२२ भदौ, काठमाडौं । मातृका यादव र उपेन्द्र यादव, महन्थ ठाकुरहरु सीमांकनको विरोधमा यतिबेला मधेसमा आन्दोलनरत छन् । तर, फरक-फरक मोर्चामा । आन्दोलनमा लागेका मधेसी दलहरुवीचमै आपसी बेमेल र भनाभन हुन थालेको छ ।
उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा छ भने मातृका यादव, अनिल झाहरुले संघीय मधेसी मोर्चा बनाएर आन्दोलन गरिरहेका छन् ।
उस्तै मागका लागि फरक मोर्चामा अन्तरगत मात्रिकाले सार्वजनिक रुपमै मधेसी मोर्चाका चार नेता आन्दोलनका नाममा जमिन्दार बन्न खोजेको आरोप लगाएका छन् ।
मधेसी मोर्चाका नेताहरु कसरी जमिनदार बन्ने अनलाइनखबरको प्रश्नमा यादवले भने-खानदानी जमिनदार त होइन उहाँहरु । तर, आफूलाई जमिनदार नै ठान्नुहुन्छ ।’
धेरैका दरबारमा धाएँ : मात्रिका
सुरुमा मात्रिका यादवले मधेसी मोर्चाका नेताहरुलाई संयुक्तरुपमा आन्दोलनको प्रस्ताव गरेका रहेछन् । तर, उपेन्द्र यादवले अरुलाई र अरुले उपेन्द्र यादवलाई देखाएर मात्रिकालाई मोर्चामा आउन दिएनन् ।
यसबारे मातृका भन्छन्, वामपन्थीदेखि मधेसवादीसम्मको दरबारमा गएँ । तर, हामीसँगै आयो भने आफ्नो जमिनदारी खोसिन्छ भनेर उपेन्द्रहरुले मानेनन् ।’
उनी अघि भन्छन्, हामीले पहाडिया जमिन्दारलाई लेखेटेर, केही मधेसीलाई जमिनदार बनाउन खोजेका होइनौं, समानता खोजेका हौं ।’
गच्छदारलाई पनि छोइछिटो
त्यसो त मधेसी मोर्चाका नेताहरुले मात्रिका यादवलाई मात्रै होइन, फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई पनि सँगै आन्दालनेमा लिएर हिँड्ने उदारता देखाएका छैनन् । सम्भवतः यही बहिस्करणका कारण गच्छदारले बेग्लै मोर्चा खडा गरेका हुन् ।
‘गच्छदारले पनि नयाँ मोर्चा बनाएका छन्, सहकार्य गर्नुहुन्छ भन्ने प्रश्नमा उपेन्द्र यादवले भने- अहिले सम्भव छैन ।’यादवले अघि भने- ‘गच्छदारजी मधेस तोड्ने पक्षमा हुनुहुन्छ, ठूला तीन दलको लात खाएर मात्र आन्दोलनमा आउनुभएको हो ।’
माओवादी नेता मातृकाले तीन दलका तीन नेता सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड श्रीपेचबिनाको राजा बन्न खोजेको बताए ।
‘प्रचण्ड पनि किन सुशील र ओलीहरुको पछि लाग्नुभो, म आश्चर्यमा परेको छु, यादवले भने । हिजो जनयुद्धमा सबैभन्दा बढी भूमिका खेलेका थारु र मगरहरुलाई प्रचण्डले अहिले अधिकार दिने बेलामा ‘देखाइदिएको’ उनको आरोप छ ।
बिखण्डनतिर लाने खोजेको आरोप
मधेसमा भइरहेको आन्दोलनबारे विश्लेषण गर्दै माओवादी नेता मातृकाले तीन दलले मधेसलाई विखण्डनतिर लैजाने खोजेको बताए ।
‘केही दलाल र जमिनदार त जहाँ पनि हुन्छन्, तर, मधेसका जनताले विखण्डन कहिल्यै चाहेका छैनन्’ यादवले भने-तर ठूला दलहरु पेलेर जाने पक्षमा देखिएका छन् । यसले विखण्डको खतरा निम्त्याउँछ ।’
मधेसका जनताले समान अधिकार खोजेको तर, ठूला दलका ठूला नेताहरु मधेसीहरु यो देशकै नागरिक नहुन् भन्ने चाहेको उनले बताए ।
प्रतिक्रिया 4