+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पौरखी किसानको कथाः अफ्रिकी बाख्रा पालेर धनपति

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ९ गते २०:१७

८ कात्तिक, चितवन । ३० किलोको पाठो जुरुक्क उचाल्दै पुलकित बने करिब ६० किलोका योगेन्द्र खड्का ।

यो पाठो भर्खर तीन महिने हो भन्दा पत्याउन गाह्रो हुन्थ्यो । ‘तीन महिनामै यत्रो भयो, स्थानीय जातको पालेको भए ३० किलो हुन कम्तिमा एक वर्ष लाग्थ्यो’ उनले भने ।

पश्चिम चितवनको जगतपुरमा योगेन्द्र खड्काको बोयर जातको बाख्रा फार्म छ । उनले कसरी यस वर्ष देशकै उत्कृष्ट बाख्रापालक किसानको पुरस्कार जितेर एक लाख पड्काए भन्ने प्रश्नको जवाफ यही बाख्रा फार्ममा भेटिन्छ ।

झण्डैं चार वर्षअघि म्यादीबाट चितवनको एक कुनामा आएर व्यवसायिक बाख्रापालन सुरु गरेका योगेन्द्रको मेहनत र कर्म निकै लोभलाग्दो छ । देशमा ‘अवसर’ नदेखेर विदेशिएका युवाहरुका लागि उनी प्रेरणा स्रोत बन्न नसक्ने कुनै कारण छैन ।

केही समय काठमाडौंमा ठेक्कापट्टाको काम गर्दा सन्तुष्ट हुन नसकेका योगेन्द्रलाई आफ्नै गाउँ ठाउँमा केही गरौं भन्ने लाग्यो । त्यसपछि उनको दिमागमा आयो बाख्रापालन ।

सुरुमा बाख्रापालनका बारेमा उनले राम्ररी बुझे । जान्नेहरुसँग सल्लाह लिए । तर, सबैले उनलाई बाख्रा पालेर फाइदा नहुने बताए । बाख्रा पाल्नेहरु दुई-चार बर्षमै तन्नम भएका थुप्रै कथाहरुसँग उनी ठोक्किए तर, हिम्मत हारेनन् ।

उनको हिम्मत र अठोटका अगाडि चुनौतिहरु निरीह बने । अन्ततः करिब ६० लाखको पुँजीबाट व्यवसाय थाले । करिब पाँच वर्षमा उनको व्यवसाय ४ करोडको भएको छ । उनले सात कठ्ठा जमिनमा तीनवटा खोर बनाएका छन्, जहाँ तीन सयजति बाख्रा छन् । पाँच विगाहामा घाँस लगाएका छन् ।

योगेन्द्रले सुरुमा दक्षिण अफ्रिकाबाट १३ वटा बोयर जातका बोका र पाठी ल्याएर व्यवसाय थालेका हुन् । त्यसमा ४० वटा स्थानीय जातका बाख्रा थपे । त्यसपछि पुन दुईपटक ५०-५० वटा अफ्रिकाबाट ल्याए । क्रस गराउँदै गए ।

अहिले तीन सय बाख्रा पुगेका छन् । स्थानीय जातका बाख्राबाट त्यति फाइदा भएको जस्तो नलागेपछि अहिले क्रमशः विस्थापित गर्दै गएका छन् । अबको केही समयमा उनको फार्ममा सवै बोयर जातका मात्रैं बाख्रा हुनेछन् ।

सुरुमा एउटै बोकालाई ३/४ लाख हालेर किन्दा स्थानीयबासीले उनलाई ‘पागल’ सम्म भने । तर, उनले वास्ता गरेनन् । पहिले पागल भन्नेहरु अहिले प्रशंसा गरेर थाक्दैनन् ।

आफूकहाँबाट पाठापाठी लगेर बाख्रापालन गर्नेहरु पनि यतिबेला गाडी चढ्न थालेको योगेन्द्रले बताए । नजिकै सितलपानीमा उनले साथीहरुसँग मिलेर क्रस गरिएका बाख्राहरुको पनि फार्म खोलेका छन्, त्यहाँ १५० बाख्रा छन् ।

‘अहिले म यसको बि्रडिङमा व्यस्त छु तर, अर्डर धेरै भएकाले पुर्‍याउन सकेको छैन’ योगेन्द्रले भने । अहिले दैनिक ५ देखि १० ठाउंँबाट बुकिङ आउने गरेको उनले सुनाए । उनको फार्ममा दैनिक थुप्रै किसान अवलोकनका लागि पनि आउँछन् । आउनेहरुलाई उनी आफ्नो अनुभव बाँड्न हिच्किचाउँदैनन् ।

भेट्न आउनेहरुलाई सुरुमै स्थानीय जातका बाख्रा नपाल्न सुझाव दिन्छन् उनी । लागत अनुसारको फाइदा स्थानीय जातका बाख्राबाट नहुने तर्क यागेन्द्रको छ ।

‘स्थानीय जातबाट दाना, घाँस र मेहनत अनुसारको उत्पादन हुँदैन, त्यसैले सबैलाई बोयर जातका बाख्रा पाल्न सुझाव दिन्छु,’ उनले भने, ‘शुद्ध बोयर जातको बाख्रा ३ महिनामै ३० किलो पुग्छ भने स्थानीय जातका मुस्किलले १०/११ किलो ।’

योगेन्द्रका अनुसार राम्रो बोयरको बीउ पर्‍यो भने एउटा पाठो एक वर्षमा ६५ केजीसम्म पुग्छ । उनले वर्षमा औसत सवा करोडदेखि २ करोडसम्मका पाठापाठी विक्री गर्ने गरेका छन्, जसको नाफा मात्रै बाषिर्क २० लाख हाराहारी हुन्छ ।

अहिले उनले शुद्ध बोयरको बोकालाई दुई लाखमा र पाठीलाई डेढ लाखमा बेच्ने गरेका छन् । मासुका लागि भन्दा बोयरका पाठापाठी बि्रडिङका लागि पाल्दा तीन गुणा फाइदा हुने योगेन्द्रको अनुभव छ । उनी ६-६ महिनामा पाठापाठीहरु बेच्छन् ।

बोयर बाख्रा दुई बर्षमा तीनपटक ब्याउँछन् । एकपटकमा दुईवटा पाठापाठी पाउँछन् । नौ महिनाको भएपछि पाठीलाई बोका लगाइन्छ । ‘बोयर जात अन्य बाख्राको तुलनामा हलक्कै बढ्छन्, किसानलाई फाइदा हुने यसैबाट हो’ योगेन्द्र भन्छन् ।

बोयर बाख्राको व्यवसायिक पालन दक्षिण एशियामै पहिलोपटक आफूले गरेको दाबी योगेन्द्रको छ । उनले फार्ममा ४ जनालाई रोजगारी दिएका छन् ।

तीन वटा राष्ट्रिय पुरस्कार पाइसकेका यागेन्द्र बिहान उठ्नासाथ आँखा मिच्दै बाख्रा फार्ममा छिर्छन् । फार्ममा प्रत्येक बाख्राको शारिरीक अवस्था नियाल्छन् । रातको १२ बजेसम्म उनी बाख्राको स्याहार सुसारमै व्यस्त हुन्छन् ।

बाख्रा र खसीबोकासँग खेल्दा दिन बितेको पत्तै नहुने बताउँछन् योगेन्द्र । ‘खसीबोका र बाख्राको पुच्छर सुम्सुम्याउँदा पनि आनन्द आउँछ,’ उनी भन्छन् ।

‘पाँच हजार बोयर पाल्न सक्छु’

बाख्राको आयातलाई रोक्ने बलियो योजना योगेन्द्रसँग छ । तर, त्यसका लागि सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

‘एक व्यक्तिले मात्र चाहेर हुँदैन, मजस्ता किसानलाई सरकारले साथ दिनपर्‍यो’ उनले भने, ‘राज्यले अनुदान र पुर्वाधार तयार गरिदिए पाँच हजार बोयर पाल्न सक्छु ।’

आफू जस्ता एक सय जना बाख्रापालक किसान राज्यले तयार गर्नुपर्ने उनी बताउँछन् । ‘राज्यले किसानलाई नै बाख्राको डाक्टर बनाउनुपर्छ, ताकि सानासाना समस्याको समाधान उनीहरु आफैंले गर्न सकुन्,’ योगेन्द्रले भने, ‘साथै गुणस्तरीय बिउ ल्याउन सहजीकरण गर्नुपर्छ ।’

सरकारले घाँसलाई सुरक्षित राख्ने प्रविधि भित्र्याउन सहयोग गर्नुपर्ने र किसानमाथि लिइएको लाभकर पनि घटाउनुपर्ने उनको माग छ ।

बाख्रापालनलाई थप बिस्तार गर्ने योजनामा रहेका योगेन्द्र अब रेड बोयर, ब्ल्याकबेरी जस्ता उन्नत जातका बोयर बाख्रा ल्याउने तयारीमा छन् । यस्ता एउटै बाख्राको मूल्य १५ लाख पर्छ । यसका लागि सरकारबाट उनले केही सहुलियत चाहेका छन् ।

योगेन्द्रका टिप्स

व्यवसायिक रुपमा बोयर जातको बाख्रापालनका लागि योगेन्द्रका टिप्स यस्ता छन्ः

– वडा कार्यालयको सिफारिस लिएर फार्म दर्ता गर्ने

– फार्मका लागि स्थानको छनौट गर्ने

-स्थानलाई ध्यानमा राखेर खोर निर्माण गर्ने । सकभर बढि चिस्यान हुने स्थानमा खोर बनाउनुपर्छ । चिसो बतास चल्ने गरी बनाउनुहुन्न । खोरभित्र एमोनिया ग्याँस नहोस् ।

– खोरमा ब्याउने बाख्रा एकातिर, ब्याएका बाख्रा अर्कोतिर, तीन महिनाका पाठापाठी एकातिर, बोका अर्कोतिर छुट्याएर राख्ने ।

– ट्यागिङ सिस्टम बनाउने । एकै जातसँग बाख्राको क्रस नहोस् भनेर यसो गर्न आवश्यक हुन्छ । यसलाई पिडगिरी भनिन्छ ।

– कृषिका लागि भनेर १० प्रतिशत ब्याजदरमा बैंकबाट क्रण लिने । त्यसको ५ प्रतिशत सरकारले तिरिदिन्छ र ५ प्रतिशत ब्याज आफैंले तिर्नुपर्छ । कुनै पनि सेवा शुल्क लाग्दैन ।

-हरेक बाख्राको बीमा गर्ने । लागतअनुसार सरकारले ७५ र व्यवसायीले २५ प्रतिशत खर्च व्यहोर्ने गरी बीमा गराउने । क्षति हुँदा किसानलाई ९० प्रतिशत रकम वीमा कम्पनीले सोधभर्ना दिन्छ ।

– खोर वरपर बायोसेक्युरीटी अपनाउने ।

– दिनमा पटकपटक पानी खुवाउने । हरेक दिन बाख्राको अवस्थाका बारेमा जानकारी लिने ।

– ठीकठीक समयमा खोप र औषधी दिने । तीन महिनामा जुकाको औषधी, ६ महिनामा आइवरमेटिन लगाउने । एक बर्षमा पीपीआर र खोरेतको भ्यासिन लगाउने ।

– बाख्रालाई स्याउला खुवाएर मात्रै हुँदैन । छिप्पिएको स्याउला बाख्राले पचाउन सक्दैन । डाले घाँस, किम्वु, इपिलिपीहरु खुवाउँदा बाख्रालाई प्रोटिन पुग्छ । प्रोटिन बढी भएको घाँस खुवाउँदा फाइदा हुन्छ । दानामा भन्दा बढी प्रोटिन सस्तो लागतमा उत्पादित घाँसमा हुन्छ ।

– घाँसका पनि राम्रा बीउ छान्नुपर्छ । जसरी हुन्छ लागत घटाउनुपर्छ । सजिलो, राम्रो र चाँडो हुर्किने घाँसमा स्टाइलो छ । छरिदिए पुग्छ । नेपियर १५ दिनमा काट्न सकिन्छ ।

– बाख्रा पाल्न समस्या छैन । कम्तिमा २० वर्षसम्म बजार सुरक्षित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?