८ मंसिर, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले निर्धारित समयमा विमान उडाएर यात्रुको विश्वास जित्न नेपाल वायुसेवा निगम (नेवानि)लाई सुझाव दिएका छन् ।
मंगलबार नेवानिको केन्द्रीय कार्यालय भ्रमण गर्दै मन्त्री पोखरेलले विमानको उडान ढिलो भएमा वित्तीय घाटा समेत व्यहोर्नुपर्ने बताए । नेवानिका इञ्जिनियर, पाइलट लगायतका जिम्मेवार व्यक्तीहरुले लापारबाही गरिदिँदा जहाज समयमा उड्न पाउँदैन ।
‘निर्धारित समयमा उडान र कर्मचारीको मैत्रीपूर्ण व्यवहारले यात्रुको विश्वास जित्न सकिन्छ’ मन्त्री पोखरेलले भने- ‘यसो हुन सकेमा नेवानिको जहाज भरिएर उड्नुका साथै प्रतिष्ठा कमाउन समेत सफल हुनेछ ।’
मन्त्री पोखरेलले सम्पूर्ण कर्मचारीलाई नेवानिको हितमा आफ्नो क्षमता प्रभावकारी रुपमा उपयोग गर्न आग्रह गरे । नेवानिको बिजनेश बढाउने व्यवसायीक योजना तयार पार्न पनि उनले व्यवस्थापनलाई सुझाव दिए ।
‘संस्थालाई अगाडि बढाउन पहिले व्यावसायिक योजना तयार गर्नुपर्छ’ मन्त्री पोखरेलले भने- ‘त्यस्तो योजना नेवानिले प्रस्तुत गरेमा आवश्यक सहयोग गर्न सरकार पछि पर्ने छैन ।’ उनले निगममा आन्तरिक तथा अन्तर्राष्ट्रि उडानका लागि ४/४ वटा जहाज थप्ने योजना बनाएका छन् ।
भूपेरिवेष्ठित देशमा यातायातका लागि विमानजस्तो सहज विकल्प अरु हुन नसक्ने बताउँदै मन्त्री पोखरेलले भने- ‘यदि अहिले राष्ट्रिय ध्वजावाहकसँग पर्याप्त विमान भइदिएको भए यति धेरै कठिनाई पर्ने थिएन ।’
नेपाल वायुसेवा निगममा दक्ष जनशक्ति रहेको कुरासँग आफू अवगत रहेको बताउँदै मन्त्री पोखरेलले निष्ठापूर्वक आफ्नो दायित्व पूरा गरी नेवानिको कमाई बढाउनेतर्फ लाग्न निर्देशन दिए । संस्थाको कमाई बढेपछि मात्र अन्य सेवा सुविधाको दाबी गर्नुपर्ने उनको भनाई थियो ।
पर्यटन सचिव एवं निगम संचालक समितिका अध्यक्ष दिनेश कुमार थपलियाले जुन संस्थासँग जनताको बढी आशा र भरोसा जोडिएको हुन्छ, त्यसैको बढी चर्चा र आलोचना हुने बताए । नेपाल वायुसेवा निगमसँग आम जनताको प्रत्यक्ष सम्वन्ध भएकाले टीकाटिप्पणी हुनु स्वाभाविक भएको उनको भनाई थियो ।
नेवानिले उडान सँख्या र गन्तव्य बढाउने कामको थालनी गरिसकेको जानकारी गराउँदै सचिव थपलियाले चीनका विभिन्न गन्तव्यमा उडान बढाउन सके पर्याप्त मात्राका पर्यटक भित्राउन सकिने धारणा व्यक्त गरे ।
निगमका महाप्रवन्धक सुगत रत्न कंसाकारले २८ वर्षसम्म गति लिन नसकेको नेवानिले नयाँ विमानहरु सेवामा लगाई नयाँ आयाम सिर्जना गरेको बताए । उनले आगामी दिनमा वाइड वडी विमान खरीद गर्ने योजना रहेको मन्त्री पोखरेललाई जानकारी गराए ।
चारवटा विमानले ७ वटा गन्तव्यमा सेवा पुर्याइरहेकोमा निकट भविष्यमा ग्वञ्झाओ र दुवहीमा समेत सेवा विस्तार गर्ने प्रकृया अगाडि बढाएको महाप्रबन्धक कंसाकारले मन्त्री पोखरेललाई बताए ।
महाप्रबन्धक कंसाकारले बोइङ ७५७ ले कलकत्ताबाट हवाई इन्धन ल्याएर नेपाल आयल निगमलाई दिएको र सोही हवाई इन्धनबाट आन्तरिक उडानहरु सुचारु भएको जानकारी गराए ।
कार्यक्रममा संस्थागत विभागका निर्देशक रामहरि शर्माले नेपाल वायुसेवा निगमका सेवा र आगामी कार्यक्रमबारे प्रकाश पारेका थिए ।