इन्टरपोलको रेड कर्नर नोटिसमा नेपालले जारी गरेका १८ र विदेशबाट जारी ८० नेपालीको नाम छ ।
२३ चैत, काठमाडौं । अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलको वेबसाइटमा नेपालले फोटोविनै एक व्यक्तिलाई फरारको सुचिमा राखेको छ ।

सन् २००८ बाटै फरार सुचिमा राखिएका ती व्यक्तिको नाम जगदीश चन्द हो । बैतडी आसकोटका ४९ वर्षीय चन्द नेपाल प्रहरीका डीएसपीसमेत हुन् ।
हत्याको अभियोग लागेर फरार भएको भन्दै चन्दविरुद्ध रेड कर्नर नोटिस जारी गरिएको हो । सञ्चार उद्यमी जमिम शाहको हत्यामा संलग्न रहेको भेटिएपछि फरार भएका चन्दलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन ।
चन्दसँगै अर्को पनि फोटो नभएकै व्यक्तिमाथि पनि रेड कर्नर नोटिस जारी भएको छ । काठमाण्डौंका भुपेन्द्र खडकामाथि ठगीको आरोप लागेको छ । खड्का अहिलेसम्म फरार छन् ।
यी केही पात्र मात्रै हुन्, जसलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी भएको छ । चन्द र खड्कासँगै त्यस्ता थुपै्र नेपालीहरु जसलाई विभिन्न अपराध गरेर फरार भएको भन्दै विभिन्न देशमा रेड कर्नर नोटिस जारी गरिएको छ ।
नोटिसमा
दुबईबाट १३ जना, कतारबाट २० जना, इटलीबाट १ जना, साउदी अरबबाट ३ जना, बहराइनबाट १ जना र अमेरिकाबाट ४ जना नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ
नेपालबाट मात्रै हाल १८ जना नेपाली नागरिकमाथि विभिन्न अभियोगमा रेड कर्नर नोटिस जारी भएको छ । नेपालबाट रेड कर्नर नोटिस जारी भएका प्रायःजसो माथि हत्या, अपहरण, लुटपाट र ठगीको अभियोग लागेको छ ।
त्यसो त अन्य देशहरुले पनि थुप्रै नेपालीमाथि विभिन्न अपराध गरेर फरार भएको भन्दै आ-आफ्नो देशमा रेड कर्नर नोटिस जारी गरेका छन् । अहिले करिब ८० जना नेपालीमाथि विभिन्न देशबाट रेड कर्नर नोटस जारी भएको छ ।
भारतबाट सबै भन्दा धेरै नेपालीमाथि रेड कर्नर नोटिस जारी भएको छ । त्यहाँ २५ जना नेपालीहरुले अपराध गरेर फरार भएको भन्दै भारतले नोटिस जारी गरेको हो ।
त्यस्तै दुबईबाट १३ जना, कतारबाट २० जना, इटलीबाट १ जना, साउदी अरबबाट ३ जना, बहराइनबाट १ जना र अमेरिकाबाट ४ जना नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको छ । त्यस्तै बेलारुसबाट पनि १ जना नेपालीमाथि नोटिस जारी भएको छ ।
विदेशमा प्रायजसो नेपालीमाथि हत्या, लुटपाट र ठगीको अभियोग लागेको छ । भारतबाट भने केही नेपाली महिलालाई पनि रेड कर्नर नोटिसमा राखिएको छ ।
विदेशीमाथि रेड कर्नर नोटिस
५५ वर्षीय अमेरिकन नागरिक बेकर इनको फोटो राखेर इन्टरपोलले रेड नोटिस जारी गरेको ६ वर्ष बितिसकेको छ
विदेशमा अपराध गरेर नेपालमा आएका वा नेपालमै अपराध गरी फरार भएका केही विदेशी नागरिकहरु माथि पनि नेपालले रेड कर्नर नोटिस जारी गरेको छ ।
भारतको राजस्थानका हल्दिया राहुलको कुनै फोटो त उपलब्ध छैन, तर उनी ठगी गरेर फरार भएपछि नेपालले उनको नाम रेड कर्नर नोटिसमा चढाएको छ ।
त्यस्तै ५५ वर्षीय अमेरिकन नागरिक बेकर इनको फोटो राखेर इन्टरपोलले रेड नोटिस जारी गरेको ६ वर्ष बितिसकेको छ । नेपालमा अवैधरुपमा वन्यजन्तुबाट बनेका सामान विक्री गरेको अभियोग बेकरमाथि लागेको छ ।
कुनै पनि देशमा अपराध गरेर प्रमाणित भएको तर फरार रहेका व्यक्तिहरुमाथि यसरी रेड कर्नर नोटिस जारी गर्ने गरिएको छ ।
कस्ता कस्ता नोटिस जारी हुन्छन् ?
अदालता मुद्दा विचाराधीन भएका बेला कुनै अभियोगको अभियुक्त फरार छ भने उसलाई डिफ्युजन नोटिस जारी गरिन्छ
इन्टरपोलले रेड कर्नर नोटिस बाहेक अन्य विभिन्न नोटिसहरु पनि जारी गर्ने गरेको छ । इन्टरपोलले जारी गर्ने रेड कर्नर नोटिसबाहेक डिफ्युजन नोटिस अर्को महत्वपूर्ण नोटिस हो ।
अदालता मुद्दा विचाराधीन भएका बेला कुनै अभियोगको अभियुक्त फरार छ भने उसलाई डिफ्युजन नोटिस जारी गरिन्छ ।
कुनै पनि व्यक्तिको शवको सनाखत हुन सकेन भने इन्टरपोल मार्फत ब्ल्याक नोटिस जारी हुन्छ ।
हराएको व्यक्ति खोजीका लागि पहेंलो अर्थात एल्लो नोटिस जारी हुन्छ ।
एक देशको अपराधीले अर्को देशमा गर्ने अपराधलाई ट्रान्स न्याशनल अपराध भनिन्छ । पछिल्लो समय यस्ता अपराध गर्ने अपराधीहरुको सक्रियता बढिरहेको छ । त्यस्ता अपराधीलाई पक्राउ गर्न इन्टरपोल निकै सशक्त प्रहरी संगठन भएको बताउँछन् नेपाल प्रहरीका अधिकारी कमलसिंह बम ।
अपराधीको दायरा फराकिलो हुन नदिन नै इन्टरपोलको स्थापना भएको उनको भनाइ छ ।
के हो इन्टरपोल ?
नेपालमा प्रहरी प्रधान कार्यालयमा इन्टरपोलको समेत कार्यालय छ । यसलाई अपराध अनुसन्धान विभागको मातहतमा राखिएको छ ।
जब विश्वका अपराधीहरुको सञ्जाल विस्तार हुँदै गयो, र कुनै अपराधी एउटा देशमा अपराध गरेर अर्को देशमा फरार हुन थाल्यो, त्यसपछि केही देशहरुले त्यस्ता अपराध र अपराधी विरुद्ध संयुक्त अभियान चलाउने योजना बनाए । त्यसैको फल स्वरुप इन्टरपोलको जन्म भएको हो ।
सन् १९१४ मा स्थापना भएको इन्टरपोलमा सुरुमा २४ वटा देशहरु थिए । यसलाई इन्टरपोलको नामले सन् १९२३ देखि सम्बोधन गर्न थालिएको हो ।
कसैले अपराध गरेपछि जहाँ पुगे पनि कार्वाहीको दायरामा ल्याउनका लागि इन्टरपोलले आफनो दायरा फराकिलो बनाइरहेको छ
फ्रान्समा मुख्यालय रहेको इन्टरपोलको स्थापनाको सुरुवामा प्रहरी अधिकारी र न्यायालयले संयुक्तरुपमा काम गर्ने भनिएको थियो । त्यसमा अपराध नियन्त्रणका लागि संयुक्तरुपमा काम गर्ने, र त्यसका लागि एउटा देशमा अपराध गरेर फरार व्यक्तिलाई पक्राउ गरिदिने प्रावधान छ ।
त्यसैगरी अपराधीको पहिचान गर्ने, प्रविधि तथा अपराधीको तथ्यांक एकिकृत गर्ने भनिएको थियो । त्यसका लागि ती देशहरुले अपराध र अपराधी विरुद्ध संयुक्तरुपमा काम गर्ने विभिन्न १२ बुँदे प्रतिवद्धता व्यक्त गरेका थिए ।
अपराध र अपराधी विरुद्ध १०० वर्ष अगाडि सुरु भएको संयुक्त अभियानमा अहिले १९० राष्ट्रहरु सहभागी भैसकेका छन् । यही अभियानमा नेपालले पनि जापानमा भएको ३७ औं महासभाबाट इन्टरपोलको सदस्यता लिएको हो ।
कसैले अपराध गरेपछि जहाँ पुगे पनि कार्वाहीको दायरामा ल्याउनका लागि इन्टरपोलले आफनो दायरा फराकिलो बनाइरहेको छ ।
कुनै पनि देशमा अपराध गरेको प्रमाणित भएर फरार छ भने अपराधीको विस्तृत विवरण इन्टरपोलमार्फत सार्वजनिक गरिन्छ र उक्त व्यक्तिलाई इन्टरपोलको सदस्य भएको जुनसुकै देशले पनि पक्राउ गर्न सक्ने छ ।
अपराधको वर्गीकरण
निकै प्रविधियुक्त बन्दै गएको इन्टरपोल सबै भन्दा ठुलो अन्तराष्ट्रिय प्रहरी संगठन पनि हो । यसले आफनो वेबसाइटमा अपराधको क्षेत्रहरु समेत तोकेको छ । इन्टरपोलले भ्रष्टाचार र भ्रष्टाचारीलाई अपराधीको पहिलो सुचिमा राखेको छ ।
त्यस्तै वालवालिका माथि हुने अपराधकलाई पनि इन्टरपोलको कार्यक्षेत्रमा राखेको छ । साइवर अपराध र लागुऔषध कारोवारी पनि विश्वका चुनौतिपूर्ण अपराधी बन्दै गएका छन् ।
वातावरणीय अपराध इन्टरपोलले हेर्ने अर्को महत्वपूर्ण क्षेत्र हो । आर्थिक अपराध, विष्फोटक पदार्थ तथा पड्काउने हतियारको अवैध कारोबारी, संगठित अपराध, औषधिजन्य वस्तुको पनि अवैध ओसापोसार, आतंकवाद, मानववेचविखन,फरार अपराधी, सवारी साधनको चोरी तथा तस्करी, युद्ध अपराध लगायतलाई इन्टरपोलले आफनो कार्य क्षेत्रमा राखेको छ । इन्टरपोलको सदस्य राष्ट्र भएका प्राय सबै देशका प्रहरीले इन्टरपोलको कार्यालय राखेको छ । अपराध र अपराधीविरुद्ध सशक्तरुपमा लाग्ने इन्टरपोलका सदस्य राष्ट्रहरुको प्रतिवद्धता छ ।
रमेश धमलाबाट
प्रतिक्रिया 4