+
+
Shares

लिपुलेकमा लड्दा भारतले ‘भिसा खोसेका’ नेता

लिपुलेक के हो ? लिपुलेकको वास्तविकता के हो ? भारत र चीनले नेपालको लिपुलेक उपयोग गर्ने सम्झौता कसरी गरे ? अहिले यी केही विषयमा त्यहाँको वास्तविकता बुझ्न जरुरी छ । म दार्चुला जिल्लाबाट प्रत्यक्ष निर्वाचित एकमात्र जनप्रतिनिधि हुँद । लिपुलेक भन्ज्याङ दार्चुला जिल्लाको उत्तर पश्चिमी अन्तिम सिमाना हो । त्यो हिउँ परिरहने निकै उचाइको भूभाग हो । त्यहाँबाट उत्तरतिर तल झरेपछि तिब्बतको ताक्लोकोट पुगिन्छ । दक्षिणतिर झरेपछि भारतको कुटी, गुन्जी, नाबी लगायतका गाउँ पुगिन्छ । यता नेपालपट्टि हाम्रो अन्तिम मानव वस्ति टिंकर गाउँ हो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १ गते १६:०५

गणेशसिंह ठगुन्ना, सभासद दार्चुला

लिपुलेक के हो ? लिपुलेकको वास्तविकता के हो ? भारत र चीनले नेपालको लिपुलेक उपयोग गर्ने सम्झौता कसरी गरे ? अहिले यी केही विषयमा त्यहाँको वास्तविकता बुझ्न जरुरी छ । म दार्चुला जिल्लाबाट प्रत्यक्ष निर्वाचित एकमात्र जनप्रतिनिधि हुँद । लिपुलेक भन्ज्याङ दार्चुला जिल्लाको उत्तर पश्चिमी अन्तिम सिमाना हो । त्यो हिउँ परिरहने निकै उचाइको भूभाग हो । त्यहाँबाट उत्तरतिर तल झरेपछि तिब्बतको ताक्लोकोट पुगिन्छ । दक्षिणतिर झरेपछि भारतको कुटी, गुन्जी, नाबी लगायतका गाउँ पुगिन्छ । यता नेपालपट्टि हाम्रो अन्तिम मानव वस्ति टिंकर गाउँ हो ।

Lipulekh-Pass

भारतले कसरी कब्जा गर्‍यो ?

लिपु लेक निकै ठूलो भन्ज्याङ हो । त्यहाँ तिब्बत पास गर्ने धेरैओटा नाका छन् । अहिले पनि लिपुलेकबाट दुईओटा नाका सन्चालनमा छन् । एउटा हामी नेपालीले तिब्बततिर जाने गरेको नाका । अर्को भारतले सन् १९६२ देखि कालापानीसँगै कब्जा गरेको भन्ज्याङ नाका । ५३ वर्षअघिसम्म कालापानी र लिपुलेक नेपालको अधिनमा थिए । सन् १९६२ को भारत चीन युद्धको बेला भारतीय फौजले चीनतर्फ अघि बढ्ने सजिलो नाका पाएन । चीनिया फौज सजिलै तल झर्ने र तर भारतीय फौजले नसक्ने भएपछि उनीहरुले जबर्जस्ति कालापानी कब्जा गरे ।

उनीहरुले महाकाली नदी भन्दा वारी नेपालतिरकै एउटा खोल्सोलाई यहि हो महाकाली भन्दै आफूखुसी सिमाना तोकेर हाम्रो कालापानी र लिपुलेक कब्जा गरे । खासमा महाकाली नदीको शीर लिम्पियाधूराबाट आउने कुटी नदी हो । तर भारतले आफूखुसी खोल्सोलाई महाकाली भन्यो, जुन आज पर्यन्त विवादमा छ । विवादित भूमी भनेर भारतले पनि स्वीकार गरेको छ र दुवै देशका संयुक्त टोलीले कालापानी र लिपुलेकका सन्दर्भमा काम गरिरहेका छन् ।

अस्वीकार्य सम्झौता

लिपुलेक र कालापानी नेपालको भूभाग हुन्, हामीसँग प्रमाणित तथ्य र प्रमाणहरु छन् । सरकारले यसबारेमा चीन र भारत दुवै पक्षसँग राम्रोसँग कुरा गर्नुपर्छ

लिपुलेकको एउटा भन्ज्याङ भारततले जबर्जस्ति कब्जा गरेको छ, त्यसैको सन्दर्भमा चीन र भारतबीच सम्झौता भएको हो । अर्काको जमिन कब्जा गर्ने र तेस्रो पक्षले सम्झौता गर्ने कुरा अन्तर्राष्ट्रि सन्धी सम्झौता विपरित हो । यो कुरा त कुनै हालतमा हामीले स्वीकार गर्नैै हुदैन ।

नेपालले भोग चलन गरेको नाकामा हाम्रो पुलिस चौकी र भन्सार छ । त्यो ठाउँलाई टिंकर चेकपोष्ट भन्छ । लिपुलेक वास्तवमा एउटा ठूलो नेपाली भन्ज्याङ हो । नेपालको आवागमन चलिरहेका, भारतले चीनसँगको युद्धको बेलामा चीनतिर जान कुनै पास भएन, उनीहरुसँग जटिल भूभागका डाँडा भए, चीनीया सजिलै आउने, तर इण्डियन फौजलाई ठाउँ नभएकाले कालापानी कब्जा गरेपछि उनीहरुले लिपुलेक पास खोले । त्यो भन्दा उनीहरुसँग लिपुलेक थिएन ।

