२५ भदौ, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रले आज संसदीय सुनुवाइ समितिको सामना गर्दैछन् । आइतबार मिश्रविरुद्ध उजुरी गर्ने उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले साेमबार उजुरीबारे मिश्रसँग जवाफ माग्न लागेको हो ।
संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइका लागि ९ बजे बैठक बोलाएको जनाएको छ ।
संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस गरिएका दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेपछि ७ भदौमा बसेको परिषद् बैठकले मिश्रको नाम सिफारिस गरेको थियो । मिश्र सिफारिस भएसँगै सुनुवाइ समितिले उनीविरुद्ध उजुरी आह्वान गरेको थियो ।
मिश्रविरुद्ध सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा आफ्ना नातेदारको पक्षमा पर्ने गरी फैसला गरेको, फौजदारी अभियोग लागेका ४ जनालाई सफाइ दिएकोलगायत उजुरी परेका छन् । त्यसैगरी एनसेल लाभकर विवाद जारी रहेका बेला लाभांश लैजान दिने आदेश गरेकोलगायत आरोप पनि उनीविरुद्ध लगाइएको छ ।
सर्वोच्च अदालत ६ महिनादेखि कायममुकायमको भरमा चलिरहेको छ । गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भए पनि सर्वोच्चले अहिलेसम्म प्रधानन्यायाधीश पाउन सकेको छैन ।
सुनुवाइपछि समितिले अनुमोदनसम्बन्धी निर्णय गर्नेछ । जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको सुनुवाइ समितिले मिश्रबारे कस्तो निर्णय लेला ? चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया 4