१ असोज,विराटनगर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले केही मधेसवादी दललाई खुसी पार्नका लागि संविधान संशोधन हुन नसक्ने भन्दै संविधान कार्यन्वयनतिर लाग्नुपर्ने बताएका छन् ।
विराटनगर बिमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गौतमले भने ‘संविधान आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ तर अहिले कांग्रेस,माओवादी मधेशी मोर्चाबीच भएको सहमतिमा एमाले संलग्न छैन ।’
एमाले अहिले संविधान संशोधनको पक्षमा नरहेको गौतमले बताए । उनले भने-‘संविधान कार्यन्वयनमा कहाँ बाधा भयो ? पहिले त्यो भन्नुपर्छ ।’
गौतमले अर्को एक प्रश्नमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कानुन बमोजिम भ्रष्टाचारका मुद्दाहरुमा अनुसन्धान गर्न पाउने बताए । उनले माओवादी लडाकु शिविरको अनियमितता छानविन थालेको सन्दर्भमा यस्तो बताएका हुन् ।
गौतमले भने- ‘लडाकु शिविरमा मात्र होइन एमाले भित्र पनि कुनै भ्रष्टाचार भएको भए छानबिन गर्न सक्छ । तर अख्तियारले कानुन बमोजिम छानविन गर्नुपर्छ ।’