भारतले भिसा दिएन

लिपुलेक र कालापानी नेपालको भूभाग हुन् । त्यसमा हामीसँग प्रमाणित तथ्य र प्रमाणहरु छन् । सरकारले यसबारेमा चीन र भारत दुवै पक्षसँग राम्रोसँग कुरा गर्नुपर्छ । संसद नचलेकाले हामीले राम्रोसँग कुरा राख्न पाएका छैनौं । तर मैले त लिपुलेक र कालापानीको मुद्दा राजनीतिक जीवनको शुरुदेखिनै उठाएको छ । म दार्चुला जिल्ला विकास समितिको सभापति भएको बेला २०५५ सालमा हामीले दुई पटक कालापानीमा मार्चपासनै गरेका हौं । भारतले मलाई कालोसूचीमा राखेर भारतीय भूमीमा प्रवेश निषेध गरेको थियो ।

सभापति भएको बेला काठमाडौं वा अन्यत्र जानुपर्दा दार्चुलामा सडक नभएकाले हामी महाकाली पारी भारतको धार्चुला हुँदै गाडी चढेर आउथ्यौं । तर मैले कालापानी र लिपुलेकको मुद्दा उठाएपछि भारतले मलाई प्रवेश अनुमति (एक प्रकारले भिसा) दिएन । मलाई सिमा फौजले’आपके लिए भारतका सिमाना बन्द है’ भन्दै फर्काएपछि धेरै वर्ष म उता जान पाइन । त्यसपछि म डेढ दुई दिनको बाटो हिडेर बैतडी हुँदै आउथे । मलाई एकपटक कालापानीमा भारतीय सेनाले बन्दूक सोझ्याएर अघि बढ्लास भन्दै रोकेको समेत थियो ।

मेरो माटोको लागि मर्छु

गणेश सिंह ठगुन्ना
गणेशसिंह ठगुन्ना

मैले महाकाली नदीको सिमाना लिम्पियाधूराबाट आउने कुटी नदीनै हो भनेर आवाज उठाइरहेँ । मैले मेरो लिपुलेक र मेरो कालापानी छाड भनेर नांगो हात जाँदा भारतीय फैजले पटक पटक यातना दिए । अहिले पनि म मेरो माटोको लागि लडिरहन्छु । भारत र चीनको सम्झौता के हो त्यो उनीहरुलेनै जानुन् तर उनीहरुको कलमको टुँडोले मेरो मुटु रोपिएको महशुस भएको छ ।

आफ्नो माटोमा विदेशीका बुट बज्रिँदा कति पीडा हुन्छ भन्ने  त भोग्नेलाई मात्र थाहा हुन्छ । त्यो भोगाई मैले व्यक्तिगत रुपमा भोगेको छु । मेरा दार्चुले जनताले भोगेका छन् । टिंकरका ती आदिवासी भूमीपुत्रहरुले भोगेका छन् । हामी हाम्रो माटोको रक्षाका लागि फेरि एकपटक लड्न तयार छौं । सरकारले हामीलाई अनुमति देओस ।

दुई देश, कानुन एक

लिपुलेक एरियामा मानव बसोबास छैन । करीव १५ किलोमिटर तल भारत र नेपाल दुवैतिर आदिवासी बस्ति छ । नेपालको टिंकरमा ब्याँसी सौका समुदायका आदिवासी जनजाति बस्छन् । उता भारतको कुटी, गुन्जी,नाबीमा पनि यहि समुदायका मान्छे बस्छन् । भारतको भूभागमा पनि नेपाली मूलकै जनजाति बस्ने हुन् । उनीहरु लिपुलेक नेपालकै हो भन्छन् । दुवैतर्फका जनताको भाषा, भेष, संस्कृति, सामाजिक प्रचलन एउटै छ । त्यहाँका जनताले दुवै देशका कानुन भन्दा पनि आफ्नै प्रथाजन्य कानुन मान्छन् ।

दुवैतिरका ब्याँसी सौका समुदायले पन्चायत प्रणालीबाट समाज चलाउछन् । एकजा सरपन्चले निर्णय गरेपछि दुवैतिरका जनतालाई त्यो मान्य हुन्छ । सरकारी सुबिधाका लागि कानुन मान्ने बाहेक अरु कुनै पनि कानुन उनीहरुका आफ्नै छन् । यी नेपाली आदिवासीहरु हुन् । हामीले नालापानी युद्ध हारेपछि दुई अढाई सय वर्षअघि महाकालीले सिमाना छुट्याए पनि अहिलेसम्म लिपुलेक क्षेत्रका जनता नेपाली आदिवासी संस्कृतिनै मान्छन् । उनीहरुले आफूहरु अलग देशको सोचेका छैनन्, नेपालीनै सोच्छन् ।

(अनलाइनखबरका मात्रिका पाैडेलसँग गरिएको कुराकानीमा अाधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?