+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सय वर्षमा राष्ट्रकवि: यो जीवनीको रस प्यून जानौं !

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ६ गते १६:१७

६ असोज, काठमाडौं ।

“बुढेससम्मन् पनि ज्यून जानौं

यो जीवनीको रस प्यून जानौं”

वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ–कञ्चन मस्र्याङ्दी नदी । माधवप्रसाद घिमिरेले सानो बेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मर्स्याङ्दी नगरपालिकामा परिणत भई जलविद्युत्, सडक र अन्य विकासका पूर्वाधारहरू भने बनेका छन् । भौतिक विकास भए पनि प्राकृतिक बनावटमा पुस्तुनले खासै चोला फेरेको छैन पुस्तुनले ।

घिमिरेले विद्यालय पढेको जिल्लाको दुराडाँडा पनि उही लयमा छ तर, कविवर घिमिरे प्रकृति र मानवीय संवेदनायुक्त सुललीत सिर्जनामार्फत साहित्यिक जगत्का शिखर व्यक्तित्व बन्न सफल छन् ।

राष्ट्रकवि घिमिरे पुस्तुन गाउँको मात्र होइन, राष्ट्रकै साहित्यिक गहना भएकाले उहाँको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उहाँको जन्म शताब्दी वर्ष मनाउने तयारी छ । घिमिरे आइतबार शताब्दी (एक सय) वर्षमा प्रवेश गर्दै छन् । बेलाबेलामा अस्वस्थ्य भए पनि उपचारपछि हाल उहाँ यो उमेरमा पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराइरहेका छन् । यतिबेला उनी पछिल्लो महाकाव्य ‘ऋतम्भरालाई बिट मार्ने तयारीमा छन् ।

राष्ट्रिकवि घिमिरेले विसं २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधी र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।

मर्स्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरि जन्म शताब्दी मनाउन दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ । असोज २१ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा वासुदेव त्रिपाठीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा मुकुन्द पथिकका अनुसार राष्ट्रकविको जन्म शताब्दीका अवसरमा देशभरका विद्यालय र कलेजमा कविता प्रतियोगिता गरी पुरस्कृत गरी साथै उनको जन्मस्थान पुस्तुन र लमजुङको सदरमुकाम बेँसीशहरमा सांस्कृतिक कार्यक्रमसहित सम्मान गरिनेछ ।

राष्ट्रिकवि घिमिरेको नाममा हुलाक टिकट प्रकाशन, अभिनन्दन ग्रन्थ प्रकाशन, मातृभाषाबारे विचारगोष्ठी, कविता महोत्सव, वृत्तचित्र निर्माणका योजना पनि प्रतिष्ठानले अघि सारेको छ । राष्ट्रकवि घिमिरे प्रमुख संरक्षक रहनुभएको प्रतिष्ठानले लमजुङ हिमाल हिमालचुलीलाई राष्ट्रकविको नाममा नामकरण गर्न, काठमाडौँ वा लमजुङमा उहाँको प्रतिमा स्थापना गर्न पहल गरिरहेको छ ।

पृथ्वीराजमार्गको डुम्रेदेखि मनाङसम्मको सडकलाई राष्ट्रकविको नाममा नामाकरण गर्न पनि प्रतिष्ठानले नेपाल सरकारसँग माग गरेको छ । संस्थाले घिमिरेको जन्मस्थान लमजुङको भीरपुस्तुन बाहुनडाँडामा राष्ट्रियस्तरको सङ्ग्रहालय निर्माणको योजना पनि अघि सारेको छ भने कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान कास्कीको अर्चलेबाट आदिकवि भानुभक्तको जन्मस्थान तनहुँ चुँदी हुँदै राष्ट्रकविको जन्मस्थान पुस्तुन बाहुनडाँडासम्मलाई साहित्यिक पर्यटनका रूपमा विकास गराउने घोषणा गरेको छ ।

पुस्तुनमा विसं १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका कोखका जेठा सन्तान घिमिरेकी अर्धाङ्गिनी महाकाली घिमिरे पनि असोज १२ गते चौरासी वर्षमा प्रवेश गर्दै छिन् । कविवरको शताब्दी वर्ष र महाकालीको ८४ वर्ष प्रवेशको सुखद् अवसरमा उनको परिवारले आइतबार लैनचौरमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको छ ।

घिमिरेको जेठी श्रीमती गौरीको विसं २००४ मा निधनपछि उनले रच्नुभएको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौँ काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उहाँका कृतिहरू लोकप्रिय मानिन्छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले ‘गौरी’ खण्डकाव्य हालै कोरियाली भाषामा अनुवाद भई जन्म शताब्दीका अवसरमा उपहार हुन पुगेको बताउँदै कोरियाका पाठकहरूले उक्त खण्डकाव्य पढेपछि भावुक हुँदै प्रतिक्रिया दिन थालेको बताए ।

घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ । उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका “गाउँछ गीत नेपाली” जस्ता कैयौँ राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुण्डिएका छन्:

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे…”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?