Comments Add Comment

हर्नको कोलाहलमा पिल्सिएको वीरगञ्ज, शहरवासी भन्छन्ः बिहारी संस्कृतिको असर

१५ असोज, वीरगञ्ज । बिहान पाँच बज्दानबज्दै सवारीसाधनको ‘ट्याँ ट्याँ टुँ टुँ’ आवाज सुरु हुन्छ । घडीको सुई घुम्दै जाँदा यो आवाज झनै घना र बर्बर बन्दै जान्छ । राति ८-९ नबजेसम्म शहरवासीले शान्ति पाउँदैनन् ।

यो देशको आर्थिक केन्द्र मानिने वीरगञ्जको बेदना हो । दैनिक हजारौं सवारीसाधन गुड्ने वीरगञ्जका सडकमा दिनभरी हर्नको कर्कस आवाजले कोलाहल मच्चाइरहन्छ । सरकारी अध्ययनले वीरगञ्जलाई ध्वनि प्रदुषण सर्वाधिक हुने शहरको रुपमा पहिचान गरेको त्यसै होइन । ‘खालि सडकमा पनि चर्को हर्न बजाउँछन्’ स्थानीय भन्छन्, ‘अब त कोलाहलमा बाँच्ने बानी परिसक्यो ।’

हुन पनि साँघुरा सडक मात्रै होइन, चार लेनका खुल्ला सडकमा पनि हर्न बजाउँदै हुईकिन्छन् सवारी चालक । रिक्साको टिनटिनदेखि ठूला बसको प्वाप्वाँसम्मको ककटेलले हरदम विरक्त बनाउँछ । स्थानीयहरु त बानी परेका छन्, तर बाहिरबाट आउनेहरु आत्तिन्छन् । हातले दुवै कान थुनेर हिँडिरहेका पनि थुप्रै भेटिन्छन् । काठमाडौंबाट काम विशेषले वीरगञ्ज आएका राजु पौडेल भन्छन्, ‘बिना कारण चर्को हर्न बजाउनेहरुलाई कडाई गर्नैपर्ने देखियो ।’

चर्को हर्न बजाउने संस्कृति भारतको विहारबाट भित्रिएको स्थानीयहरु बताउँछन् । भारतको रक्सौल बजारमा वीरगञ्जमा भन्दा बढि हर्न बज्ने गरेको पाइन्छ । यसलाई रोक्न न ट्राफिक प्रहरीले प्रयास गरेको छ न वीरगञ्ज महानगरपालिकाले ।

स्थानीय उद्योगी ताराप्रसाद गुप्ताले ध्वनि प्रदुषणका कारण आफूलाई वीरगञ्जवासी भन्न लाज लाग्ने गरेको बताए । ‘नागरिकमा चेतना छैन, हर्न बजाउँदा ठूलै मान्छे भएको जस्तो ठान्छन्’ उनले भने, ‘ट्राफिक प्रहरीको ध्यान पार्किङमा चिट काटेर पैसा उठाउनेतिर छ, ध्वनी प्रदुषण नियन्त्रणतिर छैन ।’

सवारी चालक मात्रै हैन, ठूला स्पीकरमा चलचित्रका प्रचार गर्ने, आयुर्वेदिक औषधिको विज्ञापन गर्नेहरु पनि आगोमा घ्यू थपिरहेका छन् । वीरगञ्जको विर्तामा लामो समयदेखि मेडिकल चलाउँदै आएका अशोक साहले विहानदेखि रातिसम्म लगातार हर्न, स्पीकर र माइकको चर्को आवाजले हैरान बनाएको बताए ।

काठमाडौं, हेटौंडा र भरपूरमा जस्तै हर्न निषेधको अभ्यास वीरगञ्जमा पनि गर्नुपर्ने स्थानीयवासीको माग छ ।

ट्राफिक भन्छ  : हामीले सकेनौं

ट्राफिक प्रहरीले हर्न आतंक रोक्न प्रयासै नगरेको भने होइन । अदालत, अस्पताल, विद्यालय नजिकका सडकमा सूचना बोर्डहरु टाँगिएको छ । तर, कसैले त्यसको पालना गरेका छैनन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख सुरेशकुमार साह प्रहरीको एकल प्रयासले मात्रै यो सम्भव नभएको बताउँछन् । यसमा महानगरले उचित साथ नदिएको उनको गुनासो छ । ‘स्रोत साधनको कमी छ, हामीले मात्र चाहेर मात्रै गर्न सक्दैनौं’ शाहले भने ‘एक बर्षअघि देखि रोक्न पहल गरेको हुँ, तर सकिनँ ।’

वीरगञ्जमा ४४ जना ट्राफिक प्रहरी खटिएका छन् । ‘महानगरको क्षेत्र विस्तार भएको छ, तर जनशक्ति पर्याप्त छैन । काठमाडौंपछि काम गर्न गाह्रो वीरगञ्जमा नै हो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक किरण कार्कीले गुनासो गरे ।

महानगर भन्छ : रोक्छौं

हर्न आतंकले नगरकै गरिमा घटाएको स्वीकार गर्दै वीरगञ्ज महानगरपालिकाले यसलाई रोक्न प्रयास जनाएको छ । मेयर विजय सरावगीले महानगरका सुधार्नुपर्ने कुरामध्ये ध्वनि प्रदुषण पनि एक भएको बताए ।

जनचेतना र कारवाही एकसाथ अघि बढाउँदै यसलाई नियन्त्रणमा लिइने उनले बताए । ‘हर्न नबजाएसम्म यहाँका मान्छेलाई चैन हुँदैन,’ मेयर सरावगीले भन्छन्, ‘यसले वीरगञ्जको छवि बिगारेको छ ।’

ट्राफिक प्रहरीको जनशक्ति थपेर कारवाही चलाउने र जरिवानाबाट आएको आधा रकम ट्राफिक प्रहरीलाई नै दिने योजना मेयर सरावगीको छ ।

ध्वनि प्रदुषणले रोगी बनाउँछ : चिकित्सक

अत्यधिक ध्वनि प्रदुषण स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार चर्को ध्वनीको असरले रिंगटा लाग्ने, चिड्चिडाहट् हुने, कान कराउने, श्रवण क्षमता गुम्दै जाने, एकाग्रता नहुनेजस्ता समस्या हुनसक्छन् ।

नाक, कान घाँटी रोग विषेशज्ञ डा. रमेश भण्डारीले प्रेसर हर्न मानिसले सुन्न सक्ने क्षमताभन्दा बढी डेसिवलमा आउने भएकोले असर गर्ने बताए । ‘हाम्रो कानले २५ देखि ८० डेसिवलसम्म सजिलोसँग सुन्न सक्छ, तर प्रेसर हर्नले १२० देखि १५० डेसिवलसम्म आवाज दिन्छ,’ उनले भने ।

मुटुका रोगीहरुलाई प्रेसर हर्नले झनै असर गर्छ । यसबाट मुटुको धड्कन बढ्ने र रक्तकोषहरुमा असर गर्ने, चिड्चिडापन उत्पन्न हुने जस्ता समस्या देखिनुका साथै मुटु वा रक्त प्रवाहमा पनि नकारात्मक असर गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment