१ जेठ, हेटौंडा । नेपाली सेनाले काठमाडौं-तराई मधेश द्रुतमार्गको ट्रयाक खोल्ने क्रममा कटान गरेको काठ तथा दाउरा समुदायमै हस्तान्तरण गर्न थालेको छ । सेनाले द्रुतमार्गको क्षेत्राधिकार भित्र परेर कटान गरेको रुख तथा दाउरा सामुदायिक वनलाई हस्तान्तरण गर्न थालेको हो ।
फास्टट्रयाकको ट्रयाक निर्माणको जिम्मेवारी पाएको सेनाले मकवानपुर क्षेत्रमा रुख कटान र व्यवस्थापनको काम गरिरहेको छ । त्यसक्रममा सेनाले मकवानपुरको सामुदायिक वन क्षेत्रमा कटान भएका काठ तथा दाउरा सामुदायिक वनलाई हस्तान्तरण गरेको हो ।
सेनाले मकवानपुर गढी गाउँपालिका १-रानीवन सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा गरिएको कटान काठ र दाउरा सम्वन्धित वन उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो ।
मकवानपुर गढी १ लेनडाडास्थित आयोजना सडक निर्माण कार्यदल वेशक्याम्प-३ का गणपति सुशीलकुमार कार्कीले सामुदायिक वन अध्यक्ष तथा पदाधिकारीहरुलाई काठ र दाउरा हस्तान्तरण गरे ।
सेनाले द्रुतमार्गमा पर्ने रानी सामुदायिक वनको रुखहरु तीन महिना लगाएर छपान, कटान गरेर जातेडाँडामा घादगद्दी गरेर राखेको थियो । सेनाले वन क्षेत्रमा एक हजार ६ सय २३ रुख कटान गरेको छ ।
कटान गरिएको सालका ८ सय ८० गोलिया थानको ५ हजार ३ सय ११ क्युफिट, अन्य जातका १ सय ३७ गोलिया थानको १ हजार ४ सय ९० क्युफिट र दाउराको २० चट्टा रानी सामुदायिक वनका अध्यक्ष मानवहादुर भ्लोनलाई गणपति कार्कीले हस्तान्तरण गरेका हुन् । साथै द्रुतमार्ग निर्माणको क्रममा काटिएको एउटा रुख वापत २५ वटा रुख रोप्ने नीति लिइएको छ ।
जिल्ला वन कार्यालयका अनुसार द्रुतमार्ग मकवानपुरका १४ वटा सामुदायिक वनक्षेत्र भएर जाने छ । सामुदायिक वनले प्राप्त गर्ने आम्दानीको २५ प्रतिशत वन विकास, ३५ प्रतिशत गरिवीको रेखामुनी रहेका र बाँकी ४० प्रतिशत स्थानीय क्षेत्रको विकासमा खर्च गर्न पाउने प्रावधान छ ।
प्रतिक्रिया 4