२६ असार, काठमाडौं । क्रिष्टियानो रोनाल्डो यो देखेर आफ्नो हाँसो थाम्नै सकेनन् । तर, पोर्चुगिज म्यानेजर फर्नाण्डो सान्तोषले भने रिकार्डो क्वारेज्माको नयाँ हेयर स्टाइलको भने खुलेरै प्रशंसा गरेका छन् ।
फ्रान्सबिरुद्ध आइतबार हुने फाइनल खेलअघि शनिबारको प्रशिक्षण सत्रमा क्वारेज्मा यस्तो नयाँ हेयर स्टाइलमा प्रकट भए ।
र उनको ‘युनिक’ हेयरस्टाइल सार्वजनिक भयो । उनले पोर्चुगलको राष्ट्रिय छापमा प्रयोग हुने जैतुनको पातजस्तै आकारमा हेयरस्टाइल बनाएका छन् र त्यो राष्ट्रिय निशानामा जस्तै हल्का पहेँलो रंगको छ ।
र, जसले उनको त्यो स्टाइल पहिलो पटक देखे सबैले निक्कै मनपराए । प्रशिक्षकले पनि पहिलो पटक देख्दा हाँसे र पछि आफुलाई निक्कै मनपरेको बताए । उनले भने, ‘यो आश्चर्यजनक छ । मैले जव त्यो देखेँ उसलाई बधाई दिएँ । यो एउटा कलाको नमूना हो ।’
नकआउट चरणमा टोलीका लागि दुई गोल गरेका क्वारेज्मा शायद फाइनलका लागि पनि निक्कै आत्मविश्वासी छन् । ३२ बर्षीय बेसिक्टास फर्वार्डले अतिरिक्त समयमा गरेको गोलपछि क्रोएशियालाई हराउँदै पोर्चुगल क्वाटरफाइनलमा पुगेको थियो ।
र, उनले क्वाटरफाइनलमा पोल्याण्डबिरुद्धको पेनाल्टी शुटआउटमा पनि १ गोल गरेका थिए । १-१ को बराबरी भएपछि त्यस खेल पेनाल्टीमा पुगेको थियो ।
यसैबीच थाईको चोटबाट गुज्रिरहेका पोर्चुगिज सेन्टरब्याक पेपे चोटमुक्त भएको बताइएको छ । रियल मडि्रड स्टार पेपेले चोटका कारण वेल्सबिरुद्धको सेमिफाइनल गुमाएका थिए भने उनले एक्लै प्रशिक्षण गरेका थिए ।
तर, उनले भनेका छन्, ‘मलाई खुसी लागेको छ कि म फिट भएँ, सम्भवतः आइतबारको फाइनलका लागि म टोलीमा समावेश हुनेछु ।’
प्रतिक्रिया 4