५ मंसिर, काठमाडौं । थाइल्याण्डमा जारी आइसिसी टि-२० महिला विश्वकप अन्तर्गत एशियाली क्षेत्रको छनोटमा नेपालले हङकङसँग अंक बाँडेको छ ।
वर्षाले प्रभावित खेलमा नेपालले लगातार दोस्रो खेलमा अंक बाँडेको हो । यसअघि सोमबार भएको पहिलो खेलमा पनि वर्षा बाधक बनेपछि नेपालले थाइल्याण्डसँग एक एक अंक बाँडेको तियो ।
वर्षाका कारण खेल हुन नसकेपछि टस नै नभई दुवै टोलीले एक/एक अंक बाँडेका हुन् ।
यससँगै नेपाल दुई अंकका साथ अंक तालिकामा तेस्रो स्थानमा छ भने पहिलो खेल जितेको हङकङ दुई खेलबाट ३ अंक जोड्दै शीर्ष स्थानमा छ ।
विभिन्न ६ राष्ट्रले भाग लिएको उक्त छनोट खेलमा मलेसिया रनरेटको आधारमा दोस्रो स्थानमा छ भने युएई चौथो, थाइल्यान्ड पाँचाैं र चीन छैटाैं स्थानमा छ । नेपालले अब आफ्नो तेस्रो खेल विहीबार युएईसँग खेल्नेछ ।