+
+

जर्मनीका युवा देशको भविष्यप्रति किन चिन्तित छन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १३:०७

जर्मनीको आर्थिक वृद्धिदर बढिरहेको छ, बेरोजगारीको दर पनि थोरै छ । यूरोप लगाएत पुरै विश्वमा जर्मनीलाई सम्पन्नता र दक्षताको पर्यायको रुपमा हेरिन्छ । यो देश यूरोपियन युनियको ‘ग्रोथ इन्जिन’ नामले पनि चिनिन्छ ।

त्यसो भए जर्मनीका सम्पन्न युवा आफ्नो भविष्यलाई लिएर किन निराश छन् ? उनीहरुको जागिर पाउने सम्भावना उच्च छ, वातावरण सफा छ, अपराधको दर कम छ साथै छुट्टीको समय पनि भरपुर छ ।

साँस्कृतिक आकर्षण र यातायातको सुविधा पनि राम्रो छ तर पनि किन उनीहरुमा उत्साह छैन ?

जर्मनीमा बाहिरबाट देख्दा सबैथोक राम्रो छ, तर पनि केही लुकेका समस्याहरु छन् जसले जर्मनीका युवापुस्तालाई प्रभावित गरिरहेको छ ।
मत सर्वेक्षण संस्था फोर्साका मुख्य राजनीतिक विश्लेषक पिटर मचुसेकका अनुसार हुन त जर्मनीको मानिसहरु आफ्नो जीवनसँग सन्तुष्ट छन् तर देश जुन दिशामा गइरहेको छ त्यसबाट उनीहरु खिन्न छन् ।

फोर्साले जर्मन ब्रोडकास्टर आरटिएलको लागि गरेको सर्वेक्षणमा ८१ प्रतिशत मानिसहरुले उनीहरु आफ्नो आर्थिक अवस्थाप्रति सन्तुष्ट छन् वा धेरै नै सन्तुष्ट छन् । तर, जब उनीहरुलाई देशको आर्थिक अवस्थाबारे प्रश्न सोधियो, जम्मा १० प्रतिशतमात्र सन्तुष्ट देखिए ।

७१ प्रतिशत युवाले जर्मनीको राजनीतिक प्रणाली जसरी चल्नुपर्ने थियो त्यसरी नचलेको धारणा राखेका छन् । तर, राजनीतिक प्रणालीले गरेको कामप्रति भने जम्मा १४ प्रतिशत युवा मात्रै खुसी छन् ।

अर्थव्यवस्थाको कुरा गर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष मानिसहरुको धारणा धेरै परिवर्तन भएको पाइएको छ ।

सन् २०१८ जनवरीमा जर्मन नागरिकलाई अर्थव्यवस्था सुधि्रन्छ वा बिग्रन्छ भनेर प्रश्न सोध्दा जवाफ आधा आधा बाँडिएको थियो । तर, गि्रष्म ऋतु सकिनासाथ यही प्रश्न दोहोर्याउँदा करिब २० प्रतिशत मानिसहरु निराशावादी भइसकेका छन् ।

वृद्ध मानिसहरुमा मात्रै यस्तो सोच छ भनेर केहीले भन्ने गर्छन् तर, युवा पनि यस्तै तरिकाले सोचिरहेका छन् ।

बेलायतमा ब्रेक्जिटपछि जर्मनीका युवालाई पनि आफूहरु बुबा, हजुरबुबाको समस्याहरुसँग जुधिरहेको जस्तो लागेको छ । उनीहरुलाई आफ्नो राजनीतिक भविष्य अघिल्लो पिँढीले तय गरिरहेको महसुस हुन थालेको छ ।

जर्मनहरुको लागि यो वर्षको ग्रिष्म ऋतु उथलपुथल युक्त रहृयो । आप्रवासीहरुको मुद्दामा भएको राजनीतिक लडाईंले सरकारलाई नै झण्डै ढाल्यो ।

जर्मनीका राष्ट्रिय फुटबल टिमका प्रमुख सदस्य मेसुट ओजिलले एसोसिएसन र फ्यानमाथि नश्लभेदको आरोप लगाउँदै टिम छोडिदिए । टर्कीस मूलका ओजिलको निर्णयपछि यसले धेरै चर्चा भयो र जर्मनीको दैनिक जीवनमा नश्लभेद राष्ट्रिय अन्तर्राष्ट्रिय बहसको मुद्दा बन्यो ।

