+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘सिलिण्डर बोक्ने विद्वान’लाई केपी ओलीको चुनौती

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १२ गते १७:५९

Kp Oli

१२ माघ, काठमाडौं । फेसबुके र टि्वटेहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीको अलि बढी नै चित्त दुखेको रहेछ । मंगलबार बालुवाटारमा प्रधानमन्त्रीको कुरा सुनेपछि यस्तो चित्त दुखाइ सतहमा आएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पादकहरुसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल एवं मिडियामा आफू विरुद्ध आएका प्रतिक्रियाहरुलाई रौंचिरा केलाउने प्रयास गरे । ‘सिलिण्डर काँधमा बोकेर हिँड्ने परम्पराको रक्षा गर्न चाहने विद्वान’ हरुलाई चुनौती दिँदै प्रधानमन्त्री ओलीले काठमाडौंमा सिलिण्डर युग समाप्त गरेरै छाड्ने र चाँडै मेट्रो चलाएर देखाउने प्रतिवद्धता दोहोर्याए ।

प्रधानमन्त्री ओलीले पत्रकारहरुसँग चित्त दुखाउँदै भने- ‘काठमाडौंमा इलेक्टि्रक प्रविधि भित्र्याउने कुरा गर्दा यस ग्रहमा कतै नभएको कुरा बोलेजस्तो भो, धेरै विद्वानहरुले इलेक्ट्रिक बस चलाउने ? भने ।’

मेट्रो, चितुवा र स्वस्थानीकी सतीदेवी !

आफूले काठमाडौंमा मेट्रो रेल भित्र्याउने कुरा गर्दा गिज्याउनेहरुमाथि प्रधानमन्त्रीले आक्रोश पोखे । मेट्रोको योजनाबारे स्पष्टपार्दै प्रधानमन्त्री ओलीले भने-‘मैले भनें, काठमाडौंमा मेट्रो चलाउनुपर्छ, २५/३० लाख जनसंख्या भएको शहरमा मेट्रो चाहिन्छ, हामीले बैंककमा हेरेका छौं, दिल्लीमा हेर्यौं । मैले त्यही भनेको हो ।’

आफूले विकासको कुरा गर्दा गिज्याइएको गुनासो पोख्दै प्रधानमन्त्रीले भने-‘सहरमा चितुवा आयो भन्दा मेट्रो हेर्न आयो रे ! चितवनको खेतमा गैंडा पस्दा ग्यासको पाइप हेर्न आएको रे ! म त छक्कै परें !’

मेट्रोकै बारेमा थप टिप्पणी गर्दै प्रधानमन्त्रीले स्वस्थानी व्रत कथाको प्रशंग झिक्दै भने-‘अहिले स्वस्थानीको बेला छ, सतीदेवीले यसो पराल उघारेर हेर्दा शिवजीको ठूलो दरबार छ भनेजस्तो मैले पराल उघारेर हेर्नोस् मेट्रो देखिन्छ त भनेको होइन नि । मैले त बनाउने भनेको छु ।’

काठमाडौंमा अब छिटै मेट्रो चलाएरै देखाउने प्रधानमन्त्रीले प्रतिवद्धता जनाए । उनले भने-‘सकेसम्म छिटै प्रारम्भ गर्दैछौं । केही वर्षभित्र मेट्रो चल्छ, चलाउने नै हो । यो अपराधमा हामी जस्तोसुकै सजायँ भोग्न पनि तयार छौं, हामीले काम थालिसकेका छौं ।

सञ्चै छ ! बिजुली निकालेरै छाड्छु !

लोडसेडिङ अन्त्य गर्ने, हावाबाट बिजुली निकाल्ने अनि तातोपानीबाट बिजुली निकाल्ने कुरा गर्दा व्यंग्य गरिएको भन्दै प्रधानमन्त्री ओलीले चित्त दुखाए ।

आफूलाई उल्याउनेहरुप्रति दुखेसो पोख्दै प्रधानमन्त्रीले भने- ‘सम्भावित ठाउँमा हावाबाट बिजुली निकाल्ने भनेको त यो त हुँदैन भने, प्रधानमन्त्रीलाई सञ्चो छैन कि क्या हो भने ।’

आफूले तातोपानीबाट बिजुली निकाल्ने कुरा गर्दा पनि व्यंग्य गरिएको प्रधानमन्त्रीको गुनासो छ । तातोपानीबाट बिजुली निकाल्नेबारे प्रधानमन्त्री प्रष्ट पार्दै भने- ‘मैले कुरा-कुरामा भनें, तातोपानीबाट बिजुली निकालौं । तिब्बतमा ४० प्रतिशत त्यस्तै जियो थर्मलबाट बिजुली निकालेका छन् । त्यो गरेपछि त्यहाँ फाइभ स्टार होटल बनाइदिने अनि मान्छेहरु तातोपानीमा स्विमिङ गर्न पनि जान्छन् । यो कुन सा बेठीक भो ?’

जियो थर्मलको कुरा गर्नेक्रममा प्रधानमन्त्री ओलीले थपे- ‘म्याग्दीमा तातोपानी छ । दैलेखको श्रीस्थान भन्ने ठाउँमा पानी माथि सलाइ कोरेर लाइदिँदा आगो बल्छ । श्रीस्थान भनेको स्वस्थानीसँग जोडिएको छ । नेपालमा यस्ता धेरै छन् ।’

प्रधानमन्त्रीले भने- ‘नेपालमा कस्तो छ भने यस्ता नचाहिने कुरा गर्ने ? भन्छन् । तर, हल्लाका पछाडि लाग्न छाड्नुपर्छ । के गर्ने हो, निर्णय गर्नुपर्छ । यो जनताबाट आएको सरकार हो, संविधानले मागेको पहिलो सरकार हो, यसको विशेष जिम्मेवारी छ । मसँग खेर फाल्ने समय छैन ।’

प्रधानमन्त्रीले १०५ वर्षको अवधिमा ७७० मेघावाटमात्रै विद्युत उत्पादन हुनु चिप्लेकिराको गति भएको भन्दै आफूले अबको एक वर्षमा १०५ वर्षको भन्दा अलि बढी नै बिजुली उत्पादन गराएरै छाड्ने दाबी गरे । उनले भने- ‘मैले भनेको छु, बढीमा ३ महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकन सक्नोस्, दुईवर्षमा फेरि मूल्यांकन गरेर अगाडि बढ्न सकिँदैन ।’

‘ढुंग्री युग’ पछि सिलिण्डरको पालो

आफूले काठमाडौंको फोहोर व्यवस्थापन गर्ने र त्यसबाट खाना पकाउने ग्यास उत्पादन गर्ने कुरा गर्दा सिलिण्डर काँधमा बोकेर हिँड्ने विद्वानहरुले विरोध गरेको प्रधानमन्त्रीले दुखमनाउ गरे ।

फोहोरबाट घर घरमा ग्यास बाल्ने योजनाबारे प्रष्ट्याउने क्रममा प्रधानमन्त्री ओलीले भने-‘मैले फोहोर व्यवस्थापन पनि गर्ने र ग्यास पनि निकाल्ने कुरा गरेको हुँ । पहिले काँचो दाउरा ढुंग्रीले फुँ फुँ गर्ने जमाना थियो, त्यो गयो । त्यसपछि काँधमा सिलिण्डर बोकेर कुद्ने जमाना आयो । मैले भनें- तपाईहरुले दुख पाउनुभएको छ, अब केही समय पर्खनोस् सिलिण्डर नबोक्ने जमानातिर लाग्छौं ।’

तर, आफूले यसो भन्दा केहीले सिलिण्डर नै बोक्न पाउनुपर्छ भन्नेजस्तो तर्क गरेको प्रधानमन्त्रीको चित्त दुखाइ छ । उनले भने-‘ विद्वानहरुले सिलिण्डर काँधमा बोकेर हिँड्ने परम्परा जोगाउँछौं भने ।’

कपास रोपौं, अमेरिकामा गार्मेन्ट बेचौं

प्रधानमन्त्री ओलीले नेपाल अबको दुई वर्षमा कृषिमा आत्मनिर्भर बन्नुपर्ने उल्लेख गर्दै अमेरिकामा नेपाली गार्मेन्टलाई कोटो पनि नलाग्ने र कर पनि नलाग्ने बताए । यसका लागि नेपालमा गार्मेन्ट उद्योगहरु र कपास खेती बढाउनुपर्ने उनले बताए ।

प्रधानमन्त्रीले भने- ‘अमेरिकाजस्तो बजारमा नेपाली गार्मेन्ट सप्लाइ गर्न कोटा छैन, ट्याक्स छैन ।’

प्रधानमन्त्रीलाई प्रश्न

आफूले पस्केका योजनाहरुमाथि व्यग्ंय गरिएको भन्दै एक-एक गरेर जवाफ दिइरहेका प्रधानमन्त्रीलाई एकजना पत्रकारले सोधे- जनताले ग्यास, तेल र बिजुली नपाइरहेका बेला यस्ता योजनाहरु सुनाउँदा उनीहरुले जिस्काउनु स्वाभाविकै हुँदैन र ?

प्रधानमन्त्री ओलीले प्रतिप्रश्न सहित जवाफ फर्काए – राजा महाराजाहरुलेजस्तो पछि गरौंला भन्दै पासा हान्दै जाने ? सरकार हरेक पाइलामा जनताको साथमा छ । हामीले न्यानो कपडा बाँडेका छौं । एमालेले भूकम्प पीडितहरुका लागि २७ हजार २ सय ७६ वटा अस्थायी घरहरु बनाइदिएको छ । १ हजार १३ वटा विद्यालय बनाएर हस्तान्तरण गरेको छ । २२ हजार भग्नावशेष सफा गर्‍यौं । तर, त्यो अलि त्यति हाइलाइट (मिडियामा) हुन सकेन ।’

प्रधानमन्त्रीमाथि पत्रकारको अर्को प्रश्न थियो- आपूर्ति व्यवस्था सहज बनाउन सरकारले सकिरहेको छैन…..।

यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने- यो नाकाबन्दी अहिलेको सरकारले गरेको हो र ? आपूर्ति असहज सरकारले गरेको हो र ? एक दुईवटा सिलिण्डरजस्तो कुरा भए त पुर्याइदिन हुन्थ्यो !’

यो पनि पढ्नोस्

बालुवाटारमा पत्रकार बोलाएर ओलीले भने- पासा खेलेर बस्दिँन 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?