Comments Add Comment

‘नाई नभन्नु ल ४’ मा पल, रेखादेखि सुनिलको चलचित्रमा नयाँ नायक

paul-aavash-susil-and-aarya

नेपाली चलचित्रमा नयाँ अनुहारको आगमन भएतापनि यसले खासै सुखद प्रतिफल दिन सकेको छैन । संघर्ष नगरि विभिन्न तबरबाट धेरै अनुहारहरु नायक बन्ने होडमा लाग्दा त्यसले चलचित्र क्षेत्रलाई भने केही दिन सकेको छैन ।

तर, नेपालका केही चर्चित ब्यानरले आफ्नो चलचित्रमा नयाँ अनुहारलाई डेब्यू गराउँदै गर्दा अब भने केही आशाहरु पलाउन थालेका छन् । निर्देशक तथा निर्माता विकास आचार्यले आफ्नो चलचित्र ‘नाई नभन्नु ल ४’का लागि नयाँ अनुहार भित्राउने भएका छन् । थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेर चर्चामा रहेका मोडल पल शाहले यो चलचित्रबाट रजतपटमा डेब्यू गर्दैछन् । पलले बाल-कलाकार अनुभव रेग्मीसँग पर्दा शेयर गर्नेछन् । उनका लागि जोडीको खोजी भैरहेको छ । म्यूजिक भिडियोमा रुचाइएका पलको चलचित्र क्षेत्र आगमन सुखद मान्न सकिन्छ ।

भाद्र ४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘होस्टेल रिटन्र्स’मा निर्माता सुनिल रावलले नयाँ अनुहारका रुपमा सुशिल श्रेष्ठलाई भित्राएका छन् । सुशिल आएसँगै अहिले उनको तुलना अनमोल केसीसँग हुन थालेको छ । अनमोललाई पनि सुनिलले ‘होस्टेल’बाट यो क्षेत्रमा भित्राएका थिए । सुशिललाई लिएर अहिले चलचित्र क्षेत्रमा राम्रै चर्चा कायम छ ।

नायिका रेखा थापाले चलचित्र ‘रामप्यारी’बाट आफ्नै दिदीका छोरा आभाष अधिकारीलाई यो क्षेत्रमा भित्राउँदैछिन् । रेखाकोे चलचित्रले खुबै चर्चा पाउने भएकाले पनि आभाषका लागि यो फाइदाजनक हुनेछ । फेरि, आभाषले चलचित्रमा आफ्नो दमदार काम देखाउन सकेको खण्डमा यसले उनलाई मात्र फाइदा पुग्नेछैन, खडेरी लाग्दै  गएको नायकको अभावबाट चलचित्र क्षेत्रलाई केही मात्र भएपनि सहयोग पुग्नेछ ।

निर्देशक आकाश अधिकारीले पनि यसैबर्ष निर्माण गर्न लागेको नयाँ चलचित्र ‘के म तिम्रो होइन र’बाट आफ्नै भतिज आर्यन अधिकारीलाई यो क्षेत्रमा ल्याउँदैछन् । आर्यनले अहिले चलचित्रका लागि खुबै मिहिनेत गरिरहेका छन् । यसैले पनि आर्यनको आगमन नेपाली चलचित्रका लागि केही समयको चर्चा भन्दा लामो रेशको घोडा बन्नेमा विश्वास गर्न सकिन्छ ।

निर्माता छविराज ओझाले आफ्नो निर्माण हुन लागेको चलचित्र ‘किस्मत २’का लागि २ नयाँ नायक भित्राउन लागेका छन् । हुनत, छविले कलाकारको बारेमा अहिले नै कुनै कुरा बोलेका छैनन् । तर, छविको ब्यानरबाट भित्रने नायकहरु कमजोर हुँदैनन् भन्ने दर्शकलाई पनि विश्वास छ ।

निर्माता प्रदिप कुमार उदयले आफ्नो चलचित्र ‘अधकट्टी’बाट प्रदिप बाँस्तोलालाई यो क्षेत्रमा भित्राएका छन् । दशैमा प्रदर्शनमा आउन लागेको यो चलचित्रको च्यारेटी शो पनि भैसकेको छ । च्यारेटीमा चलचित्र हेरेका चलचित्रकर्मी र पत्रकारले प्रदिपको अभिनयको तारिफ गरेका थिए ।
नेपाली चलचित्रमा नयाँ नायकको आगमन यो बर्ष हुने देखिएको छ ।

हुनत, नयाँ नायकको आगमनले मात्र यो क्षेत्रलाई फाइदा पुग्ने भने होइन । तर, नेपालका चर्चित ब्यानरबाट यो क्षेत्रमा आउन लागेका कलाकारबाट ठूलै भरोसा राख्नु गलत होइन । आशा गरौ, नेपाली चलचित्रलाई यी कलाकारले नयाँ फड्कोमा लैजान मद्दत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment