१८ असोज, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्त, प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामा र धादिङ प्रहरी प्रमुख एसपी डम्बर विकले नागढुंगा सडकखण्डमा पुगेका छन् ।
चाडपर्वको समयमा सवारी जाम अत्याधिक बढेको गुनासो आएपछि व्यवस्थित गर्न आईजीपी खनालले निर्देशन दिएका थिए । खनालको निर्देशन लगत्तै ३ प्रहरी अधिकारीले नागढुंगाको स्थलगत अवलोकन गरेका हुन् ।
अवलोकनपछि नागढुंगा–खानीखोला खडकखण्डमा दैनिक हुने जामलाई व्यवस्थित गर्न प्रहरी नायब निरीक्षकको कमाण्डमा २३ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
त्यस क्षेत्रमा सुरक्षा प्रदान गर्न धादिङको धुनिवेशी–९, सिक्रे खोलाको अस्थायी चौकीमा रहने गरी २३ जना प्रहरी कर्मचारी परिचालन गरिएको हो ।
यसअघि नागढुंगामा ठूला मालबहाक सवारी विग्रेर घण्टौंसम्म जाम हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न ४० टन क्षमताको क्रेन समेत राखिसकिएको छ ।
प्रहरीका अनुसार उपत्यका भित्रिने र बाहिरिने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा मापसेसहितको चेकजाँच टोली पनि खटिएको छ ।
प्रतिक्रिया 4