१९ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनमा देखिएका जटिलता हटाउन सबै दलहरु सहमतिका साथ अघि बढ्न तयार रहेको बताएका छन् । राजनीतिक निकास र आर्थिक विकासका लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनले बताए ।
केन्द्रीय गलैचा उद्योग संघ नेपालको २६ औं वार्षिक साधारण सभालाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म के विश्वास दिलाउँछु भने संविधान कार्यान्वयनको प्रक्रियामा हामी छौं । केही जटिलता र अप्ठ्यारा भए पनि अन्तत यो समझदारीबाटै टुंगिन्छ ।’
उनले संविधान कार्यान्वयनसँगै देश आर्थिक विकासको बाटोमा अघि बढ्ने बताए । उनले व्यवसायीहरुलाई सकारात्मक वातावरण बनाउन पहल गर्ने आश्वासन समेत दिए ।
‘देश अब आर्थिक विकासको प्रक्रियामा नै केन्द्रित भएर लाग्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरु दृढताको साथ अगाडि बढ्नुस् । राज्य र सरकारको तर्फबाट सकारात्मक वातावरण बनाउनको निम्ति पहल हुन्छ ।’
कार्यक्रममा गलैचा व्यवसायीहरुले राजनीतिक अस्थिरताकै कारण आफूहरु समस्यामा परेको गुनासो गरेका थिए ।
प्रतिक्रिया 4