+
+
Shares

कथाः लोक्ता

नयनराज पाण्डे नयनराज पाण्डे
२०७४ फागुन २ गते ११:३४

‘क्रान्ति गर्नु पर्छ ।’

रामले भन्यो । श्यामले पनि भन्यो । हरिले पनि त्यसै भन्यो र गोविन्दले अझ ठुलो स्वरमा भन्यो ।

‘हामीले अब निरंकुशतालाई स्वीकार्नु हुन्न ।’

श्यामले भन्यो । हरिले पनि भन्यो । गोविन्दले पनि त्यसै भन्यो र रामले अझ ठुलो स्वरमा भन्यो ।
‘हामीले हाम्रो स्वतन्त्रताको उपभोग गर्नु पर्छ ।’

हरिले भन्यो । गोविन्दले पनि भन्यो । रामले पनि त्यसै भन्यो । श्यामले अझ ठूलो स्वरमा भन्यो ।

‘हामीले समय खेर फाल्नु हुन्न । हामीले जनतालाई आफ्नो शक्तिसित परिचित गराउनु पर्छ । त्यसपछि उनीहरु हामीप्रति विश्वस्त हुन्छन् । हामीले नै अब उनीहरुको मुहार उज्यालो पार्न सक्छौँ । हामीले नै ल्याउन सक्छौँ उनीहरुको ओँठमा हाँसो ।’

गोविन्दले भन्यो । रामले पनि भन्यो । श्यामले पनि त्यसै भन्यो र हरिले अझ ठूलो स्वरमा भन्यो ।

०००

केही दिनअघिमात्र तराईमा एम्बुस विस्फोट भएको थियो । स्थानीय तहका एकजना नेता मारिएका थिए त्यसमा । उनीमाथि एघारबाट हत्या र सोह्रवटा बलात्कारका मुद्धाहरु अदालतमा बिचाराधीन थिए । त्यसभन्दा बढी मुद्धाहरु अदालतसम्म पुगेकै थिएनन् । केही संगीन मुद्धाहरु पुलिसले नै मिलाएर नेताजीलाई सजिलो बनाइदिएका थिए । उनी यसपटक चुनावमा उठेर जनताको प्रतिनिधि बन्ने सुरमा थिए । राष्ट्रिय स्तरको एउटा पार्टीले उनलाई टिकट दिने आश्वासन पनि दिएको थियो । उनी गाउँ, शहरबजारमा हिँड्दा एक्लै हिँड्दैनथे । उनीसँगै पूरा लावालस्कर हिँड्थ्यो । जीप र मोटरसाइकल पनि बाक्लै दौडन्थ्यो उनको लस्करमा । उनी त्यो लस्करको बीचमा छाती फुलाएर हिँड्थे ।

अस्ति पनि त्यसरी नै हिँडिरहेका थिएँ । उनका केही कार्यकर्ताहरुले बेलाबेलामा जयजयकार पनि भनिरहेका थिए । केही दिनअघि उनले बलात्कार गरेका एकजना युवतीको भाइले उनको बाटो छेकेर उनीसित न्याय मागेको थियो । उनले त केही गरेनन् । तर उनकै अगाडि उनका कार्यकर्ताले केटीको भाइको हातखुट्टा भाँचिदिएका थिए । त्यसपछि पनि उनी त्यसरी नै छाति फुलाएर हिँडिरहे र कार्यकर्ताको भीडले उनलाई सुरक्षा प्रदान गरिरह्यो ।

तर, केही बेर हिँडेपछि उनी एम्बुसमा परे । बाटोको बीचमा भर्खर खनेर भर्खरै पुरेको जस्तो खाल्टो थियो । खाल्टो भन्दा केही अगाडि चिर्कटो गाडिएको थियो । त्यसमा मसिनो धागो बाँधिएको थियो र त्यो धागोको अर्को टुप्पो खाल्टोतिर गएर खाल्टोभित्रै कतै हराएको थियो । नेताजीको भीडमा हिँडिरहेको एउटा कार्यकर्ताको खुट्टा त्यही बेसर्माको डण्डी र धागोमा अल्झियो । धागोमा हलचल भयो र त्यसपछि पछाडिको खाल्टोमा ठुलो विस्फोट भयो । नेता ठाउँको ठाउँ टुक्राटुक्रा भए । उनका केही प्रतिवद्ध कार्यकर्ताहरु पनि मारिए ।

पुलिसको जाँचमा सावित भयो, त्यो बलियो खालको रिल धागो थियो । धागो तानिएपछि खाल्टोभित्र राखिएको बमको पिन फुत्कियो र भयानक विस्फोट भयो ।

०००

त्यस्तै बलियो खालको रिल धागो ल्याउने जिम्मा रामले लियो । असनको धागो पसलबाट उसले बलियो खालको रिल धागो किन्यो । धागो चुँडाल्न खोज्दा रामको औँला काटियो । ऊ धागो बलियो छ भन्नेमा विश्वस्त भयो । सबै क्षेत्रपाटी हुँदै धोबीचौरमा भेला भए ।
‘धागो राम्रो छ ।’

रामले भन्यो । श्यामले पनि भन्यो । हरिले पनि त्यसै भन्यो । गोविन्दले अझ ठुलो स्वरमा भन्यो ।

०००

पूर्वी तराइमा भएको त्यो भयानक एम्बुस विस्फोट, जसमा एघारवटा हत्या र सोह्रवटा बलात्कारका मुद्धा खेपिरहेका नेताजीको मृत्यु भएको थियो, त्यसमा बमको मात्र प्रयोग भएको थिएन । प्रशस्त सिसाको पनि प्रयोग भएको थियो । खाल्टोबाट बम विस्फोटसँगै उछिटि्टएको सिसाकै कारण नेताजीका कैयन कार्यकता घाइते भएका थिए । दुई जनाको आँखाभित्र पसेेको थियो सिसा र उनीहरु स्थायीरुपमा दृष्टिविहीन भएका थिए ।

श्यामले ल्याउने भयो सिसा । उसले घरमा भएका नयाँ ग्लासहरु सुटुक्क ल्यायो । धोबीचौरमा नयाँ ग्लासहरु फोडिए ।
‘यो कामको लागि सिसा महत्वपूर्ण छ ।’

श्यामले भन्यो । अरुहरुले पनि भने ।

०००
तराईमा भएको त्यो भयानक एम्बुस विस्फोट, जसमा एघारवटा हत्या र सोह्रवटा बलात्कारका मुद्धा खेपिरहेका नेताजी र उनका केही कार्यकर्ताको मृत्यु भएको थियो, त्यो एम्बुस कुनै एक व्यक्तिले मात्र बनाएको थिएन । पुलिसका अनुसार करिब चार जना मिलेर त्यो विस्फोटको योजना बनाएका थिए । बिस्फोटको तयारी निकै पहिले गरिएको भएपनि त्यसलाई अन्तिम रुप दिन घटनास्थलभन्दा झण्डै एक किलोमिटर टाढाको जंगलमा करिब तीन दिनसम्म ती चार जना बसेका थिए । उनीहरुले त्यहीँ बसीबसी नेताजीको आउने जाने समयको ठेगान गरेका थिए र कतिखेर बिस्फोट गर्नुपर्छ भन्ने समय निर्धारित गरेका थिए । उनीहरु जंगलमै रात बिताउँथे । त्यही भात पकाएर खान्थे ।

भात पकाउनका लागि उनीहरुले चामल पनि सँगै ल्याएका थिए । पुलिसका अनुसार उनीहरु पक्कै गरिब घरका युवाहरु थिए । किनभने उनीहरुले दुई किलो अटाउने पोलिथिनको झोलामा चामल ल्याएका थिए । तीन दिन जंगलमा बिताउँदा उनीहरुले पाँच छाक भात खाएका थिए । दुई किलो चामलको भात, चारजना र पाँच छाक । त्यसैले पक्कै उनीहरुले फर्फराउँदो भात हैन, माड जस्तै गिलो भात खाएका थिए ।

माडको जिम्मा हरिले लियो । त्यसका लागि चाहिने चामलको जोहो गर्ने जिम्मा उसैको भयो । हरिले निर्धारित समयमा माड लिएर धोबीचौरमा आयो ।

‘माड खास्सा छ ।’

सबैले भने ।

०००

तराईमा केही दिनअघि भएको एम्बुस विस्फोट, जसमा एघारवटा हत्या र चौबीसवटा बलात्कारको मुद्धा खेपिरहेका नेताजी र उनका केही कार्यकर्ता मारिएका थिए, त्यो एम्बुस विस्फोट बाटोको बीचमा राखिएको चिर्कटोमा कुनै कार्यकर्ताको खुट्टा ठोकिएकै कारणले भएको थियो ।

त्यो चिर्कटो बाँसको थियो । बाँस बलियो हुन्छ । लचकदार पनि हुन्छ । अरु साधारण खालका काठको चिर्कटो सजिलै भाँचिन सक्थ्यो र त्यसमा बाँधिएको धागो नतन्किन पनि सक्थ्यो । बाँसकै चिर्कटो भएकोले त्यो खुट्टाको ठक्कर लागेर तनक्क तन्कियो र त्यसैको कारण त्यो भयानक विस्फोट भयो ।

बाँसको जिम्मा गोविन्दले लियो । छिमेकीको निर्माणाधीन घरमा खट बनाउनका लागि जम्मा गरिएको बाँस उसले चलाखीका साथ प्राप्त गर्यो र क्षेत्रपाटीमा निर्धारित समयमै बाँस सहित हाजिर भयो ।

‘बाँस बलियो छ ।’

सबैले भने ।
०००
तराईमा केही दिनअघि भएको एम्बुस विस्फोट, जसमा एघारवटा हत्या र चौबीसवटा बलात्कारको मुद्धा खेपिरहेका नेताजी र उनका केही कार्यकर्ता मारिएका थिए, त्यो बम विस्फोट भएको स्थानको दश मिटर पर, बाटोको छेउमा केही हस्तलिखित पर्चाहरु छरिएका थिए । ती पर्चामा नेताजीले आजसम्म गरेका अन्याय, अत्याचार, हत्या, बलात्कार र डकैतीका फेहरिस्त लेखिएका थिए । फेहरिस्तसँगै लेखिएको थियो-‘समाजमा यस्ता अवान्छित र अपराधि व्यक्तिको कुनै काम छैन । यस्ता अपराधी नेता हामीलाई स्वीकार्य छैन । अबको नेपाल यस्ता नेताले आफ्नो आपराधिक गतिविधिको आडमा गर्ने राजनीतिबाट मुक्त हुनु पर्छ । त्यसैले हामी चार जना मिलेर यसको हत्या गरेका हौँ । समय आएमा हामी आफ्नो नाम सार्वजनिक गर्नेछौँ ।’

‘लौ, हामीले त कागज ल्याउनै बिर्सेछौँ ।’

रामले भन्यो ।

उनीहरुले नजिकैको लोक्ता उधोगबाट अनेक अनुनय बिनय गरेर केही ताउ लोक्ता कागज मागे । केटाहरुको मागलाई लोक्ता कागज

बनाउने साहुले स्वीकार गर्यो र उनीहरुले चाहेजति लोक्ता कागज उपलब्ध गराइदियो ।

‘वाह, कति राम्रो कागज पाइयो ।’

सबैले भने । सबैको अनुहार हँसिलो र चम्किलो भयो । महान कार्यमा लागेका युवाहरुको अनुहार यस्तै चम्किलो देखिन्छ ।
०००
आवश्यक सामग्री संकलन भैसकेको थियो । तर उनीहरु धोबीचौरमा थिए । खुला ठाउँ भएकोले मानिसहरुको ओहरदोहर भैरहेको थियो । लुगा धोएर ल्याउने र सुकाउनेहरुको जमात पनि त्यही थियो । जताततै अस्पतालका सेता तन्नाहरु सुकाइएका थिए । तीव्रगतिमा चलिरहेको हावामा ती तन्नाहरु फर्फराउँदा यस्तो लाग्थ्यो, मानौँ दर्जनौ पानीजहाजका मस्तुलहरु र त्यससँग बाँधिएका ध्वजाहरु हल्लिरहेका छन् ।

मानौँ एउटा सिंगै वस्ती र सिंगै समाज त्यही ध्वजाबाहक पानीजहाजमा यात्रारत छ ।

तर, तिनीहरु चारजना थिए । चारैजना चलाख थिए र आफ्नो कामलाई कसरी निपुणताका साथ सम्पन्न गर्नुपर्छ भन्ने कुरामा सचेत थिए । उनीहरु बालिग भैसकेका थिए र यसपटकको संविधानसभाको चुनावमा भोट हाल्नकालागि फोटोसहितको मतदाता परिचयपत्र पनि प्राप्त गरिसकेको थिए ।

‘यसपटकको चुनावमा हामीले कुनै अपराधीलाई भोट हाल्नु हुन्न । असल मान्छेलाई जिताउनु पर्छ । देश बनाउन सक्ने मान्छेलाई जिताउनु पर्छ ।’

सबैले यसै भने । पालैपालो भने र ठुल्ठुलो स्वरमा भने । यसोभन्दा उनीहरु गम्भिर देखिएका थिए । देशको चिन्ताले उनीहरुको अनुहार अझै चिन्तनशील देखिएको थियो । उनीहरु आजको समयका युवाहरु थिए र देशको भविष्य उनीहरुले गर्ने चिन्ता र चिन्तनले निर्धारित हुनेवाला थियो ।

०००

त्यही चिन्ता र चिन्तनसहित रामले फुटेका सिसालाई दर्शन ढुंगामा अर्को ढुंगाले पिस्यो र धुलोधुलो बनायो । श्यामले बिहानै बनाएको माडमा सिसाको धुलो मिसायो । हरिले सिंगै रिलधागोमा मज्जाले सिसासहितको माड दल्यो र माजा बनायो । गोविन्द र रामले चर्को घाममा माजा सुकाए ।

त्यसपछि गोविन्दले लोक्ताको ताउ जमिनमा फैलायो । श्यामले बाँसको करिब डेढ बित्ता लामो तर पातलो चिर्कटो बनायो । चिर्कटोलाई कागजमा तेर्सो बनाएर टाँस्यो ।

‘ल, दुब कठी तैयार भयो ।’-उत्साहसाथ भन्यो हरिले ।

लगत्तै त्यसपछि पखेटाजस्तो पारेर दुब कठीको भन्दा अझै पातलो बाँसको कप्टेरो कागजमा पखेटाजसरी टाँसेँ ।
‘ल, पपु कठी पनि तयार भयो ।’-उत्साहसाथ भन्यो श्यामले ।

त्यसपछि एकदमै सन्तुलन मिलाएर धागोको कका बनाए उनीहरुले ।

त्यही ककामा माजा धागो बाँधे ।

यसरी तयार गरे देशका उत्साही चार युवाहरुले सानदार चंगा । लोक्चा कागजको चंगा । हावा चलिरहेकै थियो । चंगा चकचकी खाएर उड्यो आकाशमा । उनीहरुले उडाए खुला आकाशमा चंगा ।

यो गत चुनावभन्दा एकदिन अगाडि र तराईमा भएको एम्बुस विस्फोट, जसमा एघारवटा हत्या र चौबीसवटा बलात्कारको मुद्धा खेपिरहेको एकजना नेता मारिएको थियो, भन्दा एक महिना अठार दिनपछिको घटना थियो ।

राम, श्याम, हरि र गोविन्दले चुनावको दिन पनि त्यसरी नै चंगा उडाए ।

‘आहा ! चंगा उडाउनु कति रमाइलो ! उडिरहेका चंगालाई जमिनतिर फर्काएर फुइँ दिनु झन् कति रमाइलो ! माजा दलिएको धागोसहितको चंगाले अरु चंगाहरुलाई चेट गर्न कति रमाइलो ! चंगा माथिमाथि आकाशसम्म पुर्याउनु अझ कति कति रमाइलो !’

रामले भन्यो । श्यामले पनि भन्यो । हरिले पनि त्यसै भन्यो । गोविन्दले अझ ठुलो स्वरमा भन्यो ।

त्यही रमाइलोमा भुलिरहे उनीहरु । उनीहरुले चंगा उडाइरहे । चंगासँगै उनीहरु पनि उडिरहे । उनीहरुको चिन्तन, उनीहरुको चिन्ता, उनीहरुको सिर्जनशीलता पनि उडिरह्यो ।

यही उडानको रमाइलोमा उनीहरुले चुनावमा भोट हाल्न बिर्सिए । तर, राति रेडियोमा कान थापेर उनीहरुनै सुन्दै थिए चुनावको ताजा परिणाम ।

पूर्वी तराई, जहाँ केही दिनअघि भएको एम्बुस विस्फोटमा एघारवटा हत्या र चौबीसवटा बलात्कारको मुद्धा खेपिरहेका नेताजी मारिएका थिए, त्यहाँ पनि चुनाव शान्तिपूर्वक सम्पन्न भयो ।

पहिलो मत परिणाम त्यहीँबाट आएको थियो, जसमा तिनै मारिएका नेताका भाइले चुनाव जितेका थिए । उनीमाथि पनि थुप्रै हत्या र बलात्कारका अभियोगहरु लागेका छन् । अदालतमा ती अभियोगहरु बिचाराधीन छन् । तर, आकाशमा उडिरहेका छन् चंगाहरु । लोक्ता कागजका चंगाहरु । आज पनि ।

लेखक
नयनराज पाण्डे

चर्चित नेपाली साहित्यकार नयनराज पाण्डेका उलार, लू, घामकिरी र सल्लीपिर लगायतका चर्चित उपन्यासहरू र जगदम्बा, खोरभित्रको जोकर चकलेट नामक कथासङ्ग्रह पनि प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?