त हो र यी शर्तको परिभाषामा नअट्ने अनुहारहरु राष्ट्रद्रोही हुन् ।

यसरी अधिकारको पैरबी गरिरहेका आफ्ना नागरिकहरुलाई पहेंलो धर्सोबाहिर हुत्याएर राजनीतिका गोटी चालकहरु एकातिर देश बाहिरको शक्तिकेन्द्रबाट बफादार पात्रको प्रमाणपत्र लिने म्याराथनमा छन् भने अर्कोतिर आफ्नो भित्री अनुहार अरुमा आरोपित गरेर आफूलाई चर्को राष्ट्रवादी कहलाउने कलाहीन नाटक मञ्चन गर्ने लेठोमा छन् ।

आज मधेसको झुपड्पट्टीमा बस्ने एउटा हरितन्नम पुसको ठिहीमा काम्दै मागिरहेछ एक थान न्यानो कम्मल । सत्ताको तर मारेर जोडेको धनले काजु खाँदै सत्तासीनहरु शीतलहरले मर्न लागेर कम्मल माग्नेलाई राष्ट्रवादको गीत सुनाएर देश बलियो बनाउन कटिवद्ध देखिन्छन् ।
कर्णालीको एउटा पाखोमा बसेर यही देशको नागरिक मागिरहेछ राज्यसँग निस्लोट बिरामी हुँदा एक गोलिया सिटामोल । काठमाडौंले भोकै दाम्रिरएर मरेको हाम्रो पेट देख्न भ्याएन, अलि देख्नसक्ने गरी राज्यसम्म पहुँच पुग्ने गरी राज्यलाई हाम्रो दैलोबाट देखिने ठाउँसम्म विस्तार गर्न संघीयता देऊ भन्नेलाई ओलीहरु सुनाइरहेछन् नयाँ भीमसेन थापारुपी प्रेत बनेर राष्ट्रवादको पाल्सी कर्खा ।

मागिरहेकी छिन् एउटी चेली-बलात्कारकारीहरुमाथि कारवाही र आफूमाथि न्याय । धारोको पानी छोइएको बहानामा कुटिएको या दहेजको कारण जिउँदै पोलिएकी चेली आँशुले लेखिरहेछन् शासकलाई पत्र- हजुर, देशको न्याय देख्नै नसकिने गरी खिइयो, देश हरायो हाम्रो जीवनबाट । आइदेओस् देश हाम्रो जीवनमा र बलियो गरी उभिइदेओस् भरोसा बनेर । तर, सत्तासीनहरु देश बलियो बनाउन होइन, केही मानिसहरुको तागतदार मुठीभित्र कैद भएर युगौदेखि विभाजनकारी रवैयाका साथ भुईमानिसहरु समक्ष अनुवाद भएको देशको चरित्र बदल्न माग गर्नेहरुलाई देश भँडुवाको आरोप लगाएर राष्ट्रवादी हुने ब्यस्ततामा छन् ।

राज्यमा लैंगिक समानताको माग गरिरहेका महिलाहरुलाई फर्मान गरिरहेछन्, आमाहरुका नाममा नागरिकता दिए यो देश टुक्रिन्छ, बेचिन्छ र धरापमा पर्छ राष्ट्रियता ।

ओलीहरुलाई मै देश हुँ, मै राष्ट्रियता हुँ, मै अमरसिंह हुँ, मै बलभद्र हुँ, मै लुई चौधौं हुँ भन्ने भ्रमको च्यादरले न्यानो दिएजस्तो छ, जस्तो कि कवि उपेन्द्र सुब्बाको एउटा जोडदार कवितामा एउटा शासक ढुंगालाई यस्तो भ्रम छ-

जस्तो, चुलीको ढुंगा एउटा शासक
यो अहम् गर्छ कि
म एक्लैले सिंगो पहाड बोकेको छु
म एक्लैले भीर खस्न रोकेको छु ।
(ढुंगाको यात्रा)

को राष्ट्रवादी को राष्ट्रघाती ?

