Comments Add Comment

बर्षा भर्सेस बर्षाः न मित्रता न सत्रुता


नेपाली चलचित्र क्षेत्रमा यतिबेला दुई बर्षा निकै चर्चित छन् । बर्षा शिवाकोटी र बर्षा राउत । उनीहरुको नाम मात्र होइन, अरु पनि धेरै कुरा मिल्छ । दुवैले ‘नाई नभन्नु ल’ को सिक्वेलबाट नेपाली फिल्ममा इन्ट्री गरेका हुन् । दुवै अविवाहित छन् । दुवै तगडा अभिनय गर्छन् । दुवै आफ्नो मोटोपनाप्रति चिन्तित छन् । दुवैको चिउँडो मुनि प्रशस्त मासु लागेको छ र गाला पुक्क पुक्क छन् । उमेर पनि लगभग उस्तै होला । काम गर्ने शैली भने उनीहरुको फरक छ । शिवाकोटी ठूला व्यानरभन्दा आफ्नो भूमिका बलियो खोज्छिन् ।

‘म जतिसुकै ठूलो ब्यानर भए पनि आफ्नो रोल चित्त बुझेन भने गर्दिन,’ शिवाकोटी भन्छिन्, ‘रोल दमदार छ भने मलाई ठूलो ब्यानर चाहिँदैन ।’ राउत भने ठूलो व्यानर पाएमा रोलको वास्ता गर्दिनन् ।

‘म फिल्मको समग्र कथा हेर्छु,’ राउत भन्छिन्, ‘त्यसपछि आफ्नो रोललाई कसरी बलियो बनाउने भन्ने त छँदैछ ।’ स्वभावजन्य अन्तर पनि छ उनीहरुबीच । राउत बढि फरासिली छिन् । जोसँग पनि चाँडै घुलमिल हुन्छिन् । शिवाकोटी केही रिजर्भ र शालिन छिन् । अरुसँग घुलमिल हुन उनलाई समय लाग्छ ।

बर्षा शिवाकोटीले पहिलोपटक फिल्मकै लागि क्यामरा फेस गरेकी हुन् । उनले ‘नाई नभन्नु ल-२’ मा छोटो भूमिका गर्दा अभिनयको कुनै अनुभव थिएन । यता राउत भने ‘नाई नभन्नु ल-४’ मा काम गर्नु अगावै म्युजिक भिडियोबाट चिनिएकी थिइन् ।

‘नाई नभन्नु ल-२’ हेरेकी राउतले शिवाकोटीलाई उनको अभिनयको प्रशंसा गर्दै म्यासेज पठाएकी थिइन् । त्यसपछि उनीहरु फेसबुकमा साथी बने र च्याटमा कुराकानी हुन थाल्यो । उनीहरुबीच पहिलो भेट भने तिनकुनेको एउटा रेस्टुरेन्टमा भएको थियो । धेरै कुराकानी भने भएन ।

दुई बर्षाले एउटा तिजगीतको भिडियोमा सँगै नृत्य गरेका छन् । यद्यपि, त्यसले उनीहरुबीच मित्रता भने खासै झांगिएन । प्रोग्रामहरुमा भेट हुँदा ‘हाई हेल्लो’ बाहेक अरु केही छैन । शिवाकोटी भन्छिन्, ‘उनी मात्र होइन, नेपालको कुनै पनि नायिकासँग मेरो धेरै निकटता छैन । म जुन प्रोजेक्टमा काम गरिन्छ त्यसकै क्रु मेम्बरहरुसँग बढि नजिक हुन्छु । । प्रोजेक्ट सकिएपछि सम्वन्ध पनि सकिन्छ ।’

दुवै नायिका एक-अर्काको अभिनयको प्रशंसा गर्छन् । राउत भन्छिन्, ‘मैले बर्षाको नाई नभन्नु ल २, पशुपति प्रसाद, लप्पन छप्पन, सुब्बा साब, कारखाना लगायत फिल्म हेरेको छु । उनी एक डिसेन्ट एक्ट्रेस हुन् ।’
शिवाकोटीले पनि राउतको केही चलचित्र हेरेको र अभिनय मन पर्ने बताइन् ।

को कति सफल ?
चलचित्र क्षेत्रमा बर्षा राउतभन्दा बर्षा शिवाकोटी अगाडि आएकी हुन् । शिवाकोटीले पाँच वर्षमा सातवटा फिल्ममा अभिनय गरेकी छन् । यी फिल्ममा उनको भूमिकामा विविधता पाइन्छ ।’पशुपति प्रसाद’ गरेको छोटो रोलबाट उनी नोटिस भएकी थिइन् । हालै मात्र उनले अभिनय गरेको ‘भैरे’ प्रदर्शन भयो भने शुक्रबारदेखि ‘जय शम्भु’ प्रदर्शन हुँदैछ ।

शिवाकोटी आफ्नो कामप्रति एकदमै समर्पित छिन् । उनको अभिनयमा पनि कमजोरी औंल्याउने ठाउँ छैन । यद्यपि, उनलाई एउटा व्यवसायिकरुपमा सफल फिल्मको टड्कारो आवश्यकता छ । किनभने कलाकारले जति राम्रो अभिनय गरे पनि फिल्मले दर्शक तान्न सकेन भने त्यसले अर्थ राख्दैन ।

शिवाकोटीभन्दा दुई वर्षपपछि आएकी राउतले भने लगातार तीन हिट फिल्म दिइन् । नाई नभन्नु ल ४, जात्रा र छक्का पञ्जाको लगातार सफलताले उनलाई एकैचोटि व्यस्त बनायो । छक्का पञ्जा र जात्रामा उनको रोल लामो थिएन, तैपनि अभिनयको बलले आफ्नो उपस्थिति दर्शाउन सफल भइन् । यतिबेला उनको हातमा भ्याइनभ्याई फिल्म छन् ।

अभियनमा बर्षा राउत पनि अब्बल छिन् । तर, उनले आफ्नो शरीरलाई भने मेन्टेन गर्नसकेकी छैनन् । मोटोपनाको कारण उनले केही राम्रा फिल्म पनि गुमाउनुपरेको छ । मोटो ज्यानकै कारण उनलाई जुनपायो त्यो भूमिका सुहाउँदैन ।
फिल्मसँगै म्युजिक भिडियोमा पनि दुवै नायिका डिमान्डेड छन् । उनीहरु दुवैले एक सयभन्दा बढि भिडियोमा अभिनय गरिसकेका छन् ।

प्रतिस्पर्धाको भावना ?
यी दुई नायिकाबीच एक-आपसमा चर्को प्रतिस्पर्धाको भावना भएको मिडियामा चर्चा चल्ने गर्छ । यही भावनाले गर्दा उनीहरुबीच पानी बाराबारको सम्वन्ध रहेको समेत बताइन्छ । तर, दुवै यसलाई खन्डन गर्छन् । राउत भन्छिन्, ‘एउटै रेसमा भएपछि प्रतिस्पर्धाको भावना त भइ नै हाल्छ, तर हामीबीच अस्वस्थ प्रतिस्पर्धा छैन । म उनीप्रति कुनै खालको दुराशय राख्दिनँ । उनको मनमा के छ त्यो मलाई थाहा भएन ।’

शिवाकोटी भन्छिन्, ‘उनको आफ्नो शैली छ, आफ्नो फ्यान फलोइङ छ । मेरो आफ्नो खालको छ । मैले उनलाई प्रतिस्पर्धीको रुपमा लिएको छैन । म त आफैंलाई आफ्नो प्रतिस्पर्धी ठान्छु ।’ हालै मात्र फिल्म ‘गोपी’ मा वषर्ा शिवाकोटीले छोडेको रोल बर्षा राउतले लिएको निकै चर्चित बनिरहेको छ । केही समयअघि ‘मेरो पैसा खोई’ मा पनि यस्तै भएको थियो । यद्यपि, दुवै नायिकाले यसलाई स्वभाविक रुपमा लिएका छन् ।

शिवाकोटी भन्छिन्, ‘मैले दुवै फिल्म आफ्नो रोल चित्त नबुझेर छोडेकी हुँ । मसँग पहिले कुरा गरेको भन्दा स्त्रिmप्टमा पढ्दा रोल कमजोर लाग्यो । उनलाई त्यही रोल मन पर्‍यो होला गरिन् । यसमा मैले असहज मान्नुपर्ने केही छैन ।’
राउत भन्छिन्, ‘सबैको आआफ्नो एप्रोच हुन्छ । गोपीमा उनले रोल छोटो भयो भनेर छोडिन् । तर, छोटो रोल पनि प्रभावकारी हुन सक्छ भन्ने विश्वास भएर मैले स्वीकारेँ । छक्का पञ्जा र जात्रामा मैले छोटो रोलबाटै प्रशंसा कमाएकी हुँ ।’
फिल्म इन्डष्ट्रीमा एउटाले छोडेको रोल अर्कोले लिनुलाई अनौठो रुपमा लिन नहुने उनको तर्क छ ।

‘मिडियाले हाम्रो विषयमा जेजस्ता गसिप बनाए पनि हामीबीच एक-अर्काप्रति कुनै तुष छैन,’ दुवै नायिका एक स्वरमा भन्छन् । जे होस यी दुवै नायिकाबाट नेपाली चलचित्र क्षेत्रले धेरै आशा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment