१३ चैत, काठमाडौं । सेयर बजार घटेकोमा अर्थमन्त्रालयको आधिकारिक धारणा मागिरहेका लगानीकर्ताहरुले स्वेतपत्र बाटनै जवाफ पाउने भएका छन् ।
‘माग र आपुर्तिको नियम अनुसार नै सेयर बजार चल्न सरकारको धारणा हो, तर सरकारले यसमा केही सम्बोधन गर्नैपर्ने भए स्वेतपत्र र नीति तथा कार्यक्रमबाट नै गर्नेछ,’ वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाका एक उच्च अधिकारीले भने ।
उनले यसै साता स्वेतपत्र र नीति तथा कार्यक्रम आउने सम्भावना रहेको बताए । अर्थमन्त्री डा। युवराज खतिवडाले बजार घट्नु ठुलो कुरा नभएको र लगानीकर्ताहरुलाई बुझेर मात्रै लगानी गर्न आग्रह गरेको खबर सार्वजनिक भएपछि लगानीकर्ता आत्तिएका छन् ।
सेयर बजार दुई वर्षयताकै न्युन विन्दुमा आइपुगेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३१ अंकले घटिसकेको छ ।
लगानीकर्ताले बजार सुधारको लागि अनलाइनबाट सेयर कारोबार गर्न सक्ने व्यवस्था हुनुपर्ने, ब्रोकर कम्पनीहरुले पनि कर्जा दिने सुविधा हुनुपर्ने, बैंकहरुलाई पनि ब्रोकरको अनुमति दिनुपर्ने, गैर आवासिय नेपाली भित्र्याउने, बजारमा नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थागत लगानीकर्ता ल्याउनु पर्ने माग राख्दै आएका छन् । बर्षौदेखि यी काम पुरा हुन सकेका छैनन् ।
बजार निकै घटेकोले लगानीकर्ताको मनोविज्ञान उकास्न सरकारले बर्षोंदेखि गर्न बाँकी रहेका काम र अल्पकालिन योजना पनि सँगसँगै ल्याउनु पर्ने हुन्छ ।
बैंकले सेयर कर्जा दिदा जोखमको रुपमा राख्नु पर्ने प्रावधान घटाउनु पर्ने, सेयर धितोमा दिने कर्जा सीमा (लोन टु भ्यालु रेसियो) बढाउनु पर्ने लगायतको माग पनि लगानीकर्ताहरुले पनि राख्न थालेका छन् । केही समयको लागि यस्ता प्रावधानहरुमा लचिलो हुन सकिएमा सेयर बजारले तत्कालको लागि राहत अनुभव गर्न सक्दछ ।
बजार घट्नुमा मुलतः दुई कारण मुख्य बनेका छन् । एक बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको पुँजी अभावको समस्या र सेयरको बढ्दो आपुर्ति ।
सेयरको बढ्दो आपुर्ति नियन्त्रणमा ल्याउन सकिने अवस्था छैन । तर, सरकारले बजारमा धेरैको पहुँच बढाउन, विस्तार गर्न बैंकहरुलाई ब्रोकरको काम गर्न अनुमति दिने, अनलाइन कारोबारलाई समयमै ल्याउने जस्ता काम गर्न सक्छ । त्यस्तै, अहिले बजारमा देखिएको तरलता अभावको सम्बोधनलाई समाधान गर्नैपर्ने भएको छ ।