Comments Add Comment

भरतपुर अस्पतालको ‘सी’ ब्लक भवनको शिलान्यास

अस्पतालको जग्गा उपभोग गर्नेहरुको सम्झौता पुनरावलोकन हुने

BharatpurHospital_C_Block

६ असोज, चितवन । भरतपुर अस्पतालको ‘सी’ व्लक भवनको स्वास्थ्यमन्त्री गगन थापाले विहीबार शिलान्यास गरेका छन् । अस्पताल परिसरमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री थापाले अस्पतालको डाइग्नोष्टिक भवनको शिलान्यास गरे ।

साथै स्वास्थ्यमन्त्री थापाले अस्पतालको ‘ए’ ब्लकमा हालै सेवा आरम्भ भएको अत्याधुनिक अप्रेशन कक्ष र आइसियू सेवाको समेत उदघाटन गरेका छन् ।

अस्पतालको गुरूयोजना अनुसार नै ‘सी’ ब्लक भवन निर्माण गर्न लागिएको हो । स्वास्थ्य मन्त्रालयले असोज ४ गते भरतपुर अस्पतालको ‘सी’ ब्लक भवन निर्माणकालागि २८ करोड ८२ लाख १४ हजार ९ सय ९१ रुपैयाँ ४२ पैसाको लागत स्विकृत गरेको थियो ।

मन्त्रालयको स्वीकृतिपछि अस्पतालले भवन निर्माणको प्रकृया अघि बढाएको अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीले जानकारी दिए ।

अस्पतालको ‘सी’ ब्लक भवन ३ बर्ष भित्रै निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । भवनमा नेपाल सरकारको ८० प्रतिशत लगानी हुनेछ भने भरतपुर अस्पतालको २० प्रतिशत लगानी हुने अस्पतालका मेडिलक सुपरिटेण्डेन्ट डा. रुद्रप्रसाद मरासिनीले जानकारी दिए ।

भवनले ४ हजार ४ सय ३३ स्क्वायर मिटर जमिन ओगट्ने छ । भवनको भूईं तलामा सिटि स्क्यान, एमआरआई, ल्याव, हिस्टोप्याथोलोजी, एक्सरे, इसिजि, इको, इन्डोसकोपी, कोलोनोस्कोपी, सिस्टोसकोपी, ब्रोङकोसकोपी लगायतका सेवा सुविधा उपलब्ध हुने छन् । दोस्रो तलामा सर्जिकल, न्यूरो र कार्डियोलोजी विभागहरु रहने छन् ।

भवनको तेस्रो तलामा भने डाइलासिस सम्वन्धि कामहरू हुने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालको जग्गा उपभोग गर्नेहरुको सम्झौता पुनरावलोकन हुने

कार्यक्रममा स्वास्थ्यमन्त्री गगन थापाले भरतपुर अस्पतालको जमिन उपयोग गर्दै आएका निकायहरुको सम्झौता पुनरावलोकन हुने गर्ने प्रतिवद्धता जनाए ।

‘मैले आजै सचिव ज्यूलाई ति सम्झौताका फाइलहरु खोल्न निर्देशन दिएको छु,’ मन्त्री थापाले भने, ‘सम्झौता अनुसार काम हुन्छ त्यसभन्दा तल-माथि दायाँ-बायाँ अरु केही हुँदैन ।’

समयमा भाडा नतिर्ने र सम्झौता लागु नगर्ने पुरानो मेडिकल कलेजतर्फ लक्षित गर्दै मन्त्री थापाले भने, ‘को मान्छे हो, शक्ति कहाँबाट आर्जन गरिरहेको छ त्यसको कुनै सरोकार छैन तर मसँग जनताको शक्ति छ ।’

स्वास्थ्य मन्त्रालय र मन्त्रिपरिषदबाट निर्णय बमोजिम जग्गा उपयोग गर्ने तर सम्झौता अनुसार कार्यान्वयन गर्नेहरुको सम्झौता खारेज गर्ने मन्त्री थापाले चेतावनी दिए ।
भरतपुर अस्पतालको कुल ३१ विगाहा जग्गा मध्ये अस्पतालले जम्मा १० विगाहा मात्रै जमिन उपयोग गरेको छ । बाँकी जग्गा अन्य बिभिन्न संघसस्था र निकायले निःशुल्क र सशुल्क रुपमा उपयोग गर्दै आएका छन् ।

BharatpurHospital_Shab_Grih४ वर्षदेखि अलपत्र शव गृहको निर्माण पूरा

भरतपुर अस्पतालको शव गृह नयाँ भवनमा स्थानान्तरण गरिएको छ । निर्माण थालेको ४ वर्षपछि मात्रै शव गृह भवनको निर्माण पूरा भएको हो ।

भरतपुर मेडिकल कलेजको सहयोगमा निर्माण गरिएको भवन केही नीतिगत मतभिन्नताका कारण अलपत्र परेको थियो ।

‘यि सबै विषय सल्टाएर निर्माण पूरा गरी आधुनिक शव गृहमा सार्‍यौं,’ अस्पतालका अध्यक्ष विजय सुवेदीले भने, ‘अब अस्पतालको मुलगेटमा नै शव गृह देख्नुपर्ने छैन ।’

आकस्मिक कक्षको नयाँ स्वरूप

भरतपुर अस्पतालको आकस्मिक कक्षलाई पुनर्निर्माण गरी आधुनिक सफा र बिरामीमैत्री बनाइएको छ । अस्पतालको आकस्मिक कक्ष संरचनागत कमजोरीका कारण सन्तोषजनक नभएको गुनासोहरू आइरहेका बेला अस्पतालले आकस्मिक कक्षमा ब्यापक सुधार गरी नयाँ रुप दिएको छ ।

आकस्मिक कक्षमा सेन्ट्रल अक्सिजन सप्लाई, भेन्टिलेटर, डिफ्रीबेलेटर, एसी सहित कक्षका लागि आवश्यक आधारभूत उपकरण र जनशक्तिको व्यवस्थापन उचित ढंगले गरिएको अस्पतालका मेसु डा. मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment