१३ असोज, काठमाडौं । राष्ट्रकवि माधव घिमिरेलाई शनिवार काठमाडौंमा नागरिक अभिनन्दन गरिएको छ । महानगरबासीको तर्फबाट काठमाण्डौं महानगरका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रकवि घिमिरेलाई अभिनन्दन गरे ।
राष्ट्रकवि घिमिरेको सम्मानमा महानगरले अभिनन्दन पत्र सहित पशुपति नाथ मन्दिरको स्वरुपको मुर्ति लगायत उपहार प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै महानगरका प्रमुख शाक्यले राष्ट्रकवि घिमिरेले साहित्य सृजनामार्फत समाज जागरणमा पुर्याएको योगदानको प्रशंसा गरे । ‘विशिष्ट व्यक्तिले जात, भूगोल, क्षेत्रभन्दा माथि उठेर काम गरेका हुन्छन्’, उनले भने, ‘घिमिरे लमजुङ्मा जन्मनुभएको हो, हामी काठमाडौंबासी अभिनन्दन गर्दैछौं । यसले राष्ट्रिय व्यक्तित्व निश्चितताभित्र सीमित हुँदैन भन्ने देखाउँछ ।’
अभिनन्दन अघि उनलाई निवास देखि राष्ट्रिय सभागृहस्थल सम्म लावा लस्कर, बाजा गाजा र झाँकी सहित घोडाबग्गीमा राखेर रथारोहण सहित नगर परिक्रमा गराईएको थियो ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापा, महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, नायक राजेश हमाल, वडा २६ का अध्यक्ष ख्यामराज तिवारीसहितका पदाधिकारी तथा जनप्रतिनिधि सहभागी थिए । यसअघि केही दिन अघि राष्ट्रकवि घिमिरेको १००औं जन्मदिवस मनाईएको थियो ।
राष्ट्रिय उत्सवको रुपमा मनाईएको जन्मोत्सवको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारी र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले निवासमै पुगी शुभकामना दिएका थिए । २०६० सालमा घिमिरेलाई सरकारले राष्ट्रकविको उपाधि दिएको थियो ।
प्रतिक्रिया 4