+
+

पर्साको नाम राख्ने पुरानो मन्दिर संरक्षण गरिँदै

सुरेश बिडारी सुरेश बिडारी
२०७५ असार ६ गते १०:५२


६ असार, वीरगञ्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा रहेको पारसनाथ बाबाको मन्दिर संरक्षणका लागि धमाधम पर्खाल लगाउने काम भइरहेको छ ।

अतिक्रमणको चपेटामा परेर मठ अव्यवस्थित र जीर्ण बनेपछि गाउँपालिका अध्यक्ष प्रदीपकुमार जैसवालले संरक्षणमा चासो देखाएका हुन् । यही पारसनाथ मठको नामबाट नै पर्सा जिल्लाको नामकरण गरिएको किम्वदन्ती छ ।

सखुवाप्रसौनी गाउँपालिका ५ महुवनमा पर्ने पुरानो मन्दिरको संरक्षणका लागि गाउँपालिकाकै बजेटमा धमाधम काम भइरहेको छ । ऐतिहासिक मन्दिर संरक्षणका लागि गाउँपालिकाले ५५ लाख रुपैयाँ छुट्टयाएको स्थानीय शिक्षक श्रीराम गिरीले जानकारी दिए ।

‘पारसनाथ मन्दिरको स्थापना पारसनाथ बाबाले गरेको किम्बदंती छ । जैन धर्माबलम्बीहरु पनि यसमा आस्था राख्छन्,’ उनले भने, ‘पहिले जीर्ण अवस्थामा थियो । गाउँपालिकाले ५५ लाख रुपैयाँ छुट्याएर चारैतिरबाट पर्खाल लगाउने काम गरिरहेको छ ।’

यसअघि जयसवालले स्थानीय तहको निर्वाचनबाट अध्यक्षमा निर्वाचित भएसँगै ऐतिहासिक दरबार र मठको सेरोफेरोमा रहेको सार्वजनिक पोखरीको डिल अतिक्रमण गरी निर्माण गरिएको घर जग्गा खाली गराउने अभियान चलाएका थिए ।

त्यसबखत मन्दिर वरपरको जमिन अतिक्रमण गरेर बनाइएका दुई दर्जन पक्की, खपडा र फुसको घर स्काभेटर लगाएर भत्काइएको थियो ।

मन्दिरलाई पर्साकै नमुना पर्यटकीय स्थलको रूपमा संरक्षण, प्रवर्द्धन र विकास गर्ने योजना रहेको अध्यक्ष जयसवाल बताउँछन् । ‘पर्सा जिल्लाको नामाकरण यही पारसनाथ मन्दिरको नामबाट भएको हो । मन्दिर एकदमै जीर्ण अवस्थामा थियो’ उनले भने ‘म गाउँपालिकाको अध्यक्ष भएपछि चारैतिरबाट पर्खाल लगाउने काम शुरु गरेको छु । पर्खाल निर्माणपछि गाउँका अगुवा वुद्धिजीवि, ओभरसियर, इन्जिनियरलाई राखेर मन्दिरलाई कसरी सिंगार्न सकिन्छ भन्ने योजना बनाउँछौं ।’

दुई दशकदेखि जनप्रतिनिधिको अभावमा मन्दिरको अवस्था जीर्ण बन्दै गएको थियो भने जग्गा अतिक्रमण गरेर घर टहरा बनाइएको थियो । ऐतिहासिक पारसनाथ मन्दिरमा पर्यटहरु घुम्न आउनेगरी तयार पार्ने गाउँपालिकाको योजना छ ।

जनप्रतिनीधिविहीन भएको अवस्थामा जीर्ण बनेको मन्दिर संरक्षणमा गाउँपालिका अध्यक्षले चासो देखाएपछिमन्दिरका पुजारी सुदामा मिश्र दंग छन् ।

‘२० वर्ष अघिसम्म मन्दिर वरपरका सबै जमिन खाली थियो, तर अहिले सबै घरहरु बनेको छ । मन्दिर पुरानो भएर भत्किसकेकोको थियो,’ उनले भने ‘गुठी संस्थानले मर्मतका लागि भनेर कहिलेकाहीँ २०/२५ हजार लगाउने गरेको थियो । त्यो पर्याप्त थिएन, गाउँपालिका अध्यक्ष प्रदीपकुमार जयसवाल गाउँपालिका अध्यक्ष भएपछि मन्दिर संरक्षणका लागि काम शुरु गरेका छन् । राम्रो लागेको छ ।’

गाउँपालिका अध्यक्ष जयसवालले मन्दिरलाई सोभायमान र दर्शनीय बनाउने बाचा गरेको पुजारी मिश्रले बताए । अझै पनि मन्दिरको दायाँबायाँ सयौं विगाहा जमिन अतिक्रमणमा परेको स्थानीय बताउँछन् ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?