२६ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीमा गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई फिर्ता बोलाउन माग भएको छ । गठवन्धन सरकार सामेल मन्त्रीहरुको काम उत्साहजनक नभएको एमाओवादीले समीक्षा गरेको छ ।
बस्नेतले भूकम्पपीडितको कोटामा पार्टी नेताका छोराछोरी र आफन्तलाई चीन भ्रमणमा पठाएपछि एमाओवादीको आकस्मिक स्थायी समितिको बैठक शनिबार विहान बसेको थियो ।
बैठकमा गृहमन्त्री बस्नेतको चर्को आलोचना भएको छ । स्रोतका अनुसार केही नेताले बस्नेतलाई फिर्ता बोलाउन माग गरेका छन् । स्थायी समिति सदस्य गोपाल किरातीले गृहमन्त्री बस्नेतको कदम जस्ता काण्डभन्दा कम नभएको भन्दै गृहमन्त्री बस्नेतलाई फिर्ता बोलाउन माग गरेका छन् ।
बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समेत यो कदमले सिंगो पार्टी र आफ्नो शीर निहुरिएको बताएका छन् । उनले पार्टीले मन्त्रीहरुलाई आवश्यक परे फिर्ता बोलाउन सक्ने पार्टीले यसअघि नै बताएको र अब प्रश्न उठ्न थालेको धारणा राखे ।
उनले यो घटनालाई इग्नोर गरेर अघि जान नसक्ने भन्दै पार्टीले निर्णय लिनु पर्ने बताएका छन् ।
स्रोतका अनुसार श्रेष्ठले सरकार सञ्चालनसम्वन्धी समितिमा नबस्ने समेत बताएका छन् । सरकारमा सहभागी पार्टी मन्त्रीहरुलाई समन्वय गर्न एमाओवादीले श्रेष्ठको नेतृत्वमा समिति बनाएको थियो ।
गृहमन्त्रीले भने- नैतिक जिम्मेवारी लिन्छु
बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले समेत चीन प्रकरणबारे आफू अनविज्ञ रहेको बताएका थिए । बैठकमा सबैले आलोचना गरपेछि गृहमन्त्री बस्नेतले यसको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।
भूकम्पपीडितका लागि आएको कोटामा एमाओवादी अध्यक्ष प्रचण्डकी नातिनीदेखि माओवादी नेताका साली र आफन्तहरु शुक्रबार चीन गएका छन् ।
सरकारको काम उत्साजनक भएन
एमाओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठवन्धन सरकारको समेत समीक्षा सुरु गरेको छ ।
उसले प्रारम्भिक समीक्षा गर्दै गठबन्धन सरकार र पार्टी मन्त्रीहरुको काम उत्साहजनक नभएको बताएको छ । र, प्रारम्भिक टिप्पणी भन्दै सरकारको काम आलोचनात्मक भएको बताएको हो ।
प्रतिक्रिया 4