अगस्टको आखिरमा पूर्वी जर्मनीको सेक्सोनी राज्यमा दक्षिणपन्थी पार्टी समर्थकहरुले हुलदंगा गरेको र चेमनिट्ज शहरको गल्लीहरुमा विदेशीहरुलाई लखेटेको भिडियो फुटेज सार्वजनिक भए ।

चेमनिट्जको दृश्यहरुले जर्मनीलाई नै हल्लाइदियो । जर्मनीले विगतबाट आखिर के सिक्यो त भन्ने प्रश्नहरु उठे ? जर्मन मिडियाले यसलाई संकटको रुपमा प्रस्तुत गरे ।

जुनमा जब जर्मनीको फुटबल टिम वल्र्डकपको दोस्रो चरणमा पुग्न सकेन त्यतिखेर जर्मन म्यागजिन डेर स्पिगलले छापेको कभर स्टोरीको शीर्षक थियो, ‘कुनै एक समयमा एउटा बलियो देश थियो ।’

‘राजनीति, अर्थतन्त्र र खेलको संकट सन्तोष मानेर बसेको परिणाम हो’, डेर स्पिगलले लेख्यो, ‘हामी यहाँ सम्म कसरी पुग्यौं ?’

त्यसो भए वास्तवमा के चलिरहेको छ ? के निराशावादी माहौल देखाएर मिडियाले चियाको कपमा तुफान उठाएका हुन् त ?

तथ्यांक र युवाहरुसँग गरिएको कुराकानीबाट भने जर्मनीको अर्कै तस्वीर बन्छ ।

युवाहरु सबैभन्दा धेरै र कुनै चीजबाट निराश भएका छन् भने त्यो हो चरम दक्षिणपन्थी पार्टी ‘अल्टरनेटिभ फर जर्मनी’ (एएफडी) को उदय । जर्मनीमा राजनीति र नीतिहरुमा जुन खालको चर्चा हुन्थ्यो त्यो सकिइसकेको युवाको बुझाइ छ ।

बर्लिनको एक एनजिओमा काम गर्ने २८ वर्षका टिल बाकेन भन्छन्, ‘एएफडीको बढ्दो प्रभावको कारणले राजनीति र मिडिया बहसहरुमा घृणा भरिएका विषयले प्रमुख स्थान पाउन थाल्यो ।’

‘एएफडीको प्रभाव बढेपछि यस्तो लाग्छ पुरै राजनीतिक बहस आप्रवास, घृणा र अपराधसम्म मात्रै समेटियो । वास्तविक समस्याहरुबाट यसको ध्यान हट्यो’ बाकेनले भने ।

बाकेनका अनुसार आप्रवासनको सट्टा सरकारले स्वास्थ्य सेवाहरु सुधार्ने, शिक्षामा लगानी बढाउने र युवा पिँढीलाई सुरक्षित रिटायरमेन्टको लागि कसरी तयार गर्ने भन्ने बारेमा सोच्नुपर्छ ।

बर्लिनका २४ वर्षकी छात्रा जुल लो भन्छिन्, ‘चेमनिट्जको घटनाले जर्मनीले आफ्नो इतिहासबाट अझै पनि राम्रोसँग पाठ सिकेको सिकेको छैन भन्ने देखाउँछ ।’

‘अहिलेसम्म म सोच्थेँ जर्मन राष्ट्रवाद, नश्लभेद र पछिल्लो शताब्दीको इतिहासलाई हामीले पछाडि छोडिसकेका छौं तर वास्तविकता अर्कै रहेछ ।’

लोलाई लाग्छ चेमनिट्जमा जे भयो त्यो राजनीतिक चर्चाको विषयलाई परिवर्तन गरिएन भने यस्ता घटनाहरु देशका अरु ठाउँमा पनि हुन सक्छ भन्ने कुराको प्रमाण हो ।

उनी भन्छिन्, ‘मेरो इलाकामा अहिलेसम्म यस्तो भएको छैन तर हामी जहाँ उभिएका छौं त्यहाँबाट चेमनिट्ज टाढा छैन ।’

जर्मनी एक ठूलो वित्तीय र सामाजिक संकटको मुखमा खडा भएको पनि धेरैलाई लागको छ । अर्को शब्दमा भन्नुपर्दा अहिले राम्रो स्थितिमा भए पनि तर भविष्यमा हालत खराब हुन सक्ने धेरै युवाहरुलाई लागेको छ ।

बाकेन भन्छन्, ‘हामी अहिले त राम्रो गरिरहेका छौं तर यदि तपाईं आजभन्दा ५ वा १० वर्षपछिको सोच बनाइरहनुभएको छ भने हामी एक दोबाटोमा उभिएको छौं अब हाम्रो देशले विकास कसरी गर्नेछ ?’

बाकेनका अनुसार दक्षिणपन्थी झुकाव बढ्नु, शिक्षा र पूर्वाधारको विकासमा सरकारले लगानी कम गर्नु जस्ता कारणले हाम्रो भविष्य कस्तो होला भनेर युवाहरु सशंकित भएका छन् ।

यूरोपको अन्य देशहरुसँग तुलना गर्दा जर्मनीका युवाहरु स्थिति राम्रो देखिन्छ । सन् २०१७ मा यहाँ बेरोजगारी ६.४ प्रतिशतमात्रै थियो जुन गि्रस र इटलीजस्ता देशहरुमा भन्दा धेरै कम हो । तर, अघिल्लो पुस्ताले ती भविष्यमा युवाहरुलाई प्रभावित गर्ने क्षेत्रहरुमा पर्याप्त ध्यान नदिएको जस्तो युवाहरुलाई लाग्छ ।

ड्युट्स बैंकले हालसालै प्रकाशित गरेको ताजा रिपोर्ट अनुसार सन् २००९ देखि अहिलेसम्म प्रमुख शहरहरुमा घरको मूल्य ८० प्रतिशतसम्म बढिसकेको छ साथै घर भाडा पनि बढिरहेको छ । जर्मनी भर पुरै देशमा १० लाख नयाँ घरहरुको आवश्यकता रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
त्यस्तै हालसालै आएको ओईसीडीको अर्को रिपोर्ट अनुसार वृद्धवद्धाको संख्या बढ्दै जाँदा उनीहरुको लागि ल्याइएको पेन्सन योजनाहरुको कारण वित्तीय बोझ बढिरहेको छ ।

बर्लिनमा हेल्थ केयरमा काम गर्ने २४ वर्षका एरोन हिन्ज भन्छन्, ‘जर्मनीको राजनीति प्रौढ मानिसहरुका लागि हो युवाको लागि होइन ।’जब तपाईं भविष्यको बारेमा सोच्नुहुन्छ र मेरो रिटायरमेन्टको समयमा पैसा कसले दिनेछ भनेर सोध्नुहुन्छ त्यतिखेर तपाइर्ं कोही पनि देख्नुहुन्न’ उनले भने ।

जर्मनीका मानिसहरु आफ्नो भविष्यप्रति निराश भइरहेका छन् भन्नुको मतलब यो चै होइन कि बाहिरका मानिस पनि जर्मनी प्रति यति नै निराश छन् ।

यूरोप मात्रै होइन यूरोप बाहिरका देशका मानिसहरुले पनि जर्मनीलाई युवाहरुको लागि सबैभन्दा राम्रो अवसरको रुपमा हेर्ने गर्छन् ।

बोस्नियाको राजधानी साराजेभोमा पत्रकारिताको अध्ययन गरिरहेका डिनो सिभिको भन्छन् उनी आफ्नो पढाई सकेपछि जर्मनी जान चाहन्छन् ।

त्यसको लागि उनलाई आफ्नो पत्रकार बन्ने मोह छोड्नुपरे पनि आफू तयार रहेको उनी बताउँछन् । ‘वास्तवमा हामीमध्ये धेरै मानिसहरु बोस्नियाबाट बाहिर जान जाहन्छौं’, उनी भन्छन्, ‘विशेष गरी जर्मनी हाम्रो सपनाको देश ।’

बिबिसीबाट अनुदित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?