Comments Add Comment

काठमाडौंमा मेयर र उपमेयरको विवाद उत्कर्षमा, खड्गी समूहद्वारा बैठक बहिस्कार

मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच विवाद चर्किएको छ ।

एमालेबाट निर्वाचित मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १० वडाध्यक्षले बुधबारका लागि बोलाइएको नगर कार्यपालिका बैठक नै बहिस्कार गरेका छन् ।

मेयर शाक्यले महानगरमा एकलौटी निर्णय गर्ने तथा फिर्ता लिन गरेकाले कार्यपालिका बैठक नै बहिस्कार गरेको उपमेयर खड्गीले बताइन् ।

‘हामीलाई कहिल्यै कार्यपालिका बैठकमा के एजेन्डा छ भनेर भनिँदैन । मैले यो प्रवृत्तिको विरोध गर्दै आएको छु’ उपमेयर शाक्यले भनिन्, ‘कार्यपालिका बस्नुभन्दा २४ घण्टा अघि के–के एजेण्डामा छलफल हुने भन्ने थाहा दिनुपर्छ भनेर पटक–पटक भन्यौं । तर, मेयरसा’बले मान्नु भएन ।’

बुधबार विहान बोलाइएको बैठकको पनि एजेण्डा नपाएपछि कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बैठक नै बहिस्कार गरे । बहिस्कारका बीच बसेका बैठकले १०० दिनको कामको समिक्षा भएको छ ।

मेयर शाक्यले आफ्नो १०० दिनको कामबारे जानकारी दिन भोलि नै पत्रकार सम्मेलन समेत गर्दैछन् ।

तर, उपमेयर खड्गी समूहको असन्तुष्टि कायमै छ । मोबाइल बाँड्ने र फिर्ता लिनेसम्म महत्वपूर्ण निर्णय गर्दा आफूहरुलाई गुमराहमा राखेको र पटकपटक ध्यानाकर्षण गराउँदा पनि नसुनेको उनले बताइन् ।

‘हामीलाई एजेण्डा र भूमिकाबिहीन बनाउन खोजिएको जस्तो ब्यवहार देखिँदै आएको छ । मैले लामो समयसम्म यो विषय विस्तारै मिल्ने अपेक्षा गरेर बसेँ’ उपमेयर खड्गीले भनिन्, ‘तर, मेयरसा’बको ब्यवहार न्यायसंगत र विधिसंगत नदेखिएकाले हामीले यो कदम उठाएका छौं ।’

मेयर शाक्यले भने हरेक बैठक बस्दा एजेण्डा दिएको र उपमेयरले दिएको एजेण्डा समावेश गरेर अघि बढेको दाबी गरे । उनले भने, अहिले देखिएको विवाद कर्मचारी सुरुवालाई लिएर हो । उहाँहरुले कार्यपालिकाबाटै कर्मचारी सरुवाको निर्णय गर्नुुपर्छ भन्नु भएको छ । यस्तो कहिँ हुँदैन ।’

मेयर शाक्यले बिहीबारका पनि कार्यपालिका बैठक बोलाएका छन् र, बैठकको एजण्डा जानकारी गराउँदै पत्र लेखेका छन् ।

यससँगै बिहीबारको बैठकमा खड्गी समूह सहभागी हुन तयार भएको छ । ‘मेयरसा’बसँग प्रशस्त अनुभव छ । उहाँ दुईपटक वडाअध्यक्ष जितेको मान्छे हो । नगरको दलीय संयन्त्रमा पनि लामो समय बसे काम गर्नुभएको छ’ उपमेयर खड्गीले भनिन्, ‘हामी अहिलेको स्थिति आउँदैन भन्नेमा विश्वस्त थियौं । निर्णय र कामकारवाहीमा पनि समन्वय गरिएन भने हामीसँग बहिस्कार गर्नुको विकल्प रहँदैन ।’

उनले विकासका एजेण्डाहरुमै गुमराहमा राख्ने अवस्था भएसम्म त्यस्तो प्रवृत्तिको प्रतिवाद गरिरहने बताइन् ।

अहिले काठमाडौं महानगरमा कांग्रेसबाट निर्वाचित उपमेयरसहित १४ जना वडाअध्यक्ष एउटा गुटमा छन् भने एमालेबाट निर्वाचित १८ जना वडाध्यक्ष मेयरको समर्थनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment