Comments Add Comment

कफीको व्यवसायिक खेती गर्नेलाई सुविधै सुविधा

यस वर्षलाई कफी रोपण वर्षको घोषणा

 

coffee-plant

१ मंसिर, काठमाडौं । कफीका व्यवसायिक कृषकका लागि सरकारले उल्लेख्य सुविधा प्रदान गर्ने भएको छ । १२ औं राष्ट्रिय कफी दिवस मनाउँदै सरकारले व्यवसायिक कफी खेती गर्ने किसानलाई उत्साहित बनाउन बिभिन्न सुविधाको घोषण गरेको हो ।

उच्च गुणस्तरीय नेपाली कफीको माग विदेशबाट उच्च भएपनि माग अनुसारको उत्पादन बढ्न नसकेपछि सरकारले कफी कृषकलाई सेवा, सुविधा र सहुलियत दिने घोषण गरेको हो ।

कफी दिवस समारोहलाई सम्बोधन गर्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले व्यवसायिक कृषकलाई सहुलियत तथा सेवा सुविधा बढाउने घोषणा गरेका हुन् ।

गौतममा अनुसार देशभरका जुनसुकै स्थानमा व्यवसायिक रुपमा कफी स्टेट सञ्चालन गर्नेहरुलाई कफीको विरुवा, मल तथा आर्थिक रुपमा समेत सरकारले सहयोग गर्नेछ ।

यसैगरी कफी स्टेट सञ्चालन हुने ठाउँसम्म सडक निर्माण, विजुली बत्ती तथा सिंचाइको सुविधासमेत गराउने उनले प्रतिवद्धता व्यक्त गरे । ‘विदेशबाट वाषिर्क ८ हजार मेटि्रकटन कफीको माग छ’, गौतमले भने, ‘तर नेपालमा ५ सय मेटि्रकटन पनि उत्पादन छैन ।’

हुनत नेपालभन्दा ब्राजिल, इण्डोनिसिया लगायतका देशमा कफी बढी उत्पादन हुन्छ । तर, विश्व बजारमा भने नेपालकै कफीको माग उच्च छ । ‘नेपालका गरिब किसानले उत्पादन गरेको भनेर कफीको माग बढेको होइन ।’, गौतमले भने, ‘अर्गानिक र उच्च गुणस्तरीय कफी भएकै कारण नेपालमा उत्पादित कफी बिदेशी उपभोक्तामाझ लोकपि्रय छ ।’

विश्वमा अन्य देशको भन्दा नेपालको कफी महंगोमासमेत बिक्ने गर्छ । तर, किसानले भने विचौलियाहरुका कारण आफ्नो उत्पादन अनुसारको उचित मूल्य पाउन सकेका छैनन् ।

नेपालमा हालसम्म कुल २ हजार ६८२ हेक्टर क्षेत्रफलमा मात्रै कफी उत्पादन हुने गरेको छ । कफी उत्पादन बढाउन भन्दै बोर्डले यो वर्ष कफी रोप्ने वर्ष घोषणासमेत गरेको छ । बोर्डले गत वर्ष नर्सरी वर्ष भन्दै १० हजार भन्दाबढी कफीको विरुवा उत्पादन गरेको थियो ।

कफी रोपन वर्षको घोषणा भने कृषि मन्त्री गौरीशंखर चौधरीले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment