Comments Add Comment

दार्चुलामा बाढीपहिरोले आधा दर्जन घर पुरिए, चमेलियाले खतराको सतह नाघ्यो

 २७ असार, दार्चुला । दार्चुलामा बाढी पहिरोका कारण आधा दर्जन घर पुरिएका छन् ।

मंगलबार रातिको वर्षाका कारण दार्चुलामा विभिन्न नदी खोलाहरुमा पानीको बहाब बढेर विभिन्न स्थानमा पहिरो तथा बाढीले क्षती पुर्‍याएको हो ।

नौगाड गाउँपालिकामा बढी क्षति गरेको छ । नौगाड खोलामा पानीको बहाब बढेपछि नदीले जमिन कटान गरिरहेको छ भने आधा दर्जन घरहरुहरुमा क्षति पुर्‍याएको छ । ती खोलहरुमा लगाइएको काठेपुलहरु बगाइदिएको छ ।

नौगाड गाउँपालिका-४ कपडेका लालमनी ठगुन्नाका २ वटा घरमा पहिरोले क्षति पुर्‍याएको छ । नौगाड खोलामा आएको बाढीले होपरीगाडमा रहेको मनवीर ठगुन्नाको एउटा पसल बगाएको छ ।

नौगाड गाउँपालिका-१ मा खडकसिंह ठगुन्नाको घर पहिरोले पुरिँदा पशुचौपाय, अन्नबाली, अन्य सम्पत्ति पहिरोले पुरिएको मिडिया विकास समाज नेपाल दार्चुलाका सदस्य आनसिंह बडालले बताएका छन् । उक्त क्षेत्रमा बस्ती नै जोखिममा रहेको छ ।

यस्तै नौगाड गाउँपालिका-१ मा रहेको गोधानी खोला लघु जलविद्युत् आयोजनाको विद्युत् गृहमा क्षती भएको छ ।

गरीबी निवारण कोषको ६० लाख बढी लगानीमा निर्माण गरिएको गोधानी खोला लघु जलविद्युत् आयोजना र त्यहाँको बस्तीहरुमा क्षती पुगेको छ ।

विभिन्न खोलामा लगाइएका पुलहरु बगाएको छ । यस्तै गोधानी खोला, सेइल खोला, दह खोलामा राखिएका काठेपुलहरु पनि बगाउँदा आवत्जावत् समेत बन्द भएको जनकराज भट्टले बताएका छन् ।

खोलाहरुमा लगाइएका पुलहरु बगाउँदा उद्धार कार्य समेत प्रभावित भएको इलाका प्रहरी कार्यालय गोकुलेश्वर जनाएको छ । सडक बाटो नै बगाएको छ भने ठाउँमा पहिरो खसेकाले आवतआवत् नै बन्द भएको छ ।

यस्तै विद्यालयहरुमा क्षती भएको शिक्षक जनकराज भट्टले जानकारी दिए । सौकेबगरमा रहेको विद्यालय, महादेब आधारभूत विद्यालय इयरकोटमा क्षती भएको छ ।

यसै वर्ष निर्माण गरिएका माछा पोखरी बगाएको छ । थुप्रै किसानहरुको खेत नै बगाएको छ । सबै क्षेतिको विवरण आइ नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

क्षतीग्रस्त गाउँ सञ्चार विहीन

नौगाडका बाढी तथा पहिरोले क्षती पुर्‍याएका ती बस्तीहरुमा सञ्चार सेवा नै अबरुद्ध भएको छ ।

घाम लागेका बेला मात्रै टेलिफोन सेवा उपलब्ध हुने उक्त बस्तीहरुमा अहिले टेलिफोन सम्पर्क नहुदाँ थप विवरणहरु संकलन गर्न समेत समस्या भइरहेको छ ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी सिप्टी र प्रहरी चौकी दल्लेकबाट प्रहरी टोली उद्धारका लागि ती बस्तीमा परिचालन गरिएको छ ।

उद्धारका लागि खटिएको प्रहरी टोलीसँगसमेत सम्पर्क हुन नसकेको प्रहरी चौकी सिप्टीले जनाएको छ ।

बाढी पहिरोले ग्रसित उक्त बस्तीमा विभिन्न पशुचौपाय, अन्य भौतिक क्षती भएपनि मानबीय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

चमेलियाले खतराको सतह नाघ्यो

मंगलबारको वर्षाले जिल्लाका विभिन्न ठूला नदीमा पानीको बहाव बढेको छ । दार्चुलाका मुख्य नदी महाकाली नदी र चमेलिया नदीमा पानीको बहाव बढेको हो ।

महाकालीपछिको दोस्रो ठूलो नदी चमेलियमा पानीको बहाब खतराको सतहमा पुगेको छ । नदी मापन केन्द्र गोकुलेश्वरका अनुसार चमेलिया नदीमा ५.५० सेन्टिमिटर मापन गरिएको छ । चमेलिया नदीमा ५.६० लाई खतरा लेबल मानिन्छ ।

यस्तै महाकाली नदीमा पनि पानीको बहाब ५.६० सेन्टिमिटर मापन गरिएको नदी मापन केन्द्र दत्तुका कृष्ण नगारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment