भोलीबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर भर्जिन’को निर्माणपक्ष आधा दर्जन चलचित्र रिलिज हुँदा पनि मल्टिप्लेक्स हलमा पाएको शोबाट खुशी देखिएको छ । दर्शकमा चलचित्रप्रति उत्साह थपिएको उनीहरुको वुझाई छ ।
काठमाण्डौमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक विशारद बस्नेतले भने-‘यो चलचित्रले तीन वयस्क यूवाको कथा भन्छ । यो हाम्रो समाजको कथा हो । मानिसले यौनको बिषयलाई कसरी सोच्छ ? यौन चाहना पुरा गर्न खोज्दा के कस्ता अवरोधहरुको सामना गर्नुपर्छ भन्ने कथालाई चलचित्रले उठाएको छ ।’
नायिका मरिष्का पोखरेलले पत्रकार सम्मेलनमा भनिन्-‘यो मलाई मेरो डेब्यू चलचित्र जस्तो लागिरहेको छ । मलाई चलचित्रको नामले केही पनि फरक पारेन ।’ चलचित्रमा प्यासी मोहनको भूमिकामा देखिन लागेका कलाकार रविन्द्र झाले भने-‘चलचित्र गर्दा दुखसँगै रमाइलो पनि भयो ।’ चलचित्रमा गौरव पहारि, कमलमणि नेपाल, विजय बराल लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
यो चलचित्रलाई हरेक बर्गका दर्शकले हेर्न सक्ने भनाई यसको निर्माणपक्षको छ । नेपालको पहिलो सेक्स कमेडी चलचित्रको रुपमा यसलाई प्रचार गरिएको छ ।