म सोचीबस्छु, साँच्चै यो देशमा राष्ट्रवादी को हो ? सत्तामा पुगेर तर मारेर, जीवन उजिल्याउनेहरु कि रोग, भोक, अभाव, भेदभाव भोगेर, सिटामोलसमेत राज्यबाट नपाएर पनि देशभित्र उभिएको मानिस ?

अरबको धूपमा बालुवा चालेर रेमिट्यान्स पठाउने हरितन्नम कि तिनको जीवनलाई नरक कोठरीको यात्रा बनाउन युगौंदेखि सत्ताको चावी मुठ्याएर बसेका सुकिला मुकिलाहरु ? टाउकोमा नाम्लोको डाम बसाएर खलखली पसिना बगाउँदै भारी बोक्ने भरिया कि तिनलाई चुसेर मोटाएका जाली जिम्वालहरु ? गरिखाने भुइका मानिसहरु कि तिनको पसिना र मेहनत चुसेर राज्य कोषबाट करोडौं रकम लिएर विदेशी अस्पताल शयर गर्ने वाक्पटुहरु ? को हो राष्ट्रवादी ? को हो देशभक्त ? के हो राष्ट्रवादी हुने मापदण्ड ? को हो राष्ट्रवादीको सर्टिफिकेट बाँड्दै हिँड्ने फित्तावाल ? र, को हो राष्ट्रघाती ?

यहाँका कति मानिसहरुको पुस्तौ चिहान खोतलेर हेर्ने हो भने अझै पनि भेटिएला तिनको मक्किएको हड्डीमा ब्यवस्थाले गरेको थिचोमिचो र अन्यायको क्रुर बुटछाप ।

सत्तामा बसेर यो देशको मन्दिर, बन्यजन्तु, जवाहरत र सम्पति विदेश पुर्‍याउने, यो देशलाई चुसेर खोस्टा बनाउने को हो ? दूर मधेसको मुसहर ? चमार ? डुम ? पासवान ? दनुवार ? कि सत्तामा बस्ने शाह, राणा, थापा, कोइराला, दाहाल, नेपाल, भट्टराई, चन्द, खनाल, ओलीहरु ?

को होे राष्ट्रघाती ? गरिब जनताले तिरेको करको रकममा क्रुर भ्रष्टाचार गरेर जीवन सुधार्नेहरु कि सीमामा बसेर एसएसबीको लाती, लाठी र अपमानको भुक्तमान ब्यहोरेर बदलामा राज्यबाट सहानुभूति पनि नपाउने मधेसको भूमिपुत्र ?

यो देशलाई यस्तो जीर्ण, हरितन्नम, मगन्ते बनाउने को हो ? महाराजको पदवी भिरेर शताब्दीऔंदेखि देशलाई लुटिखानेहरु कि त्यो लुटको पिराहा बुटको पीडादायी कुल्चाई बेहोरेर बाँचेको सुदुर पहाडको सोझो लिम्बू ? को हो राष्ट्रघाती ? देश लुटेर, मानिसहरुका बीच विभेद कायम गरेर आफ्नो दुनो सोझ्याउनेहरु कि राज्यको विभेदकारी नीतिबिरुद्ध आवाज उठाउने, राज्यले सबै मानिसहरुलाई, जातजाति, धर्मालम्बीहरुलाई समान ब्यावहर गर्नुपर्छ भन्नेहरु ?

को हो अमरसिंह थापाको सन्तान ? र, को हो बलभद्र कुँवरहरुलाई अपमानित बनाउँदै पञ्जाबको फौजमा भर्ती हुन पठाउनेहरु ? को हुन् ‘अमरसिंह थापा’का लाखौंलाख ‘दरसन्तान’हरुलाई अरबको खाडीदेखि फोकल्याण्डको टापुसम्म पठाएर, आफ्नो देशको नागरिक विदेशीलाई बेचेर त्यसबापत आएको हण्डी खाएर मोटाउनेहरु ? के तिनै हुन् राष्ट्रवादी ?

नागरिकहरु देशको सीमा बढाउन ज्यानको बाजी राखेर लड्न हिँडेका बेला दरबारमा बसेर भेडा, कुखुरा, साँढे जुधाएर रामरमिता हेरेर बस्ने रणबहादुर शाहको भूतले ओलीहरुलाई समाएजस्तो छ । बाहिर भलाद्मी मुहार देखाएर दरबारभित्रको काला कोठाहरुमा बसेर बाघका छालादेखि हात्तिका दाह्रासम्म विदेशमा बेचीखानेहरुलाई राष्ट्रवादी देख्ने ओलीहरुले तर्तरी पसिना बगाएर पनि दुई छाक खान नपाउने, सिटामोलका मुख नदेख्नेहरुलाई राष्ट्रघाती देख्न थालेका छन् ।

ओली कमरेड ! रणबहादुरको उरन्ठेउलो भूत मन्साउनोस् मनबाट । जनताको अधिकारमा बुट बर्साएर राष्ट्रवादी बन्ने महेन्द्रको पीत भूत उतार्नोस् ज्यानबाट

राजा/महाराजाहरुलाई राष्ट्रवादी देख्ने ओलीहरुले असमानता र विभेदको राज्य प्रवर्द्धित परिपाटी फेरी माग्ने जनजातिहरुलाई राष्ट्रघाती भन्न थालेका छन् । नागरिक समानता र स्वतन्त्रताको गीत गाएवापत यज्ञबहादुर थापाहरुलाई अराष्ट्रिय तत्व भनेर गोली ठोक्नेहरुलाई राष्ट्रवादी मान्ने ओली कमरेडहरुलाई यो देशको माटोमा उभिएर समानता र समावेशिताको माग गर्ने दलित, जनजाति, महिला, मधेसीहरु देशद्रोही लाग्ने नै भयो ।

र, अन्त्यमा

माननीय ओलीको पार्टीमा उनलाई रुवाण्डाको सत्यता बताइदिने मान्छे नभएको हो भने राज्यले टिकट काटेर उनलाई रुवाण्डा पठाइदेओस् । रुवाण्डामा कसले मच्चायो जातीय नरसंहार ? एकात्मक राज्य ब्यवस्थाका पक्षधरहरुले कि समावेशी राज्यको माग गर्ने अल्पसंख्यकहरुले ? किन भयो जातीय नरसंहार ?

जातीय विभेद हटाउँदै राज्यलाई सर्वसमावेशी बनाउँदै अल्पसंख्यकहरुलाई पहिचान दिइएकाले कि त्यो अधिकार माग्नेहरुको गला रेट्ने धन्दा चलाउँदै एकात्मक जातीय अहंकारवादी सत्ताको बचाउ गर्ने खुनी रहरले ?

ओली कमरेड ! रणबहादुरको उरन्ठेउलो भूत मन्साउनोस् मनबाट । जनताको अधिकारमा बुट बर्साएर राष्ट्रवादी बन्ने महेन्द्रको पीत भूत उतार्नोस् ज्यानबाट । जनताको अधिकार सत्ताको बुटमुनि च्यापेर, सिंहदरबारलाई देश मानेर, आफ्नो सुखसुयलको स्वर्गलाई देश मानेर राष्ट्रियता बलियो हुँदैन ।

देश अधिकार माग्ने नागरिकलाई सत्तोसराप गरेर बलियो हुँदैन । नागरिकलाई अधिकार सम्पन्न बनाएर, सिंहदरबारको टायलमुनि च्यापिएर बसेको अधिकारलाई जनतासम्म पुर्‍याउन सके मात्र देश बलियो हुन्छ । निरीह नागरिकहरुमाथि रजाइँ गरेर राष्ट्रवादी बनिन्न । जनद्रोही बनिन्छ । चेतना भया ।

(पत्रकार देवकोटाको यो व्यक्तिगत विचार हो )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?