३० असोज, काठमाडौं । सातौं राष्ट्रिय खेलकुद अन्तर्गत ४१ औं राष्ट्रिय एथलेटिक्सतर्फ म्याराथन (४२.१९५ किलोमिटर) को पुरुषमा भूमिराज राई र पुष्पा भण्डारी शनिबार पहिलो भएका छन् ।
नेपाल प्रहरी क्लबका भूमिले निर्धारित दूरी २ घण्टा ३१ मिनेट ०३ सेकेन्डमा पूरा गरे । शीर्ष तीन स्थानमा विभागीय टोलीकै वर्चश्व रह्यो । भूमिले ४० औं राष्ट्रिय एथलेटिक्सको म्याराथन उपाधि पनि जितेका थिए ।
महिलामा सशस्त्र प्रहरी बलको एपीएफका खीमबहादुर खत्री दोश्रो भए । उनले निर्धारित दूरी २ घण्टा ३८ मिनेट २४ सेकेन्डमा तय गरे । २ घण्टा ४० मिनेट ४७ सेकेन्ड समय निकालेका एपीएफकै दानबहादुर धामी तेश्रो स्थानमा रहे ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित म्याराथनको महिलामा पहिलो भएकी महिलामा एपीएफकी पुष्पाले दौड सकाउन ३ घण्टा ३२ मिनेट ५१ सेकेन्ड समय खर्चिन् ।
४० औं राष्ट्रिय एथलेटिक्सको म्याराथन विजेता एपीएफकै सोनुजया राईले ३ घण्टा ३३ मिनेट १३ सेकेन्डमा दूरी पार गर्दै दोश्रो स्थानमा सीमित भइन् । मध्यपश्चिमाञ्चलकी विष्णुमाया बुढा तेश्रो भइन् । उनले निर्धारित दूरी ३ घण्टा ५३ मिनेट ५३ सेकेन्डमा पूरा गरेकी थिइन् ।
उपाधि विजेता खेलाडी राष्ट्रिय कीर्तिमान नजिक पुग्न सकेनन् । पुरुषको कीर्तिमान वैकुण्ठ मानन्धरको नाममा छ । उनले १९८७ मा भारतको कोलकातामा सम्पन्न दक्षिण एसियाली खेलकुदमा २ घण्टा १५ मिनेट ०३ सेकेन्डमा दूरी पूरा गरेका थिए । उक्त कीर्तिमान हालसम्म पनि दक्षिण एसियाली खेलकुदको कीर्तिमानका रुपमा कायमै छ ।
त्यसैगरी महिलातर्फ विश्वरुपा खड्काको नाममा २ घन्टा ५७ मिनेट १० सेकेन्डको कीर्तिमान छ । विश्वरुपाले सन् २०१३ मा अमेरिकाको सिकागो म्याराथन त्यो कीर्तिमान बनाएकी थिइन् ।
विजेतालाई राखेप सदस्य-सचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र सह-सचिव चूढामणि पौडेललगायतले पुरस्कृत गरे । सचिव शर्माले सातौंमा राष्ट्रिय कीर्तिमान रच्ने खेलाडीलाई १ लाख नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए ।
म्याराथनको पुरुषमा १३ तथा महिला ७ प्रतिस्पर्धी सहभागी थिए । विराटनगरको कञ्चनबारीबाट सुरु भएको दौड दुहबी, खनार, इटहरी हुँदै त्यहाँबाट फर्केर पुनः कञ्चनबारी हुँदै विराटनगरस्थित शहिद रंगशालामा आएर सम्पन्न भएको थियो ।
प्रतिक्रिया 4