बी.बी. गिरी
८ वैशाख, जाजरकोट । एक महिनादेखि जाजरकोटमा फैलिएको मौसमी फ्लुको महामारीबाट मंगलबार विहान थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पजारु गाविस ५ का ६६ वर्षीय परिमल सार्की र रामीडाँडा गाविस ७ का ६५ वर्षीय लालबीर नेपाली छन् ।
लालबीरको उपचारको क्रममा मृत्यु भएको रामीडाँडा स्वास्थ्य चौकीका इन्चार्ज बिष्णु ज्योतीले जानकारी दिए । उनका घरका अन्य सदस्य समेत बिरामी परेका छन् ।
त्यस्तै सार्कीको उपचारको अभावमा मृत्यु भएको पजारु गाविसका पूर्व अध्यक्ष लालबहादुर महताराले जानकारी दिए ।
सरकारले जाजरकोट महामारी नियन्त्रण आउन थालेको दाबी गरे पनि प्रकोप फैलने र मृत्यु हुने क्रम भने अझै रोकिएको छैन । महामारी नियन्त्रणको लागि मंगलबार पनि जिल्लाका बिभिन्न स्थानमा औषधि र स्वास्थ्यकर्मी पठाउने काम जारी छ । तर प्रकोप फैलने क्रम पुरानो ठाउँमा कम भए पनि नयाँ ठाउँमा देखा पर्न थालेको छ ।
पहिले नै स्वास्थ्यकर्मी र औषधिको ब्यवस्था नगर्दा प्रकोप बढ्न थालेको गाउँ रामीडाँडा स्वास्थ्यचौकीका इन्चार्ज ज्योतिले बताए ।