+

राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार र पुलिसले अंक बाँडे

२०७२ असोज  ४ गते १९:२७ २०७२ असोज ४ गते १९:२७
राष्ट्रिय लिग फुटबलमा थ्रीस्टार र पुलिसले अंक बाँडे

४ असोज, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा नेपाल पुलिसले थ्रीस्टार क्लबलार्इ बराबरीमा रोकेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा थ्रीस्टार र प्रहरीले २­२ गोलको बराबरीमा खेल्दै अंक बाँडेका हुन् ।

थ्रीस्टारले खेलको ३७ औँ मिनेटमा सागर थापाको गोलबाट पहिलो अग्रता लियो । यो धेरैवेर टिक्न सकेन । थापाले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै जुमानु राईले गोल गर्दै खेललाई एक–एक गोलको बराबरी ल्याए ।

पहिलो हाफ एक–एक गोलको बराबरीमा टुङ्गियो । दोस्रो हाफको ६९औं मिनेटमा थ्रीस्टारका खेलाडी सन्तोष साउखलले गोल गरे । यससँगै उनले लिगमा व्यक्तिगत ९७ गोल गर्दै नयाँ रेकर्ड कायम गरेका छन् ।

तर, थ्रीस्टारको अग्रता धेरै टिक्न सकेन । प्रहरीका योगेश श्रेष्ठले खेलको ८३औं मिनेटमा गोल थपेपछि थ्रीस्टारको लिगको शीर्ष स्थानमा उक्लने सपना चक्नाचुर हुन पुग्यो ।

थ्रीस्टारले १६ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ । प्रहरीको भने नौ अङ्क छ । नेपाल आर्मी १७ अङ्कका साथ लिगको पहिलो स्थानमा छ भने समान १७ अङ्क नै जोडेको मोफसलको झापा फुटबल क्लब दोस्रो स्थानमा छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय