Comments Add Comment

निश्चल बस्नेत स्टार निर्देशक कि स्टार कलाकार ?


केही वर्षअघि चलचित्र निर्माता संघ नेपाली चलचित्र क्षेत्रमा संकटकाल घोषणा गर्ने तयारीमा थियो । भकाभक चलचित्र असफल भएर निर्माताको करोडौ रकम डुबेपछि संकटकाल लगाउने तयारी गरिएको थियो ।

तर, निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनेको चलचित्र ‘लुट’ संजिवनी बुटी बनेर निस्कियो । यसको अभूतपूर्व सफलताले संकटकाल टर्‍यो ।
निश्चलले चलचित्र क्षेत्रको संकट त टारिदिएसँगै आफूमाथि ठूलो दबाब बढाएका थिए । यसपछि, उनलाई ‘टलकजंग भर्सेस टुल्के र लुट २’ बनाउन केही समय लाग्यो । तर, यी दुबै चलचित्रबाट उनले ‘लुट’को सफलता भने दोहोर्‍याउन सकेनन् । यही बीचमा उनले कबड्डीमा नायक बनेर अभिनय गरे । यो चलचित्र निकै सफल भयो ।

आफूले निर्देशन गरेको फिल्म लुट २ को ‘लैजाउ घुमाउन मलाई ठमेल बजार’ गीतमा निश्चलले आइटम डान्स गरे, जुन हिट भयो । त्यसपछि ‘काले दाई काले दाई’ मा पनि उनको आफ्नो शैलीको डान्स मन पराइयो ।

चलचित्र ‘२ रुपैयाँ’मा निश्चलले प्रमुख भूमिकामा अभिनय गरे । अहिले उनी ‘प्रसाद’ चलचित्रमा महंगो रकम लिएर अभिनय गरिरहेका छन् । निर्देशक दिनेश राउतको निर्देशनमा तयार भैरहेको चलचित्र ‘प्रसाद’मा निश्चललाई १७ लाख पारिश्रमिक दिइएको छ ।

चलचित्रका मुख्य कलाकार विपिन कार्कीको लगालग चलचित्र असफल भएपछि यो चलचित्रमा निश्चल तानिएका हुन् । विपिनलाई १७ लाख दिएका निर्माता सुवास थापाले निश्चललाई त्यो भन्दा कम पारिश्रमिकमा मनाउन सकेनन् ।

अब, यहाँ प्रश्न उठ्छ कि निश्चल बस्नेत कलाकारका रुपमा ठिक कि निर्देशकका रुपमा ? यदि, नेपाली चलचित्र हेर्ने दर्शक निश्चलको फ्यान भएका छन् भने उनको निर्देशनबाट हो । तर निर्देशनबाट उनी पन्छिदै गइरहेका छन् ।

उनले चौथो प्रोजेक्टको रुपमा चलचित्र ‘फनफनी’ बनाउने कुरा थियो । तर, यो चलचित्रको कथावस्तुमै काम अगाडि बढ्न सकेन र निश्चलले अब यो चलचित्र निर्देशन नगर्ने सोच बनाएका छन् । चलचित्रको कथावस्तु चित्तवुझ्दो नभएपछि निश्चलले यो चलचित्र नबनाउने वुझिएको छ । निश्चलले सो निर्देशनका लागि २५ लाख पारिश्रमिक लिएको चर्चा समेत चलेको थियो ।

चलचित्र निर्देशन गर्दा सम्पूर्ण बोझ आफ्नै टाउकोमा बोक्नुपर्ने हैरानीबाट निश्चल बाहिरिन खोजिरहेको देखिन्छ । महंगो रकममा चलचित्र खेल्यो, धेरै जिम्मेवारी पनि बहन गर्न नपर्ने र चर्चा पनि पाइने छोटो बाटो निश्चलले रोजिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment